८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।

बिहान दरबार क्षेत्रबाट सुरु गरिएको अभियानअन्तर्गत १४ वटा सानाठूला कुकुरलाई खोप दिएर बन्ध्याकरणका लागि भक्तपुरकै गःपलीस्थित पशु स्वास्थ्य क्लिनिकमा लगिएको छ । कुकुरलाई पशुचिकित्सक डा. एकता पाण्डे, डा. आशीष राई तथा प्राविधिक मुकेश तुल्सीबाख्यो र बुद्धिराम रेग्मीको टोलीले उपचार गरेको छ । उपचारपछि कुकुरलाई शुक्रबार समातिएकै स्थानमा छाडिने नगरपालिकाले जनाएको छ ।

  जथाभावी छाडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालिमप्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका ९ जना कर्मचारीको सहयोगमा कुकुरलाई समातिएको हो । नगरपालिकालाई रेबिज रोगमुक्त बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको हो ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत जनप्रतिनिधिले बिहान दरबार क्षेत्रमा कुकुरलाई खोप लगाउने कार्यक्रम अवलोकन गरेका थिए । उक्त अवसरमा प्रमुख प्रजापतिले नगरमा अत्यधिक संख्यामा देखिएका कुकुरलाई रेबिज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रूपमा बढ्नबाट रोक्न नगरपालिकाले बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको प्रस्ट पारे । ‘यो एउटा सकारात्मक पहल हो र यसमा दक्ष पशुचिकित्सक संलग्न छन्,’ उनले भने । उनले यो अभियान नगरका सबै वडाका टोल तथा नयाँ बस्तीमा समेत सञ्चालन गर्ने जनाए ।

पछिल्लो समयमा नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो आएकाले नगरपालिकाले सञ्चालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशुस्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको कार्यक्रम संयोजक तथा भक्तपुर नगरपालिका ३ नं. वडाका अध्यक्ष राजकृष्ण गोराले बताए । उनले रेबिज रोगबारे सर्वसाधारणलाई चेतना दिने र खोप लगाइएका कुकुरको पहिचान गर्न सजिलो होस् भनेर चित्रसहितका पर्चा र पोस्टर ठाउँठाउँमा राख्न लागिएको उल्लेख गरे ।

अभियानमा संलग्न डा. पाण्डेले समातिएका कुकुरलाई आधुनिक सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित उपचार गरिने बताए । ‘एउटा कुकुरलाई सामान्य अपरेसन गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्छ,’ उनले जनाए । खोप दिइएका र बन्ध्याकरण गरिएका कुकुरलाई सर्वसाधारणले चिन्न सजिलो बनाउन घाँटीमा सुन्तला रंगको पेटी बाँध्ने तथा दाहिने कानको थोरै भाग काटिने उनले जानकारी दिए ।

नगरभित्रका कुकुरलाई निरोगी बनाउने तथा संख्यालाई व्यवस्थित गर्ने कार्यमा भक्तपुर नगरपालिकाले अगुवाइ गरेकोमा खुसी व्यक्त गर्दै अभियन्ता सन्दीप जोशीले नगरपालिकाले घरपालुवा कुकुरको तथ्यांक राख्नुपर्ने सुझाए । नगरवासीले उनीहरुले जग्गा, पसल, व्यवसाय र यातायातको साधन दर्ता गराएजस्तै घरपालुवा पशुको दर्ता गर्न आवश्यक रहेको उनको कथन थियो ।कुकुरधनीलाई नगरपालिकाकै अगुवाइमा समय–समयमा कुकुरको स्वास्थ्य परीक्षण गराउन तथा कुकुरबाट सर्न सक्ने विभिन्न रोगबाट बच्ने उपायबारे अभिमुखीकरण गराउन सके थप प्रभावकारी हुने अर्का अभियन्ता सुरेश कवांले बताए ।

कुकुर रहरले मात्र पाल्ने नभई कुकुरको पोषण, खोप, व्यायाम, तालिम आदिका बारेमा पनि सचेत हुनुपर्ने पशुचिकित्सक डा. प्रणव जोशीको भनाइ थियो । पर्याप्त ज्ञानको अभावले कुकुर पाल्दा अनावश्यक आर्थिक बोझ हुने उल्लेख गर्दै कुकुरलाई गहुँ, जौ र मकैका परिकार नखुवाउन उनले सल्लाह दिए ।

प्रकाशित: ६ फाल्गुन २०७४ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App