coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मापदण्डविपरीत हुलाकी सडक निर्माण हुँदै

फोटो क्याप्सनः बर्दियामा निर्माणाधीन हुलाकी सडकबाट मापदण्डविपरीत ओछ्याइएको ठूला ढुंगा उठाउँदै हुलाकी सडक आयोजना प्रमुख सौरभ व्रजाचार्यसहित जनप्रतिनिधिको टोली । तस्बिर: निर्मल-नागरिक

गुलरिया – ठेकेदार कम्पनीको चरम लापारबाहीका कारण यहाँ निर्माणाधीन हुलाकी सडकमा यात्रा कष्टप्रद बनेको छ । ७९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हुलाकी सडकको ५७ किलोमिटर खण्डमा उपयुक्त डाइभर्सन नबनाइएकाले यातायात सञ्चालनमा समस्या छ । डाइभर्सनको अनुपयुक्त संरचनाकै कारण सवारी साधनलाई यो सडकमा जोखिमपूर्ण ढंगले गुड्नुपरेको छ ।

सडकमा रहेका खाल्डाखुल्डी र माटोको अधिक प्रयोगले गाडी चिप्लने र फस्ने समस्याले सर्वसाधारण हैरान छन् ।कालोपत्रे भत्काएर बनाउन सुरु गरेको हुलाकी सडक पानी परेका बेला हिलाम्मे र नपर्दा धुलाम्मे हुने गरेको छ । घाम लाग्दा दैनिक यात्रा गर्नेलाई धुलोले सास्ती दिनेगर्छ । लगातार दुई दिनसम्म परेको पानीका कारण हुलाकी सडकमा पैदलयात्रुलाई पनि दिक्दारी हुने गरेको छ । यो सडक आसपासका बासिन्दा दुर्घटनाको जोखिम मोलेरै घरबाहिर निस्कन्छन् ।

हुलाकी सडक र पुल निर्माणमा मापदण्ड अपनाउन र तदारुकता देखाउन स्थानीय निकायका पदाधिकारीले आग्रह गर्दे आएका छन् । हुलाकी सडक आयोजना प्रमुख डिभिजनल इन्जिनियर सौरभ वज्राचार्य सडक निर्माणको पटकपटक अनुगमन भइरहेको र मापदण्डअनुसार काम गर्न आफूले ठेकेदार कम्पनीलाई निर्देशन दिएको दाबी गर्छन् ।

तर, ठेकेदारले आफूखुसी गरिरहेको पाइएको छ । सडक निर्माणक्रममा ठूला ढुंगा र माटोको मात्रा अधिक भएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए । उनीसहित प्राविधिक टोलीले गरेको अनुगमनमा सडक निर्माणक्रममा १५ देखि २० केजीसम्मको ढुंगाको प्रयोग भएको फेला परेको थियो । सडकमा माटोको मात्रा अधिक राखिएको  आयोजना प्रमुख वज्राचार्यले स्विकारेका थिए । सडक निर्माणमा मापदण्डविपरीत भएका काममा सुधार गर्न निर्देशन दिइसकिएको वज्राचार्यले बताए । ‘बबई बहुमुखी क्याम्पसदेखि खैरापुरसम्मको माटोढुंगा निकाल्न लगाइएको छ,’ उनले भने, ‘अन्य खण्डका ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छौं ।’

हुलाकी सडकमा जोखिमपूर्ण तरिकाले सार्र्वजनिक यातायात चलाउन विवश भएको कृष्णसार यातायात व्यवसायीका संघका अध्यक्ष शम्भु रिजालले बताए । ‘वर्षौं बित्दा पनि निर्माणाधीन सडक र पुलको अवस्था उस्तै छ,’ संघका केन्द्रीय सचिवसमेत रहेका रिजालले भने, ‘सडक यात्रायोग्य छैन तर सम्बन्धित निकायले चासो लिएका छैनन् ।’

सडक निर्माण इस्टिमेटमा डाउन (तल) र (अप) माथि भनेको ७० एमएमको गिट्टी ग्रेडिङ गर्दा बिछ्याउनुपर्ने उल्लेख छ । सडकमा माटोको मात्रा १० प्रतिशत हुनुपर्नेछ । गाडी गुड्दा धुलो उड्ने हुनु हँुदैन । तर, पानी पर्दा सडक हिलाम्मे  र धुलाम्मे हुनुले सडकमा माटोको मात्रा बढी भएको पुष्टि गर्छ ।
 ठेकेदारले चलाखीपूर्वक सडक निर्माण गरिरहेको स्थानीयको दाबी छ ।

इस्टिमेटमा अन्यत्रबाट माटो बोकेर हाल्नुपर्नेछ । तर, सडक किनारमा ठूला खाल्डा बनाएर माटो थुपार्ने गरेको स्थानीय बताउँछन् । ‘रातारात ठूला ढुंगा र माटो बिछ्याउने काम भइरहेको छ,’ स्थानीय रामबहादुर चौधरी भन्छन्, ‘माटोको बढी मात्रा प्रयोग गरेपछि ढुंगा नदेखिने गरेको हो, खन्ने हो भने त्रुटि प्राविधिकले मात्र नभई सर्वसाधरणले समेत फेला पार्छन् ।’ डम्पिङ गरेर राखेका निर्माण सामग्री स्थलगत वा मेसिनमा ल्याब परीक्षण गरेर बिछ्याउनुपर्ने नियम लत्याइएको अर्का एक प्राविधिकले बताए ।

‘साइटमा बसेका प्राविधिकले हेरे ठकेदारले कसरी छल्न सक्छ,’ ती प्राविधिकले प्रश्न गरे ।हुलाकी सडकअन्तर्गत १८ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यसअघि बर्दियामा पप्पु कन्स्ट्रक्सनले निर्माण गरेकोे पाँच सय मिटरको जब्दी पुल अहिले भत्किएको अवस्था छ । उक्त पुल पनि पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको छ । उद्घाटन नहुँदै भत्किएको जब्दीघाटको पुलबारे अहिले केन्द्रीय तहबाटै अनुसन्धान भइरहेको छ ।


 

प्रकाशित: ६ फाल्गुन २०७४ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App