coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डोल्पालाई फलफूलबाटै आत्मनिर्भर बनाइने

डोल्पा – फलफूल खेतीलाई यो वर्ष डोल्पामा अभियानकै रुपमा अगाडि बढाइएको छ। फलफूल खेतीको माध्यमबाट डोल्पा र डोल्पालीलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यहाँका स्थानीय निकायले स्याउ, किमी, अंगुर र दाँते ओखरका बिरुवाहरुको खरिद गरेर किसानलाई वितरण गरेको छ।

यो वर्ष जिल्लाका २ नगरपालिका र ३ गाउँपालिकामा गरी ९१ हजार ५०० सय बिरुवा किसानलाई वितरण गरिएको कृषि बिकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कृषकको माग १ लाख ५० हजार भएपनि ९१ हजार ५०० सय मात्र खरिद गरि ७५ प्रतिशत अनुदानमा बितरण गरिएको छ। 

काईके गाउँपालिकामा ३ हजार स्याउका बिरुवा, जगदुला गाउँपालिकाको लागि ५ हजार, मुडेकेचुला गाउँपालिकाको लागि ७ हजार, ठुलीभेरी नगरपालिकाको लागि २० हजार स्याउ दाँतेओखर र किमीका बिरुवा वितरण गरिएको छ। 

यसैगरि त्रिपुरासुन्दरी नगरपालिकाले ४७ हजार स्याउ र ९ हजार ५ सय अंगुरका बिरुवा गरेर ५६ हजार ५ सय बिरुवा बाँडेको छ। स्याउ र दाँतेओखरका बिरुवा केही संख्यामा जिल्लाभित्रैबाट र अपुग भएका स्याउ ओखरका बिरुवा र किमीको बिरुवा छिमेकी जिल्ला जुम्ला मुस्ताङदेखि ल्याइएको छ। 

त्रिपुरासुन्दरी नगरपालिकाले भने ९ हजार ५ सय अंगुरका बिरुवा भारतको नासिकबाट खरिद गरि वडा नं १, ४ र ६ का किसानलाई बितरण गरेको नगरपालिकाका प्रशासकीय अधिकृत भिमबहादुर धरलाले बताए। कृषकलाई सरकारी दररेट ४० रुपैयाँ प्रतिबिरुवा वितरण गर्नुपर्ने भएपनि बिरुवा अभावका कारण ६५ रुपैयाँ प्रतिबिरुवा खरिद गर्नुपर्ने बाध्यता आएको बागवानी विकास अधिकृत रामकुमार यादवले बताए। उनले सरकारले ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाबाट दिइएको जानकारी दिए। 

जिल्लाको कुल क्षेत्रफलको १ दशमलब ५ प्रतिशत क्षेत्रफल मात्र खेती योग्य जमिन रहेको डोल्पामा फलफूल खेतीमा स्याउ र ओखरको लागि उत्तम मानिन्छ। 

डोल्पामा बिस्तारै फलफूल खेतीको लागि बगैचाको विकास हुँदै गएको र कृषकले सोचेअनुरुपको स्याउ ओखरबाट आम्दानी लिन सफल भएकाले कृषकको समूह बनाएर बिशेष पकेटको रुपमा बगैचाको बिकास गरि फलफूल खेतीतर्फ अंगुर र स्याउमा कृषकलाई आकर्षित र उत्साहित बनाउन अभियानको रुपमा नगरपालिकाले कार्य गरिरहेको त्रिपुरासुन्दरीका मेयर ओमबहादुर बुढाले बताए। दुई वर्षपछि त्रिपुरासुन्दरी फलफूल खेतीमा अब्बल साबित भई आर्थिक रुपमा समेत आत्मनिर्भर बन्ने किसिमले नगरपालिकाले विशेष योजना अन्तर्गत फलफूल खेतीतर्फ अंगुर र स्याउलाई प्राथमिकतामा राखेर खेती अभियानलाई अगाडि बढाएको बुढाको भनाई छ। 

प्रकाशित: ५ फाल्गुन २०७४ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App