७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

काठमाडौं – नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्।

बिहीबार प्रधानमन्त्रीमा नियुक्त उनलाई कतिपय विदेशी सञ्चारमाध्यमले नेपालका आठौँ कम्युनिष्ट प्रधानमन्त्री तथा बामपन्थी गठबन्धनबाट बहुमत प्राप्तगरी नेपालको कम्युनिष्ट सरकारको नेतृत्वमा पुगेको भनी टिप्पणी पनि गरेका छन्। 

यी औपचारिक बधाई र शुभकामनाका अतिरिक्त नेपाल र भारतबीच यसपटक नयाँ कूटनीतिक प्रयोग नै भएको केहीको टिप्पणी छ। नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभन्दा महिना दिनअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई दिए। 

उनले प्रधानमन्त्रीको हैसियतमा भारतमा स्वागत गर्न आफू आतुर रहेको भन्दै भ्रमणको निम्तो पनि त्यतिबेलै दिएका थिए। उनले फोन दुई पटक नै गरे प्रधानमन्त्री नबन्दै। पछिल्लो सम्पर्कमा पनि उनको आशय भारत भ्रमणका लागि आमन्त्रण गर्नु नै थियो। 

प्रधानमन्त्री नियुक्त भएपछि पनि मोदीले पुुनः फोन गरेर बधाई दिए र भारत भ्रमणका लागि निम्तो दिए। बिहीबार राति १० बजे टेलिफोन गरी उनले भारत सरकार नेपालका प्रधानमन्त्री ओलीसँग मिलेर कामगर्न इच्छुक रहेको भन्दै उनले आगामी दिनमा नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले ओली नेतृत्वको नेपालको सरकारसँग मिलेर कामगर्ने र नेपालमा आर्थिक विकास र समृद्धिका लागि सहयोग गर्ने बताए। 

प्रधानमन्त्री मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीमार्फत शुभकामना पत्र पनि पठाएका थिए। सो पत्र राजदूत पुरीले बिहीबारै राति ओली निवास पुगेर हस्तान्तरण गरेका थिए। उक्त पत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धको थप विकासमा आफूले उच्च महत्व दिने र नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको धारणा राखेका छन्। 

केही दिनमात्र अघि पनि भारतीय प्रधानमन्त्री मोदीले आफ्ना विशेषदूत भारतका विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल पठाएका थिए। दुई देशको सम्बन्ध सुधारकै लागि भारतीय विदेशमन्त्री स्वराज नेपाल आएको बताइएको थियो। विशेषदूत पठाएर हिजो बिग्रिएको सम्बन्ध सुधारगर्ने प्रयास भारत सरकारले गरेको छ। प्रधानमन्त्री ओलीको अघिल्लो सरकारका समयमा भारतले नेपालमा नाकाबन्दी नै लगायो। जसका कारण नेपालले खाद्यान्न र इन्धनजस्ता न्युनतम आधारभूत आवश्यकताकै जोहो गर्नुपर्ने अवस्था आइलागेको थियो। त्यो विग्रिएको सम्बन्धलाई थप सहजीकरण गर्नका लागि यी पछिल्ला प्रयत्नहरु भइरहेका विश्लेषकहरु बताउँछन्। 

चिनियाँ प्रधानमन्त्री लि खछ्याङले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री खछ्याङले ओलीको कार्यकालमा चीन नेपाल सम्बन्धलाई अझै सुदृढ तुल्याउनुका साथै द्धिपक्षीय सहयोग र पारस्परिक लाभका क्षेत्रहरुमा मिलेर कामगर्ने बताएका छन्। चीन सरकारको एक महत्वाकांक्षी आयोजना एक क्षेत्र एक मार्गअन्तर्गत विभिन्न पारस्पारिक लाभका क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री खछ्याङले व्यक्त गरेको उनले पठाएको सन्देशमा छ। प्रधानमन्त्री खछ्याङले प्रधानमन्त्री ओलीलाई चीनमा स्वागतका लागि आतुर रहेको सन्देश नेपालका लागि चिनियाँ राजदूत यु होङ्मार्फत पठाएका छन्। यसरी प्रधानमन्त्री ओलीलाई नेपालका दुई छिमेकी भारत र चीनले औपचारिक भ्रमणका लागि आमन्त्रण गरिसकेका छन्। 

चीन सरकारले स्वागत गरेसँगै चिनियाँ विभिन्न संघसंस्था एवम् व्यक्तिले पनि उनलाई स्वागत र बधाई ज्ञापन गरेका छन्। चिनियाँ सञ्चारमाध्यमहरुले नेपालमा बामपन्थी गठबन्धनको रुपमा निर्माण भएको कम्युनिष्ट सरकार भनेर प्रचार गरेका छन्। चीनको एक अर्धसरकारी ‘थिंकट्यांक’ संस्था सान्सी इन्स्टिच्युट अफ इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट सेन्टरले नेपालमा ओली प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। उक्त इन्स्टिच्युटको द सेन्टर अफ साउथ एसियन ट्यालेन्ट डेभलपमेन्टका निर्देशक प्रा.डा. राजिवकुमार झाले ओली प्रधानमन्त्री भएलगत्तै बिहीबारै एक विज्ञप्ति प्रकाशन गरी ओली नेतृत्वको सरकारका समयमा द्धिपक्षीय हितका धेरै कुराहरु अघि बढ्ने र विगतमा उनले चीनसँग गरेका सन्धी सम्झौताहरुले पनि पूर्णता पाउने अपेक्षा चिनियाँ बुद्धिजीवी बर्गले गरेको बताएका छन्।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापनगर्दै बंगलादेश भ्रमणको निम्तो दिएकी छन्। प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री हसिनाले उनलाई सन्देश पठाउदै सफल कार्यकालको शुभकामना दिएकी हुन्। त्यसैगरी अमेरिकाले पनि प्रधानमन्त्री ओलीसँग मिलेर कामगर्ने इच्छा प्रकट गरेको छ। नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेपलिजले बिहीबार ओली प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ट्वीट्मार्फत बधाई र शुभकामना दिएकी थिइन्। उनले अमेरिका ओली नेतृत्वको नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाहेको सन्देश ट्वीटमार्फत दिएकी छन्। उनले नेपालको प्रजातन्त्रको विकास, समृद्धि र स्थायित्वका लागि अमेरिका सदा साथमा रहेको पनि बताएकी छन्। त्यसैगरी पाकिस्तानले पनि प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। 

नेपालको भूराजनीतिक अवस्थितिलाई नियाल्दा छिमेक सम्बन्ध अति महत्वपूर्ण र संवेदनशिल छ। यसको सन्तुलित सञ्चालनबाट मात्र नेपाल र नेपालीलाई फाइदा छ। दक्षिणी छिमेकीसँग हाम्रो आँगन नै जोडिएकोले हामी सदियौँदेखि विभिन्न हिसाबमा नजिक छौँ। उसको उपेक्षाबाट एक हिसाबले भन्ने हो भने हाम्रो दैनिकी चल्न नै गाह्रो छ। उत्तरको छिमेकी चीन त झन विश्वको पहिलो अर्थतन्त्रको दौडमा छ। यति समृद्ध छिमेकी पाउनु हाम्रालागि पनि गर्वको कुरा हो। त्यसैले उसँगको ठोस सहकार्यबिना पनि हामीले सोचेको समृद्धिको प्राप्ति सम्भव नहुन सक्छ। 

त्यसैले यति प्रभावशाली र समृद्ध छिमेकीसँगको सम्बन्धको सन्तुलन पहिलो र प्राथमिक कार्य हो यो सरकारको। उनीहरुको समृद्धिबाट लाभ लिनसक्ने क्षमता नै हाम्रो कूटनीतिक सक्षमता र सफलता हुनसक्छ। त्यसतर्फ ओली सरकारको कूटनीति उन्मुख होस्। अहिलेकोजस्तो बधाई र शुभकामनाको औपचारिकतामा मात्र आगामी दिनहरु सीमित नहोउन्। सन्तुलित र संयमित सम्बन्धका माध्यमबाट अर्थतन्त्रको विकासगरी देशलाई आर्थिक र धेरै हिसाबले आत्मनिर्भर बनाउनु यो सरकारको प्राथमिकता हुनुपर्दछ। (एकराज पाठक/रासस) 

प्रकाशित: ५ फाल्गुन २०७४ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App