७ वैशाख २०८१ शुक्रबार
समाज

महँगिँदै ल्होसार

लाक्पा जी शेर्पा
ल्होसार अर्थात नयाँ वर्ष । महायानी बौद्ध सम्प्रदायले शुक्रबार ग्याल्पो र सोनाम ल्होसार संयुक्त रूपमा मनाइरहेका छन् । ग्याल्पो ल्होसार २१४५ र सोनाम ल्होसार २८५३ मिश्रित तवरले मनाइरहँदा विवाद र विभाजन पनि देखिएका छन् ।

ल्होसारलाई धार्मिक र सांस्कृतिक महत्वबाट परिभाषित गरिन्छ । ल्होसारमा आफन्त भेटघाटसँगै मिठो खाने, नयाँ लगाउने परम्परा छ । यस अवसरमा विभिन्न पूजापाठ तथा धर्मकार्यहरू पनि गरिन्छ ।
ल्होसार नयाँ वर्ष सुरुवातको खुसीयालीमा मनाइने भए पनि यसको शैली र चलन हेर्दा हिन्दूहरूको दसैंसँग मिल्दोजुल्दो छ ।

ल्हो भनेको वर्ष र सार भनेको नयाँ हो । साम्बोटा लिपिले समेटेको भोटचन्द्र पात्रो अर्थात दतुमा तिथिमिति परिवर्तन हुँदा बौद्ध धर्मावलम्बीले नयाँ वर्ष ग्याल्पो ल्होसार मनाउने गर्छन् । शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रो अनुसार चारै वटै ल्होसार मनाउने गर्छन् । ल्होसारमा छेमार र छ्याङफुद सजाउने गर्छन् । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना अर्थात् गुथुक, खप्से र फलफूल खाएर शुभकामना आदनप्रदान गरी सबैतिर एकै समयमा ल्होसार मनाउने गरिन्छ ।

वर्षेनी १२ लो (ल्हो) अर्थात बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रयागन, सर्प, घोडा, भेडा वर्ष परिवर्तन भएर नयाँ वर्षको सुरुवात हुन्छ । तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो ल्होसार मनाइने गरिन्छ । महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रोमा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा ल्होसार परिभाषित गरिएको छ । हिमाली क्षेत्रका बासिन्दाले ल्होसार (नयाँ वर्ष) लागेको शुभ संकेत स्वरूप जौँ र गहुँका बाला सजाउने गरिन्छ ।
कोङ्पोलाई लोपोन्मुख ल्होसार मानिन्छ । तोला ल्होसार ग्रह नक्षत्र वा आकासीय पिण्डहरूको चलायमान अवस्थासँग जोडिएको जानकारहरू तर्क गर्छन् ।

मञ्जुश्री पात्रो अनुसार पुस ११ औं महिना हो । सोनामको अर्थ कृषि हो, किसानले रोपेको अन्नबाली भित्र्याएपछि खुसीयालीमा सोनाम ल्होसार मनाउने गरिन्छ । पात्रो अनुसार १२ औं महिनाको पहिलो दिन सोनाम ल्होसार मनाउने चलन छँदैछ ।
विलासी शैली :महँगो ल्होसार
हिजोआज ल्होसारमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने चलन छ । ल्होसारमा नयाँ कपडा, विभिन्न विलासी सामग्रीहरू खरिद गर्ने, पूजापाठ तथा दानदक्षिणा गर्ने चलन बढ्दै गएको छ । व्यक्ति, समूह र सामुदायिक संस्थाहरूले आ–आफ्नै तरिकाले ल्होसार मनाउने गरेका छन् । ल्होसारमा संघसंस्था अर्थात् किदुगहरूले वनभोज, सहभोज कार्यक्रमहरू आयोजना गर्दै आएका छन् ।

विभिन्न मदिरा कम्पनीको प्रयोजनमा आयोजना हुने ल्होसार विशेष कार्यक्रममा सहभागी हुन व्यक्तिपिच्छे टिकट लिनुपर्ने बाध्यकारी व्यवस्था छ । कम्तिमा १ हजारदेखि ५ हजारसम्मको टिकट काट्नै पर्ने बाध्यकारी अवस्था सिर्जना गराइन्छ । ल्होसारमा खाने, रमाइलो गर्नकै लागि संस्थाहरू स्थापना हुने गरेका पनि छन् । स्थापना भएका संस्थाको वार्षिक कार्यक्रममा ल्होसार ‘पिकनिक’ आयोजना गर्ने मात्रै पनि हुन्छ । राजधानी काठमाडौंमा मात्रै ल्होसारमा ६ दर्जनभन्दा बढी संस्थाले वनभोज, विभिन्न पार्टी कार्यक्रम आयोजना गर्ने गरेको छ । यसरी ल्होसारमा एउटा संस्था अर्थात् किदुगले आयोजना गर्ने वनभोजको खर्च कम्तिमा पाँच लाख हुने गरेको छ ।

‘चिनजान, छिमेकीहरू आवद्ध संस्थाका आधारमा टिकट खरिद गर्ने हो भने एकै पटकमा दर्जन बढी टिकट घरमा आइपुग्छ,’ बौद्धका आङ दावा शेर्पा भन्छन्, ‘सबैतिरको टिकट लिएर समय दिने हो भने एक लाख बढी खर्च हुन्छ भने समयपनि एक महिना नै बित्छ ।’

ल्होसारलाई परम्परागत र धार्मिक महत्व दिएर विधिपूर्वक मनाउनुको सट्टा पछिल्लो दिनमा यसमा थपिँदै गएको भड्किलोपनले यसको दिगोपन र निरन्तरतामाथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ । ‘ल्होसार थेग्नै गाह्रो छ । सबैतिर समय मिलाउन पनि नसकिने अवस्था छ,’ ङावा शेर्पाले भने, ‘पहिला ल्होसार आफ्नै टोल, छिमेकमा मनाइन्थ्यो । अहिले जस्तो खर्चिलो हुँदैनथ्यो ।’

शेर्पा समुदायमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले फागुन २ गतेबाटै औपचारिक कार्यक्रम आयोजना गरेर ल्होसार सुरुवात गरे । साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वितरण, साम्दे शेर्पा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्न कार्यक्रम आयोजना गरेको हो । राजधानीको खुला मञ्चमा हुने भनिएको ल्होसार गुथुक कार्यक्रम अन्ततः पार्टी प्यालेसमा सम्पन्न गर्नु परेको कार्यक्रम संयोजक आङ डोमा शेर्पाले बताइन् । खुला मञ्चमा कार्यक्रम सम्पन्न गर्दा लाग्ने खर्च केही हदसम्म भए पनि कटौती त भएको छ, तर ल्होसार विशेष कार्यक्रम तामजामका साथ सम्पन्न गर्न नपाउँदा आयोजकले खल्लो महसुस गरिरहेका छन् ।
संस्कार उस्तै
नेपाल शेर्पा संघको पाँचौ महाधिवेशन सम्पन्न हुँदै गर्दा शेर्पा समुदायको संस्कार धान्दै गाह्रो भएको भन्ने बहस सतहमा देखियो । संस्कार महँगो भएकाले यसलाई मितव्ययी बनाउनु पर्ने प्रस्ताव प्रत्येक बैठकमा अध्यक्ष आङ दोर्जी शेर्पाले पेश गरे । उनले यस विषयलाई हरेक औपचारिक कार्यक्रममा समेत राखे । शेर्पा सम्मेलन नै आयोजना गरेर संस्कार मितव्ययी बनाउने विषयमा कार्यपत्र पेश गरी घोषणापत्र नै जारी गरिसकेका छन् । ल्होसार पनि त्यस्तै महँगो हुँदै गएपछि समुदायले सोच्ने बेला भएको अध्यक्ष शेर्पा सुझाउँछन् ।

‘अनुपादक क्षेत्रमा हामी बढी खर्च गरिरहेका छौं । संस्कार पनि जोगिने कार्यक्रम पनि हुने खाले पद्धतिको विकास गर्नु पर्ने बेला आएको छ,’ पात्ले शेर्पा किदुगका महासचिव गेली शेर्पाले भने, ‘अब हामी खर्चमा कटौती गरौं । परिस्कृत रूपमा संस्कारलाई निरन्तरता दिऔं ।’

प्रकाशित: ५ फाल्गुन २०७४ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App