coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्याप्त छैन पूर्वाधार

इलाम–    सरकारले परीक्षणका रूपमा लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम इलाम र बाग्लुङमा बुधबार सुरु हुँदैछ । कार्यक्रमका लागि जिल्लाका सेवाप्रदायक स्वास्थ्य संस्था र सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिबीच सम्झौता भएको छ ।   गत असार १५ देखि मसान्तसम्म बिमा कार्यक्रममा सहभागी हुन फाराम भर्ने सर्वसाधारणले भदौ १ देखि सेवा पाउने छन् । यो सेवा लिन इलाममा ३ हजारभन्दा माथिले फाराम भरेका छन् ।

जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार स्वास्थ्य बिमा कार्यक्रमका लागि नागरिकको सहभागिता ‘उत्साहजनक’ छ।  जिल्लाका इलाम नगरपालिकामा ५ सय २०, प्याङ गविसमा ३ सय ६५, माबुमा ३ सय ५१, शान्तिडाँडामा २ सय २६, सुलुबुङमा १ सय ८४ र जमुनामा १ सय ७५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी छन् । उनीहरूले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा बिमाअन्तर्गतको सेवा लिन सक्छन् ।

 बिमाअनुसारको सेवा प्रदान गर्न आइतबारदेखि सोमबारसम्म जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीलाई प्राविधिक तालिम प्रदान गरिएको समितिका दर्ता अधिकृत खेमराज अधिकारीले जानकारी दिए । जिल्लाका सदरमुकाममा जिल्ला अस्पताल तथा प्याङ, फिक्कल, पशुपतिनगर र मंगलबारेमा ४ प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

अधिकारीले बिमा कार्यक्रममा सहभागी हुन इच्छुकका लागि फाराम भर्नेक्रम जारी रहेको भन्दै नागरिकको सहभागिता उत्साहप्रद रहेको बताए । ‘जिल्लामा ५२ दर्ता सहयोगीले काम गरिरहेका छौं,’ उनले भने, ‘वर्षायाम भएपनि स्वास्थ्य बिमामा सहभागी हुन आउनेको संख्या बढिरहेको छ । केही गाउँहरूमा भने दर्ताप्रक्रिया चाँडै सुरु हुँदैछ ।’ उनले असार मसान्तसम्ममा फाराम भर्नेको तथ्यांक कम्प्युटरमा दर्ता भइरहेको जनाए । कार्यक्रम कार्यान्वयनका लागि जिल्ला सभापति (स्थानीय विकास अधिकारी)को अध्यक्षतामा जिल्ला स्वास्थ्य समन्वय समिति पनि गठन भइसकेको छ ।

सरकारले गत आर्थिक वर्ष २०७२/०७३ देखि इलामसहित, बाग्लुङ र कैलाली गरी ३ जिल्लामा परीक्षणमा रूपमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम लागू गरेको छ । कैलालीमा गत जेठमै स्थानीयले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा पाउन थालेका छन् । कार्यक्रमका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनीले कैलालीमा करिब ७ हजारले बिमाको सेवा लिइरहेको जनाए ।

बाग्लुङमा पनि यो कार्यक्रमा बुधबारदेखि सेवा लिनेको संख्या १ हजार ५ सय हाराहारी छ । ‘अन्य जिल्लाको तुलनामा इलामबासी सेवाग्राहीको उत्साह निकै देखियो,’ उनले नागरिकन्युजसँग भने,’ ‘सुरुमा चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण, जनशक्ति, दक्षता, औषधिलगायतको कमीले सोचेअनुरूप सेवा दिन मुस्किल रहेपनि क्रमसः यो अवस्था सुध्रिने छ ।’ उनले सरकारले यो कार्यक्रमलाई प्राथमिकतासाथ सञ्चालन गर्ने भएकाले सेवा प्रभावकारी बन्दै जाने बताए । चालू आर्थिक वर्षमा यो कार्यक्रम २५ जिल्लामा विस्तार गर्न सरकारले २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको स्वास्थ्य बिमा कार्यक्रम आर्थिक र सुविधाका हिसाबले सर्वसाधारणलाई प्रभावकारी देखिएपनि जिल्लादेखि गाउँस्तरसम्मका स्वास्थ्य संस्थामा जनशक्ति, औषधि, उपकरण र स्वास्थ्यकर्मीको क्षमता विकास हुन नसक्नु प्रमुख चुनौती छ । प्याङस्थित प्राथमिक स्वास्थ्य केन्द्रम चिकित्सक छैनन् ।

यहाँ हाजिर भएको ३ महिनापछि चिकित्सक सरुवा भएर पुनः आएका छैनन् । जिल्लामा अहिले करिब दर्जन असिस्टेन्ट हेल्थ वर्कर र २ दर्जन अनमीको पद रिक्त छ । कतिपय प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे, भिडियो एक्स–रे, इसिजीलगायत उपकरण नै नभएको कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख राजकुमार पोखे्रलले निःशुल्क वितरण गरिने औषधि पर्याप्त मात्रामा जिल्ला आइनपुग्नु वर्षाैंयताको समस्या नै रहेको बताए ।

स्वास्थ्य संस्थामा भएका उपकरण प्रयोगबारे चिकित्सकको क्षमता अभिवृद्धि गर्न नसक्नु अर्काे चुनौती रहेको उनको भनाइ छ । तर, स्वास्थ्य बिमा कार्यक्रम सुरु हुँदाताका (गत असार) यता पूर्वाधारमा पनि सुधार आउने संकेत देखिएकाले बिमा कार्यक्रम लागू गर्न समस्या कम हुँदै गएको पोख्रेलले बताए । ‘अस्ति कार्यक्रम सुरु हुँदा जति समस्या थियो, अहिले धेरै ठाउँमा सुधार आइसकेको छ,’ उनले भने, ‘आवश्यक कर्मचारीको व्यवस्था गर्न लोकसेवा आयोगले पनि तयारी गरिरहेकाले अहिलेभन्दा स्वास्थ्य सेवा प्रभावकारी बन्ने छ ।’ चुनौती समाधान गर्न सके स्वास्थ्य बिमा कार्यक्रम आर्थिक अवस्था कमजोर रहेका परिवारका लागि लाभदायी रहेको उनको भनाइ छ ।
 

यसरी हुन्छ स्वास्थ्य बिमा

 स्वास्थ्य सेवामा गुणस्तर कायम गर्न, स्वास्थ्यमा सबैको पहुँच पु¥याउन र वित्तीय साधनको समतामूलक परिचालनलगायत उद्देश्य राखेर सरकारले बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमअन्तर्गत १ परिवारले बर्सेनि २ हजार ५ सय रुपैयाँ तिरी स्वास्थ्य बिमा गर्न सक्नेछन् । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार ५ सदस्य रहेको परिवारलाई यसको आधार मानिएको छ । त्यसवापत् परिवारले सरकारी स्वास्थ्य संस्थाहरूमा वर्ष दिनभित्र ५० हजार रुपैयाँबराबरको सेवा निःशुल्क पाउने छन् ।

परिवार संख्या ५ भन्दा बढी भए  प्रतिव्यक्ति थप ४ सय २५ रुपैयाँ तिरेर बिमा गराउन सकिने छ । त्यसवापत् जनही १० हजारका दरले परिवारले बढीमा १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउने व्यवस्था छ । फाराम भरेको ३ महिनापछि बिमितले सेवा पाउन थाल्छन् । तर, बिमा गर्दा बुझाएको रकम वर्षदिनमा कसैको उपचार गर्नु नपरे फिर्ता चाहिँ हुँदैन । अर्काे वर्षका लागि बिमा गर्न चाहनेले पुनः त्यति नै रकम तिर्नुपर्छ ।

पहिलो चरणमा अस्पताल र स्वास्थ्य केन्द्रहरूमा मात्र यसअन्तर्गतको सेवा दिइने छ । सेवाग्राहीले कुन स्वास्थ्य संस्थामा सेवा लिने हो त्यसको नाम फाराममै उल्लेख गर्नुपर्ने छ । त्यहाँ उपचार नहुने बिरामीलाई त्यही इकाईले सम्बन्धित संस्थामा रेफर गर्नेछ । ४० वर्षमाथिका विमितको स्वास्थ्य जोखिम परीक्षण भने नजिकैका स्वास्थ्य चौकीमै उपलब्ध गराइने छ ।

कार्यक्रमका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले अर्काे केन्द्र वा अस्पताल जानुपरे ५० प्रतिशत रकम चाहिँ सेवाग्राहीले नै बेहोर्नुपर्ने बताए । बिमामा दर्ता भएपछि बहिरंग, प्रयोगशाला, एक्स–रे, साधारण चिरफार, मधुमेह, प्रजनन स्वास्थ्य, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, अक्सिजन र स्वास्थ्य जोखिम परीक्षणलगायत सेवा पाइने छ । दुरुपयोग हुनसक्ने मध्यनजर गरी गर्भपतन, सौन्दर्य बढाउने, कृत्रिम अंग प्रत्यारोपण, लिंग परिवर्तन, अल्जाइमर, मादक पदार्थले निम्त्याएका घटनालगायतमा भने बिमा कार्यक्रमअन्तर्गत उपचार सेवा नदिने लोहनीले बताए ।

कैलालीमा गत जेठदेखि स्थानीयले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा पाउन सुरु गरेपनि स्वास्थ्य संस्थाहरूसँग समन्वय कम हुँदा केही समस्या आएको थियो । कतिपय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पदपूर्ति नहुँदा सेवा दिन गाह्रो भएको लोहनीको भनाइ छ । कतिपय अवस्थामा दिइने सुविधाभन्दा नागरिकको आशा बढी हुने गरेकाले पनि कहिलेकाहीं समस्या निम्त्याउने उनको अनुभव छ ।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App