गोरखा–पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले आफूले पुननिर्माण प्राधिकरणको नेतृत्व पाएको भए दातासँग दश खर्ब आफैंले जुटाउन सक्ने दाबी गरेका छन्। भूकम्पको केन्द्र बिन्दु, गृह जिल्लासमेत रहेको गोरखामा नयाँ शक्ति पार्टीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘भूकम्प पीडितलाई पाँच लाख दिन समस्या छैन, दाताले दिएको पैसा यहाँ खर्च गर्ने तौर तरिका मिलेन, न्यूनतम दश खर्ब मै उठाइदिन्छु।’
तीन खर्बले सर्वसाधारणलाई प्रतिघर पाँच लाख दिन पुग्ने र अन्य रकमले पुरातत्विक महत्वका योजना अघि बढाउनुपर्नेमा उनले जोड दिए। अहिलेको पुननिर्माण प्राधिकरणलाई गुदी बिनाको खोलको उपमा दिँदै उनले प्रधानमन्त्री सरहको कार्यकारी अधिकारी दिएर अघि बढाउनुपर्ने, जिल्ला जिल्लामा राज्यमन्त्री सरह अधिकार दिएर कर्मचारी परिचालन गरेको भए सबै पीडितले अनुदान समयमै सहज ढंगले पाउने दाबी गरे।
सरकार बदलिँदा प्राधिकरणका कर्मचारी, योजना र प्रक्रिया बदलिने प्रवृत्तिले भूकम्प पीडितले अनेकौं सर्तमा झन्झट ब्यहोर्नु परेको गुनासो उनको थियो। बिना सर्त २ लाखबाट बढाएर पाँच लाख दिनुपर्ने र त्यसमाथि आवस्यक पर्नेलाई सहुलियत ऋणको ब्यवस्था सरकारले गर्नुपर्नेमा उनले जोड दिए।
गोरखा दरबार, बसन्तपुरजस्ता ऐतिहासिक धरोहर जोगाउन छाडेर भूकम्पको वर्षदिनसम्म पनि धरहराको नक्सा बनाएको सार्वजनिक गर्ने, नक्सामा मात्रै ताली पिट्ने, खुसी मनाउने काम भएको भन्दै उनले सरकारको कामको आलोचना गरे। दाताले दिएको पैसा खर्च नहुँदा थप पैसा जुट्न नसकेको उनको भनाइ थियो।
अहिले पनि आफूले बिभिन्न देशका राजदूत र बिकास निर्माणमा सहयोग गर्ने आश्वासन दिएकाहरुसँग भेट्दा सहयोग जुट्ने संभावना देखेको उनले बताए । नयाँ शक्ति पार्टीले गोरखा सदरमुकाममा आयोजना गरेको गोरखा पुननिर्माण संभावना र चुनौती विषयक अन्तक्रिया कार्यक्रममा सहभागी भट्टराईले पद्धती र प्रणालि ठिक नहुँदासम्म काजग मिलाउने मात्रै काम भएको बताए ।
‘म्यादी सरकारको भर हुँदैन्, छिनछिनमा बदलिने यो परिपाटी बदल्नुपर्छ’, उनले भने, ‘भूकम्प पीडितले पाउने अनुदान, प्राधिकरणको कार्ययोजना पनि सरकार बदलिएसँगै, कर्मचारी र योजना पनि बदल्ने प्रवृत्ती दुःखद भयो।’
धारणा राख्ने क्रममा पटक पटक भट्टराईले म प्राधिकरणको प्रमुख भएको भए यस्तो गर्ने थिएँ भन्दै योजना सुनाएका थिए। दीर्घकालीन सरकार नहुँदा योजना र दुर दृष्टिको समस्या भएको बताउँदै उनले कार्यन्वयनको पाटो शून्य भएको बताए। अन्तक्रिया कार्यक्रममा जिल्ला राजनीतिक दल, गैरसकारी संघ संस्था, संञ्चारकर्मी, ब्यापारी, ब्यवशायी गरी दुई सय ५० भन्दाबढिको उपस्थिति थियो।
प्रकाशित: ३२ श्रावण २०७३ ०८:३३ मंगलबार