७ वैशाख २०८१ शुक्रबार
अन्य

शेरबहादुर बाबा

सुरेश किरण
यसपालि पनि महाशिवरात्रिका अवसरमा नेपाल आउने नागाबाबाहरू विवादमा तानिए । नागाबाबाहरूले धर्मका नाममा समाजमा अश्लीलता फैलाउँदै छन् ।

उनीहरूलाई नियन्त्रण गर्नुपर्यो भन्ने आवाज पहिले पनि उठेकै थियो । यसपालि पनि उठ्यो । अझ यो वर्ष एक वकिल सा’बले नागाबाबाका विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरे ।सामाजिक सञ्जालमा देख्नमा आएअनुसार भारतका केही स्थानमा नागाबाबामाथि आक्रमण पनि भएका छन् । विनावस्त्र सडकमा नांगै आए भनी उनीहरूमाथि आक्रमण भएको रहेछ ।

यसर्थ समग्रमा के भन्न सकिन्छ भने यतिबेला जमाना नागाबाबाका लागि अनुकूल देखिँदैन । चारैतिर उनीहरूका विरुद्ध गतिविधि भइरहेका छन् । भौतिक हमला समेत हुन थालेका छन् । यस्तो अवस्थामा पनि नागाबाबा पशुपति आउन भने छाडेका छैनन् । उनीहरू मजाले काठमाडौं आउँछन् । पशुपति जान्छन् । धुनी जगाउँछन् । न कसैको डर, न त कसैको त्रास ।महाशिवरात्रिका दिन पशुपतिभित्र धुनी जगाएर मस्तले बसिरहेका एकजना नागाबाबालाई मैले सोधेँ, ‘बाबाजी, हालखबर के छ ?’

‘बडा मस्त छ बालक । चिलम तान्ने ?’ बाबाजी मस्तले बोले । यथार्थमा उनी बडा मस्त पोजिसनमै थिए।
मैले भनेँ, ‘बाबा ! सुनिन्छ, तपाईंको नागा समुदायका लागि बडा संकटको टाइम चलिरहेको छ । भारतमा तपाईंका साथीमाथि पनि आक्रमण भएका छन् । यस्तो अवस्थामा नेपाल आउन डर लाग्दैन ?’
बाबाजीले आफ्नो नग्न शरीरमाथि आफ्नै एक पूर्ण नजर दौडाए । अनि बिस्तारै भने, ‘संकट त छ बालक । त्यो संकट इन्डियामा मात्रै हो, नेपालमा छैन । नेपालमा हामी पूरा सुरक्षित छौँ ।’

मैले भनेँ, ‘कसरी सुरक्षित हुनुहुन्छ बाबा ? नेपालमा त स्वयं नेपाली सुरक्षित छैनन्, तपाईं नागाहरू कसरी सुरक्षित हुनुहोला ?’बाबा थोडा मुस्कुराउनुभयो । अनि दारीमा हातले सुमसुम्याउँदै बोले, ‘नेपालीहरू कति सुरक्षित छन्, त्यो त थाहा भएन, हामी चाहिँ पूरा सुरक्षित छौँ । त्यसमा कुनै चिन्ता छैन ।’‘यो कसरी भन्न सक्नुहुन्छ बाबा ?’ मैले आश्चर्य मिश्रित प्रश्न राखेँ ।

बाबाले रहस्य उद्घाटन गर्ने कोसिसका साथ भने, ‘हेर्नुस्, नेपालमा अहिले जो सरकार चलिरहेको छ, त्यो नै हामी नागाबाबाहरूको सरकार हो ।’‘हँ ! नागा बाबाको सरकार ?’ मेरो आश्चर्यको ठेगान रहेन, ‘यो कसरी बाबा ?’‘अरे, मलाई विश्वास गर्नुस्, यो हाम्रै नागा समुदायको सरकार हो,’ बाबाको आँखामा पूरा कन्फिडेन्स देखियो । नभन्दै उनले जटाबाट एक टुक्रा सुर्ती निकाली गाँजासँग मोल्न थाले ।

उनको कुराले मेरो दिमाग भने पूरै रन्काइदियो । के भन्छ यो बाबा ? मैले पुनः सोधेँ, ‘हैन बाबा, यो कुरा त हामीले कहिल्यै सुनेको छैन । तपाईंलाई थाहा भयो ?’‘अरे, साँपको खुट्टा साँपले मात्रै देख्छ,’ बाबाले अलि जोडले गाँजा मोल्न थाले, ‘हाम्रो समुदाय कहाँ–कहाँ छन्, त्यो हामीलाई मात्रै थाहा छ । नेपालमा उनीहरू सरकारमै छन् । हामीलाई बडो खुसी लाग्छ । आखिर संसारमा नागा समुदायले चलाउने कुनै सरकार पनि छ । सरकारै नागा समुदायको भएका कारण हामीलाई यहाँ सेफ छ ।’

‘नेपालमा नागा समुदायको सरकार छ भन्ने कुरा त हामीलाई कहिल्यै थाहा भएन । के भएको यो ?’ मैले लगभग रुन्चे शैलीमा प्रश्न राखेँ ।बाबाले बोले, ‘सबै कुरा थाहा हुनैपर्छ भन्ने छैन । सरकारले गरिरहेको काम देखेर पनि तपाईंहरूले यो नागा समुदायको सरकार हो भन्ने पत्ता लगाउन सक्नुपथ्र्यो । किन पत्ता लगाउन नसकेको होला ?’मैले हैरानीको भावमा भनेँ, ‘खोइ त्यस्तो कुनै संकेत त हामीले देख्नै सक्दैनौँ ।’

‘अब नदेखेकामा मैले के गर्न सक्छु र ?’ बाबाले भने, ‘हामी त सरकारले गरिरहेको दुई–चारवटा काम देखेपछि नै थाहा पाउँछौँ कि यो हाम्रै नागा समुदायको सरकार हो । प्रधानमन्त्री शेरबहादुर देउवा (अहिले त पूर्वप्रधानमन्त्री भइसके) हामी नागा समुदायको महान् नेता नै हुनुहुन्छ । हामी उहाँको अभिषेक गर्न चाहन्छौँ ।’‘तान्ने हो ?’ बाबाले मतिर चिलिम तेर्साए । मैले टाउको हल्लाएँ । ‘यो पहिलो सर्को उनै महान् प्रधानमन्त्रीज्यूको नाममा... जय शेरबहादुर बाबा !’ उनले श्वासको लास्टै बिटसम्म चिलिम ताने र पुरानो रेलको टुप्पीबाट धुवाँ आए जसरी सरर्र धुवाँ फ्याँके ।

म उनले हावाले फ्याँकेको धुवाँको मुस्लो हेर्दै टोलाएँ, यी बाबा पनि महानै हुनुपर्छ । हाम्रा प्रधानमन्त्रीलाई देख्नेबित्तिकै चिनिहाले । हामीले उहाँको चार–चार अवधिसम्म शासन झेलिसक्यौँ । आजसम्म उहाँलाई चिन्न सकेका छैनौँ । चिन्न नसकेको मात्र होइन, उहाँले भनेको कुरा ठम्याउनसम्म सकेका छैनौँ । यी नागा बाबालाई हेर्नुस्, फगत एक नजरमै हाम्रा प्रधानमन्त्रीलाई चिनिसके ।

फोक्सोदेखिको धुवाँ फ्याँकिसके पछि उनले भने, ‘बालक ! अब भन्नुस्, जुन देशको सरकार नै एक नागाबाबाले चलाइरहेको छ, त्यो देशमा हामी नागालाई केको डर ? अरे हामी त इन्डियामा खतरा भयो भने यता काठमान्डु दौडेर आइहाल्छौँ । यता हाम्रो शेरबहादुर बाबा जो हुनुहुन्छ !’‘तान्ने ?’ उनले दोस्रोपटक मतिर चिलिम तेर्साए । मेरा आँखा भने चिलिमतिर भन्दा बाबाजीको शरीरका विभिन्न अंग–प्रत्यंगमाथि दौडिरहेको थियो ।

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App