coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कञ्चनपुरमा मेयर कप सुरु

महेन्द्रनगर – कञ्चनपुरमा शुक्रबारदेखि प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको मैदानमा आयोजित प्रतियोगिताको भीमदत्त नगरपालिकाका प्रमुख (मेयर) सुरेन्द्र विष्टले उद्घाटन गरे। 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर विष्टले मेयर कपलाई खेल महोत्सवका रुपमा अघि बढाइने बताए। बजेटको चिन्ता नगर्न आग्रह गर्दै उनले खेलका माध्यमबाट समृद्ध नगरपालिका बनाउने अभियानमा लाग्न आह्वान गरे। शिक्षकलाई नेतागिरी छाडेर विद्यार्थीको पठनपाठनमा ध्यान दिन आग्रह गर्दै विष्टले नगरपालिकाभित्र सबै विद्यालयमा अतिरिक्त क्रियाकलाप अनिवार्य गराइने स्पष्ट पारे।

भीमदत्त नगरपालिको आयोजनामा सुरु भई माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा कबड्डी, महिला र पुरुष भलिबल खेल हुनेछन्। 

नगरपालिका भरीका १० कक्षासम्मका विद्यार्थी सहभागी खेलमा पुरुष भलिबलतर्फ २३, महिलातर्फ १२ वटा टिम सहभागी छन्। भलिबलमा कक्षा ११ र १२ का पुरुष विद्यार्थीले पनि सहभागिता जनाएका छन्। प्लस टु पुरुष भलिबलतर्फ १६ टिम सहभागी भएको प्रशिक्षक जगदिश भट्टले जानकारी दिए।

उनका अनुसार कबड्डीतर्फ पुरुषको २६ र महिलाको २० टिमको सहभागिता रहेको छ। 

मेयर कप खेलको उद्घाटन समारोहमा उपमेयर सुशीला चन्दसिंह, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख डिल्ली विष्ट लगायतको सहभागिता रहेको थियो।

प्रतियोगितामा २० हजार, १५ हजार र १० हजार तथा सान्तवना गरी एक लाखभन्दा बढीको पुरस्कार रहेको प्रशिक्षक भट्टले बताए। मेयर कप खेलबाट नयाँ खेलाडीको उत्पादन हुने उनको विश्वास छ।

प्रकाशित: ४ फाल्गुन २०७४ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App