५ वैशाख २०८१ बुधबार
अन्य

विद्यालयको रजत जयन्ती

मिमांसक नेपाल
कक्षा–४ नाइटिङ्गेल स्कुल
कुपण्डोल, ललितपुर ।

म आज मेरो विद्यालयको रजत जयन्ती समारोहका बारेमा केही लेख्दैछु । मेरो विद्यालय २०४९ सालमा स्थापना भएको रहेछ । अहिले स्कुल २५ वर्षको भयो । तपाईंहरुलाई थाहा छ ? कुनै संस्था स्थापना भएको २५ वर्ष भएपछि रजत जयन्ती मनाइन्छ । हो, यस पटक मेरो विद्यालयले पनि रजत जयन्ती भव्यतापूर्वक मनाएको छ ।

माघ १६ गते सहिद दिवसको दिनको कुरा हो । म सधैंझैं बिहान ९ बजे विद्यालय पुगें । अरु दिनभन्दा त्यो दिन हामी धेरै खुसी थियौं । हामी सबै साथीभाइले नृत्य, खेलकुद, दौड, ड्रिलमा भाग लिएका थियौं। आज हामी सबैका आमाबाबालाई विद्यालयले रजत जयन्ती समारोहमा निम्ता गरेको थियो । कार्यक्रममा अभिभावकहरु आउने भएपछि हामीलाई पनि रमाइलो लागेको थियो ।

दस बजेपछि हामीलाई विद्यालयका गुरुआमाहरुले लामबद्ध भएर बसमा चढाउनुभयो । अनि हामी सबै साथीहरु र गुरुआमाहरु नेपाली सेनाको लगनखेलमा रहेको खेलमैदानमा पुग्यौं । त्यसपछि हामी सबै आ–आफ्नो तयारीमा जुट्यौं । हामीलाई गुरुआमाहरुले जे जे काम गर्न लगाउनुभयो, त्यो काम अनुशासित भएर पूरा गर्यौं ।

साढे दस बजेपछि अभिभावकहरु आउन थाल्नुभयो । बिस्तारै मञ्चमा भीड बढ्दै गयो । केही बेरपछि कार्यक्रम उद्घोषक गुरु बोदराज गौतमले प्रमुख अतिथि मञ्चमा आइपुगेको जानकारी गराउनुभयो । हाम्रो कार्यक्रमका प्रमुख अतिथि ललितपुर महनगरपालिकाका प्रमुख चिरीबाबु महर्जन हुनुहुन्थ्यो । त्यस्तै उपप्रमुख गीता सत्याल, जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललगायत धेरै अतिथिहरुलाई विद्यालयकी प्रधानाध्यापक रञ्जना प्रधानले स्वागत गर्नुभयो । हामीले पनि ताली बजाएर उहाँलाई साथ दियौं ।
त्यसपछि कार्यक्रम सुरु भयो । सर्वप्रथम हामीले राष्ट्रिय गान गायौं । अनि हामीले मार्स पास गर्यौं । मार्चपासमा हिमाल, पहाड, तराईलाई चिनाउने पहिरन लगाएर हामी अगाडि बढ्यौं । अभिभावकहरुले ताली बजाएर हामीलाई हौसला दिनुभयो । अनि नाच, रिङ नाच र खेलकुदका गतिविधि प्रदर्शन भयो ।

खेलकुदमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई अतिथिहरुले त्यहीँ पुरस्कार दिनुभयो । छ कक्षाका दाई दिदीहरुले कराँते प्रदर्शन गरे । उनीहरुले कराँतेका माध्यमबाट कमलको फूल र षट्कोण बनाए । त्यसपछि हाम्रो ड्रिल गर्ने पालो आयो । हामीले ड्रिल गर्दा सबै मिलेर स्वस्तिक चिह्न बनायौं । त्यो आकर्षक चिह्न बनेको देखेर अभिभावक, हाम्रा गुरुबा–गुरुआमा, अतिथिहरु निकै खुसी हुनुभयो । हामीलाई पनि रमाइलो लाग्यो । अनि अन्त्यमा हामी सबैलाई मेडल प्रदान गरियो र कार्यक्रम सकिएको घोषणा भयो । त्यसपछि चौरमा बाबा ममी र भाई मलाई लिन आउनुभएको रहेछ । हामी चारैजना रमाउँदै रमाउँदै खाजा खाएर घरतिर लाग्यौं । दिनभरको थकाइले गर्दा म त्यो दिन अलि चाँडै सुतें ।

 

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App