coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बर्मेली मञ्चमा नेपाली नाटक

लक्ष्मण न्यौपाने  – बर्मा र यहाँका नेपालीबारे कलम चलाइरहने रंगकर्मी घिमिरे युवराजसँग मेरो परिचय गएको दसैँमा भएको हो ।याँगौ युवा विभागले हरेक वर्ष गर्ने दसैँ उत्सवमा उहाँसँग संयोगले भेट हुन पुग्यो । यसपालिको दसैँ महोत्सव पाँचतारे होटल सांग्रिलामा भएको थियो ।

त्यही कार्यक्रममा उहाँसँग मेरो परिचय हुन पुग्यो, एउटा कार्यक्रम सञ्चालकका रूपमा ।दसैँ महोत्सवमा हामी नाचगान, प्रहसन, मन्तव्यसँगै नवदुर्गासम्बन्धी छोटो नाटक पनि प्रस्तुत गर्ने परम्परा छ । यसपालि धार्मिक नाटक प्रस्तुतिको जिम्मेवारी घिमिरे युवराजलाई दिइएको रहेछ । त्यसै क्रममा उहाँ र मेरो भेट हुन पुगेको हो ।

गीत, संगीत र नृत्य चलिरहेको मञ्चमा एक्कासि नाटक मञ्चन सहज थिएन । तर, युवराजले त्यही मञ्च रोजे र मैखाशुर नाटक प्रदर्शन गरे । दर्शकले खचिखचाउ ठूलो हलमा कतिपयले कलाकारको आवाज समेत सुन्न सकिरहेका थिएनन् । तर, आधुनिक शैलीमा मञ्चन गरिएको पौराणिक नाटकले मेरो भने मन छोयो ।

आफैँ कार्यक्रम सञ्चालक भएकाले मैले नाटकलगत्तै युवराजलाई मञ्चमा बोलाएर भलाकुसारी गर्ने अवसर पाएको थिएँ । मञ्चमा उनले आफू ‘हाउस हसबेन्ड’ भएको बताउँदा नेपाली मूलका बर्मेली दर्शक अचम्ममा परेका थिए । त्यसमाथि उनले आफ्नी श्रीमतीको थर भट्टराई बताउँदा धेरैलाई अनौठो नै लाग्न पुग्यो ।
एउटा कार्यक्रममा भएको छोटो भेटपछि भने मैले उनलाई अनलाइनहरूमा भेट्न थालेँ । बर्मा बस्दा उनले नेपाली मूलका बर्मेली बस्ने गाउँगाउँ डुलेर लेखेका लेखले मलाई तान्न थाले । उनको लेखन देखेर मलाई उनी रंगकर्मी हुन् या पत्रकार ? भन्नेमा शंका नै लाग्छ ।नेपालबाट आउने धेरै लेखक पत्रकारले मञ्चमा वर्णित बर्मेली छविलाई मात्र आफ्नो रचनामा राखेको देखिन्छ । घिमिरे भने मञ्चबाट ओर्लिएर यहाँको माटो टेकी त्यसलाई आफ्ना रचनामा प्रस्तुत गर्ने गर्छन्।

बर्माको मञ्चमा नेपाली नाटक प्रस्तुत गर्ने र नेपाली समुदायबारे लेख्ने तिनै घिमिरे युवराज एक दिन मलाई भेट्न आए । सोचेँ, उनी बर्मेली नेपालीबारे बुझ्न आएका होलान् । त्यसैले मैले उनका प्रश्नको उत्तर दिइरहेको थिएँ । तर, उनी ती उत्तरमा भन्दा अन्यत्र नै ध्यान दिइरहेजस्तो लाग्यो ।
हामी बीचको कुराकानीमै उनले भने, ‘लक्ष्मणजी, नाटकका लागि कुनै हल हेर्न जाउँ न ।’ मैले अनलाइनहरूमा पत्रकार देखेका युवराज बर्मामा अर्को नाटक देखाएर आधुनिक नाटकको स्वाद चखाउनेबारे सोचिरहेका रहेछन् । त्यसैका लागि उनी मसँग सहयोग माग्दै थिए ।

नाटकका लागि उनले देशभरबाट १२ युवा समेत भेला पारिसकेका रहेछन् । ती युवालाई घिमिरेले बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म तालिम गराएछन् । तालिमको चौथो दिन उनले मलाई पनि बोलाए, प्रशिक्षणस्थलमा । रंगमञ्चको सिद्धान्त, अभिनय दर्शन र सामाजिक विषयबारे तिनले दिएको तालिमले मलाई लोभ्यायो ।

नेपालदेखि टाढा भए पनि नेपाली भाषा, साहित्य र कलासँग निकट हुन पाउँदा आत्म गौरवको अनुभूति हुन्छ । घिमिरेले हाम्रा नयाँ पुस्तालाई नाटक अभिनय कला सिकाएको देख्दा मन यसै पुलकित भयो । भोलि नाटक मञ्चन हुन सके पनि नसके पनि हाम्रा युवाले सिक्ने मौका पाएकाले एउटा छुट्टै आशा जागृत भयो ।

नेपालदेखि आएका घिमिरेले बर्मेली नेपाली युवालाई लिएर नाटक गर्न कम्मर कसेको देखेपछि हामीमा पनि उत्साह छायो । हामीले घिमिरेको अनुरोधलाई स्विकार्दै नाटक देखाउन मिल्ने खालका हलको खोजी गर्न थाल्यौँ । यागौँका सबैजसो होटल चहार्दा पनि गतिलो हल भेटिएन । अन्तिममा हामी गान्धी भवन पुग्यौँ । त्यो पनि भत्किएर खण्डहर भएको रहेछ । बर्माको यो सहरमा रहेको एउटा मात्रै सरकारी प्रेक्षालय पनि निकै ठूलो छ । तर, सरकारले त्यसलाई सहजै आम मानिसलाई प्रयोग गर्न दिँदैन । कतै पनि गतिलो हल नभेटेपछि घिमिरेको समूहले कार्यशाला भएकै हलमा दुईपटक गरेर नाटक देखाउने निर्णय गर्यो ।

त्यसपछि भने बर्मेली नेपाली तात्न पुगे । याँगौ युवा समितिको आकस्मिक बैठक बस्यो । त्यसपछि समितिका जागरुक युवाको सक्रियतामा विभिन्न माध्यमबाट रकम जम्मा गरेर युवा विभागको नेतृत्वमा कोरियन्टर लिफ होटलको हलमा नाटक प्रदर्शन गर्ने निर्णय हुन्छ । त्यो निर्णय सुनेपछि हाम्रो बाँझो रंगमञ्चमा पनि आधुनिक नाटकको सयपत्री फक्रिने भयो भनेर म गद्गद् हुन्छु ।

२०१८ को २१ जनवरी अर्थात् बर्माको रंगमञ्चमा आधुनिक नेपाली नाटक पहिलोपटक मञ्चन भएको दिन । नाटक सुरु हुनु आधा घन्टाअगावै यहाँका नेपाली कोरियन्टर लिफ होटलमा जम्मा भइसकेका हुन्छन् । साँझको ६ बजेर १५ मिनेटमा मधुरो प्रकाशयुक्त हलभित्र छिर्छन्, दर्शकहरू । दुई सय दर्शकका लागि कुर्सी राखिएको हलमा दुई सय ५० जति दर्शक अटाइनअटाई र पर्खिरहेका हुन्छन्, एउटा ऐतिहासिक क्षणको साक्षी बन्न ।

बर्मेली रंगमञ्चको परम्परा तोडेर सुरु हुन्छ नाटक । त्यसैले त पहिलो १० मिनेटसम्म अलमलिन्छन् दर्शकहरू । कतिपयले त नबुझेरै मञ्चमा अभिनय गरिरहेका पात्रलाई जिस्क्याए पनि । जब नाटक अघि बढ्दै गयो, दर्शक नाटकमा डुब्दै गए । बीचबीचमा अनायासै ताली बजाउन थाले । कहिले हाँस्न र कहिले आँखाभर आसु पार्न थाले । केही दर्शकले त आफूलाई रोक्न नसकी भावुक हुँदै आँखा छोपेर रुन पुगे ।

दर्शकको अनुहारमा देखिएको नाटकको गहिरो प्रतिविम्बले मलाई प्रशन्न पारेको छ । खुसीले मुसुक्क हाँस्छु । तर, नाटक सकिएर बत्ती बल्दा पनि म त रोइरहेको पो रहेछु । मेरा ओठ र आँखा पहिलोपटक विरोधाभासको भासमा भासिएका थिए, ओठ मुस्काइरहेको थियो भने आँखाबाट आसु बगिरहेको । सायद, मेरा लागि यस्तो अनुभूति जीवनमै पहिलोपटक भएको थियो ।दर्शकलाई हँसाउन र रुवाउन सफल नाटकको पहिलो दृश्य अचम्मको थियो । मञ्चमा ऐरावती नदीलाई देखाइएको थियो । हुन त मञ्च खाली थियो । वरिपरि कालो पर्दा र रातो भुइँबाहेक अरु केही थिएन । कछिन् जातिको माझी केटाको भूमिका निभाउने कलाकारको अभिनयले मञ्चमा साँच्चै नै नदी बगेको भान दिन्थ्यो ।

नाटक अघि बढ्दै जाँदा त्यसका पात्र माझी दाइले सोझै दर्शकसँग संवाद गर्छन् । तिनले बर्माको चर्चित ऐरावती नदीको भौगोलिक इतिहासदेखि त्यससँग जोडिएका सम्पूर्ण कुरा भन्दै जान्छन् । यसले नदी किनारमा बस्नेको कथा सीधै बोलेको थियो ।ऐरावत नदी किनारा नै बर्मामा बस्ने नेपालीको पहिलो बसोबास क्षेत्र थियो । अहिले पनि धेरै नेपाली ऐरावत नदी किनारामै बस्छन् । त्यसैले त नाटकमा ऐरावती नदी किनारमा बसोबास गर्ने नेपाली परिवारलाई देखाइन्छ ।

नाटकमा देखाइएको नेपाली मूलको बर्मेली परिवारमा बूढी आमा, छोरो, तन्नेरी नाति, किशोर नातिनी, कान्छो नाति र गृहिणीका रूपमा बुहारी पात्र छन् । बूढी आमा मर्नुअघि एकपल्ट भए पनि आफ्नो मातृभूमि नेपाल टेक्न चाहन्छिन् । नाटकको दृश्य हेर्दै गर्दा मलाई आफ्नै परिवारको याद आयो, साथीभाइ र बर्मामा बस्ने नेपालीको याद आयो । किनकि नाटकमा बर्मामा बस्ने नेपालीको यथार्थ चित्रण थियो ।

नाटकमा देखाइएको त्यो परिवारको हजुराआमा पुस्तामा नेपालीपन धेरै छ, नेपालीपनसँगै मिसिएर आएको छ, जातीय छुवाछुतको रुढीवादी सोच पनि । छोराबुहारी पुस्तामा आफ्नोपन जोगाउने संघर्षसँगै जीवनयापनका लागि गर्नुपर्ने विभिन्न संघर्ष र सम्झौता छन् । नाति पुस्तामा भने आफ्नोपन जोगाउने संघर्षका साथमा परिवर्तनकामी सोच पनि छ । समग्रमा यो नाटकमा बर्मेली नेपालीको कथा छ ।

नाटकको तेस्रो दृश्यमा जब नातिले कथित पानी नचल्ने जातकी केटी भगाएर घर ल्याउँछ, घरमा भाँडभैलो मच्चिन्छ । आफ्नो मातृभूमि छाडेर हिँडे पनि जातभातको कुप्रथा छाड्न नसकेका बर्मेली नेपालीको मस्तिष्कमा त्यसले झड्का दिन्छ । नाटकमा देखाइएको परिवारमा पनि त्यस्तै भाँडभैलो मच्चिन्छ । हजुराआमासहित बाबुआमा मिलेर नातिलाई घरमा थुनिदिन्छन्, भगाएर ल्याएकी केटीलाई लखेट्छन् ।

आफ्नो प्रेमीबाट बिछोडिएर लखेटिएकी युवती रुन्छिन्, कराउँछिन्, समाजलाई धारे हात लगाउँछिन् । सँगसँगै, कोरमा कलाकारले विरहको गीत गाउँछन्, ‘हो... हामीले हाम्रो पुर्खाको थलो छाड्यौँ, वेशभूषा पनि छाड्यौँ तर जातभात र अन्धविश्वास छाड्न सकेनौँ ।’  नाटकमा यस्तो दृश्य देखिँदा दर्शक मौन बन्छन् । हलमा सन्नाटा छाउँछ । सायद, दर्शक युवतीले गाएको विरहको गीन गुन्गुनाउँदै आफैँ त्यही प्रश्न आफैँसँग सोधिरहेका हुँदा हुन् ।

नाटकको चौथो दृश्यमा नेपाली बस्तीको चौतारो देखापर्छ । त्यहाँ हरेक जातजातिका नेपाली भेला हुन्छन् । त्यहाँ आफूलाई नेपाली भनेर चिनाउने कि गोर्खाली ? भन्ने बहस हुन्छ । नेपाली भाषालाई प्राथमिकता दिने कि यहीँको भाषालाई ? भन्ने चर्चा हुन्छ । त्यही सभामा कथित तल्लो जातकी युवती भगाउने युवाका पिताको प्रवेश हुन्छ । उनले आफ्ना छोराको कथा सुनाउँछन् । कतिपयले अब जातपात मान्नुहुन्न भनेर केटीलाई बुहारी स्विकार्न सुझाउँछन् भने कतिपयले नस्विकार्न सुझाव दिन्छन् । यद्यपि त्यो सभाले कुनै निर्णय भने दिँदैन । सायद नाटककार र निर्देशक यसबारे दर्शकलाई सोच्न बाध्य पार्न चाहन्छन् । त्यसैले उनले व्यंग्यात्मक शैलीमा यो दृश्यलाई टुंग्याउँछन् ।अन्तिम दृश्यमा ऐरावती मुहानबाट समुद्री किनार याँगौ सहरतिर जाने पानी जहाज र जहाजमाथिका यात्री देखिन्छन् । यस्तै यात्रीका अनेकौँ कथा बोकेर ऐरावती अनवरत बग्दो छ ।

पानी जहाजबाटै ऐरावती किनारमा बस्ने एउटी युवती सामाजिक अन्धविश्वास र अनेकौँ चुनौतीलाई चिर्दै पढाइ र रोजगारीका लागि यंगुनसम्म आइपुग्छिन् । मञ्चमा उभिएर तिनले भन्छिन्, ‘नदीले झैँ म मेरो सपनालाई पछ्याउँदै रंगुनसम्म आइपुगेको छु, एउटी नारीका अनेकौँ चुनौती चिर्दै मैले नदीझैँ बग्नु पर्छ, अनेकौँ चट्टान र अवरोधलाई पार गर्दै अघि बढ्नुछ ।’ नारी र नदीको संगम गराएर छाडिएको नाटकले नेपाली मूलका बर्मेलीको यथार्थ कथा देखाएकैले धेरै दर्शक भावुक बनेका थिए ।

नेपालबाट बर्मा आएर आधुनिक नेपाली नाटक देखाउने पहल गर्ने घिमिरेको उत्साहलाई मान्नैपर्छ । उनैलाई गुरु थापी नाटकमा अभिनय गरेका मुना कार्की, हिमाल खड्काथोकी, सगुन बस्नेत, आरती थापा, अनुराधा पौडेल, मदनमोहन आचार्य, राजु पोख्रेल, सन्दीप भट्टराई, भीम ढकाल, माया भट्टराई र रितु थापाको जोश र उत्साहलाई पनि सराहना नगरी रहन सकिँदैन ।

आफ्नै समाजको यथार्थलाई ऐनाले झैँ छर्लंग देखाइदिने माध्यम रहेछ नाटक । त्यसैले त ऐरावत नाटक बर्मेली नेपाली समाजका लागि ऐना बनेको छ । त्योभन्दा पनि ठूलो कुरा, बर्मेली नेपालीले आधुनिक नाटक कला सिकेका छन्, सायद तिनले अब ऐरावती किनारका धेरै नेपालीका कथालाई नाटकमा बुनेर रंगमञ्चमा प्रस्तुत गर्नेछन् ।

(न्यौपाने म्यान्मारका नेपालीभाषी लेखक हुन् ।)  

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App