coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुखमा माओवादीका अधिकारी

प्रदेश–४ को सभामुख बनेका नेत्रनाथ अधिकारीलाई बिहीबार प्रदेशसभामा बधाई दिँदेै । तस्बिरः उमेश पुन

सन्तोष पोखरेल/विशन क्षेत्री
पोखरा – प्रदेश ४ को पहिलो सभामुखमा माओवादी केन्द्रका सदस्य नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन्। बिहीबार बसेको प्रदेशसभाको बैठकले अधिकारीलाई सर्वसम्मत तरिकाले सभामुखमा चयन गरेको हो। सभामुखमा अधिकारीको मात्र उम्मेदवारी परेको थियो। 

वाम गठबन्धनको सहमतिअनुसार अधिकारीलाई माओवादी केन्द्रले सभामुखमा प्रस्ताव गरेको थियो। अधिकारीलाई सभामुख बनाउन माओवादी केन्द्रका प्रदेश–४ का संसदीय दलका नेता हरिबहादुर चुमानले गरेको प्रस्तावलाई एमालेका प्रदेश संयोजक किरण गुरुङले समर्थन गरेपछि अधिकारी सभामुखमा चयन भएको घोषणा बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका थिए । नवनिर्वाचित सभामुख अधिकारीलाई शुक्रबार बिहान प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ खुवाउनेछन्।

प्रदेशमा स्थिरता, सुशासन र समृद्धि चाहिएको र त्यो पूरा गर्न अधिकारी सक्षम रहेको भन्दै सभामुखमा चयन गरेको प्रस्तावक चुमानले बताए । ‘प्रदेशमा स्थिरता चाहिएको छ । प्रदेशलाई समृद्ध बनाउन आवश्यक छ,’ अधिकारीलाई सभामुखमा प्रस्ताव गर्दै चुमानले प्रदेशसभामा बैठकमा भने, ‘जस्तोसुकै चुनौती पनि सामना गर्न सक्ने क्षमता अधिकारीमा भएकाले सभामुखका लागि उपयुक्त देखेका छौं ।’ अधिकारीलाई समर्थन गरेका एमालेका प्रदेश संयोजक किरण गुरुङले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने उद्देश्यले निर्वाचनमा गठबन्धनअनुसार सभामुखमा समर्थन गरेको बताए।

सभामुख चयन भएपछि अधिकारीले संविधानले व्यवस्था गरेअनुसार सबै राजनीतिक दल र  प्रदेशसभाका सदस्यको सहयोगमा संघीयता र प्रदेशलाई सफल र समृद्ध बनाउने बताए । संविधानको व्यवस्था अनुसार कानुन पास गरेर सबल र सक्षम प्रदेश बनाउन आफू लागिपर्ने उनले बताए । समाजवादको बाटोमा अघि बढ्दै त्यसको नेतृत्व गरेर प्रदेशलाई समृद्ध बनाउन आफूले भूमिका खेल्ने उनले बताए। 

‘सभामुख साझा पद हो । यसमा सत्तापक्ष र विपक्ष भन्ने हुँदैन । सबैको साझा पद भएकाले त्यहीअनुसार अघि बढ्नुपर्छ,’ उनले भने, ‘संविधानले दिएको अधिकारअनुसार सहजीकरण गर्दै सबै राजनीतिक दलसँग मिलेर समृद्ध प्रदेश बनाउनमा मेरो योगदान हुनेछ ।’ अहिलेसम्मको सक्रिय राजनीति छाडेर अब सामान्य ढंगले जीवन बिताउने पनि उनले बताए। अधिकारीले पार्टीका सबै पदबाट राजीनामा दिएर सबै दलको साझा व्यक्तिका रूपमा जिम्मेवारी सम्हाल्ने बताए। अधिकारी पर्वत (क)बाट प्रदेशससभा सदस्यमा निर्वाचित भएका थिए। 

बिहीबारको बैठकले सभामुख चयनसँगै आगामी आइतबार अर्काे बैठक आव्हन गरेको छ । प्रदेशसभाको बिहीबार दोस्रो बैठक थियो । आगामी आइतबार हुने बैठकले उपसभामुख चयन गर्नेछ। सभामुख चयनसँगै प्रदेशसभाका दुईवटा बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य जनकलाल श्रेष्ठ जिम्मेवारीबाट मुक्त भएका छन् । २ वटा बैठक सञ्चालन गर्ने जिम्मा पाउँदा आफूलाई खुसी लागेको श्रेष्ठले बताए। 

‘प्रादेशिक संरचनामा गएको मुलुकको प्रदेशसभा चलाउने अवसर मलाई मिल्यो। यो मेरा लागि ऐतिहासिक अवसर हो,’ नवलपरासीबाट निर्वाचित सदस्य श्रेष्ठले भने, ‘प्रदेशसभा सञ्चालन गर्ने तरिकार र सदस्य साथीहरूसँग घुलमिल र परिचित हुने मौका मलाई यो सभाले दिलायो।’

शिक्षण छाडेर राजनीति
प्रदेश– ४ को पहिलो सभामुख बन्ने अवसर पाएका नेत्रनाथ अधिकारी पर्वतको कुश्मा नगरपालिका– १ पाङका स्थायी बासिन्दा हुन् । बुवा थगराज र आमा देवकलीको सन्तानका रूपमा २०२२ जेठ ३ मा उनी जन्मिएका थिए । राजनीतिमा जोडिनुपूर्व उनी शिक्षण पेशामा आबद्ध थिए । प्रविणता प्रमाणपत्रतहसम्म अध्ययन गरेका अधिकारीले २०३८ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका थिए।

उनले केही समय म्याग्दीको शिखामा रहेको खिवाङ प्रावि र पर्वतको पाङस्थित नुवार सुवेदीथर माविमा अध्यापन गरेका थिए । शिक्षण पेशामा लागेका बेला शिक्षक आन्दोलनमा सहभागी भएको आरोप लगाउँदै २०४१ सालमा सरकारले शिक्षण पेशाबाटै उनलाई बर्खास्त गरेको थियो। 

२०४६ मा नेकपा मसालको धौलागिरी अञ्चलको पूर्णकालीन कार्यकताका रूपमा क्रियाशिल भएका अधिकारी नेकपा माओवादीले जनयुद्धको कार्यदिशा लागू गरी शसस्त्र संघर्ष सुरु गरेपछि भूमिगत भएका थिए। 
वाम गठबन्धनको दरिलो साथले उनले पर्वत (क)बाट विजयी भए । प्रदेश ४ मा कुल ६० जना सांसद छन्। 

प्रकाशित: ४ फाल्गुन २०७४ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App