५ वैशाख २०८१ बुधबार
समाज

हाई काडेर दिन बिताउँछन् सहकारी कर्मचारी

सर्लाही सदरमुकाम मलंगवास्थित सुनसान डिभिजन सहकारी कार्यालय । तस्बिर : टंक क्षेत्री÷-नागरिक

सर्लाही    – सदरमुकाम मलंगवास्थित डिभिजन सहकारी कार्यालयका कर्मचारी बेकामे बनेपछि हाई काडेर दिन बिताउन बाध्य छन् । सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहीन बनेका हुन् ।

‘विभागले यसअघि हुँदै आएका कुनै काम नगर्नु नगराउनु भनेको छ,’ सोमबार कार्यालयमा त्यतिकै बसिरहेका नायबसुब्बा धनराज गिरीले भने, ‘१० बजे आयो ५ बजायो अनि घर फर्कियो ।’ कामविहीन हुँदा कार्यालयमा कार्यरत कर्मचारीमा निकै अल्छीपना बढ्दै गएको उनले गुनासो गरे ।

 कार्यालयबाट हुँदै आएका नयाँ सहकारी संस्था दर्ता, सहकारी संस्थाको लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ति अनुमति, पुराना सहकारी संस्थाका जग्गा फुकुवालगायत काम गत कात्तिकदेखि रोकिएको गिरीले जानकारी दिए । ‘अहिले त सहकारी संस्थाले बुझाउन ल्याएका मासिक, वार्षिक प्रगति प्रतिवेदन बुझ्ने र विभिन्न सहकारी संस्थाको साधारणसभामा सहभागी हुनेबाहेक केही काम छैन’, उनले भने, ‘यसो रायसल्लाह दिने र सुपरीवेक्षणमा भने जाने गरेका छौं ।’

  १२ कर्मचारीको दरबन्दी रहेको कार्यालयका प्रमुख बिकाउ यादव विभागमै काज सरुवा गराएर बसेका छन् । कार्यालय प्रमुखविहीन सहकारी कार्यालयमा हाल कार्यरत २ नायबसुब्बा, एक लेखापाल, एक खरिदार, एक कम्प्युटर अपरेटर र एक कार्यालय सहयोगी कात्तिकयता दिनभर कार्यालय कुर्ने र घर फर्कने गरेका छन् । ‘सायद अब स्थानीय तहबाटै सहकारीसम्बन्धी सम्पूर्ण काम हुने भएकाले डिभिजन सहकारी कार्यालयको काम रोकिएको होला,’ गिरीले भने, ‘कार्यालयको काम रोकिएपछि हामीलाई जता पठाए पनि चाँडै खटाए हुन्थ्यो ।’

 प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कर्मचारी व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर कटवाल भने स्थानीय तहमा जान चाहने कर्मचारीलाई तुरुन्त पठाइने बताउँछन् । ‘खै मलाई केही भन्दैनन्’ उनले भने, ‘अनि काम पाएनौं भनेर हुन्छ ?’जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरेले डिभिजन सहकारी कार्यालयले महत्वपूर्ण कामहरू नगर्दा निकै समस्या भइरहेको बताए ।

‘सहकारी क्षेत्रमा अन्योल छाएको छ,’ उनले भने,  ‘डिभिजन सहकारी कार्यालयले कुनै काम गर्दैन, यता स्थानीय तहबाट पनि केही भइरहेको छैन ।’ सरकारले यथाशक्य व्यवस्था मिलाएर सहकारी क्षेत्रमा रोकिएका काम सुचारु गराउनुपर्ने घिमिरेले माग गरे । ‘नयाँ सहकारी दर्ता गर्न आउने सेवाग्राहीको काम रोकिएको छ,’ उनले भने, ‘निष्क्रिय संस्था खारेज गर्नुपर्नेलगायत महŒवपूर्ण काम हुन सकेका छैनन् ।’वर्षौंदेखि भाडाको घरबाट सेवा दिँदै आएको डिभिजन सहकारी कार्यालय दुई वर्षअघि निर्माण सम्पन्न भएको आफ्नै भवनमा सरेको थियो । जिल्लामा बहुउद्देश्यीय, बचत तथा ऋण, दुग्ध उत्पादन, कृषि, सानाकिसानलगायत विभिन्नखालका ८४२ वटा सहकारी संस्था छन् ।

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App