७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

बारा – रुस्लान नवौ सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। सिमरा रङ्गशालामा शनिबार भएको प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा आर्मीले  थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो।

उपाधिसहित आर्मीले पाँच लाख एकाउन्न हजार नगर पुरस्कार समेत पाएको छ भने उपविजेता बनेका थ्री स्टारले दुई लाख पचास हजार रुपैयाँमा चित बुझायो। आर्मीले यो सँगै सिमरा गोल्डकपको दोस्रोपटक उपाधि जितेको छ। यसअघि २०७१ मा छैंठौं संस्करणको उपाधि जितेको थियो। 

आर्मीलाई उपाधि दिलाउने क्रममो दिनेश हेम्जन र नवयुग श्रेष्ठले समान एक÷एक गोल गरे। खेलको ५८ औं मिनटमा दिनेश हेम्जनले आर्मीलाई अग्रता दिलाएका थिए। खेलको ७४ औं मिनटमा आर्मीका नवयुग श्रेष्ठले दोस्रो गोल गर्दा थ्रिस्टार विरुद्ध आर्मीले शानदार जित दर्ता गरायो। 

खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका सन्तोष तामाङ घोषित भए। खेलका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, आयोजक क्लबका अध्यक्ष कासिम मियाँ, नेपाल खेलकुद पत्रकार महासंघका महासचिव प्रकाश तिमल्सिना लगायत विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। 

नेपाली सेनाका प्रमुख प्रधानसेनापति राजेन्द्र क्षत्री समेत खेल हेर्न सिमरा रङ्गशालामा उपस्थित थिए। राजधानीबाट सेनाका उच्च अधिकारीसहित आर्मीको खेल हेर्न सिमरा रङ्गशाला आएका क्षत्री पुरै समय खेल हेरेर शनिवार नै राजधानी फर्किए। 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषणा भएका आर्मीका दिनेश हेम्जनले यमाहा कम्पनीको एक थान मोटरसाइकल समेत प्राप्त गरेका छन्।
प्रतियोगिताको विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

विधागत पुरस्कारमा आर्मीको वर्चस्व

सर्वोत्कृष्ट खेलाडी दिनेश हेम्जन, त्रिभूवन आर्मी क्लब
सर्वाधिक गोलकर्ता – दिनेश हेम्जन, त्रिभूवन आर्मी (३ गोल )
सर्वोत्कृष्ट गोलरक्षक – विकेश कुथु, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट डिफेन्डर – विमल पाण्डे, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट फरवार्ड – जर्जप्रिन्स कार्की, त्रिभूवन आर्मी
सर्वोत्कृष्ट मिडफिल्ड – निराजन खड्का, थ्रिस्टार 
फेयर प्ले टिम – आयोजक क्लब ‘निलो’

प्रकाशित: ५ फाल्गुन २०७४ १४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App