७ वैशाख २०८१ शुक्रबार
अर्थ

नोबेल अस्पतालले डेढ अर्ब लगानी थप्यो

नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा जडान गरिएका अत्याधुनिक उपकरण । तस्बिर : नागरिक

विराटनगर – न्युरोका बिरामीलाई लक्ष्य गरेर नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अत्याधुनिक न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याएको छ । डेढ अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको अत्याधुनिक उपकरणसहितको न्युरो सर्जरी सेवा दक्षिण–पूर्वी एसियामै पहिलो भएको अस्पतालको दाबी छ ।

यसले ठूलो धनराशी खर्च गरेर विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । स्वदेशमै कम खर्चमा न्युरोका बिरामीले उपचार पाएका छन् । न्युरोका बिरामीलाई उपचारको लागि विदेश जान नपर्ने गरी अत्याधुनिक प्रविधिसहितको सेवा सुरु गरेको नोबेल मेडिकल कलेज प्रबन्ध निर्देशक डा. सुनिलकुमार शर्माले बताए । ‘बिरामीको उपचार गर्न तीनवटा अत्याधुनिक शल्यकक्ष स्थापना गरेर सेवा सुरु गरेका छौं,’ शर्माले भने, ‘हामीले सुरु गरेको न्युरो सर्जरी सेवा दक्षिणपूर्वी एसियामै पहिलो हो ।’

अस्पतालले सुरु गरेको अत्याधुनिक न्युरो सर्जरी सेवा दक्षिण–पूर्वी एसियामै पहिलो भएको अस्पतालको दाबी छ । यसका लागि डेढ अर्ब रुपैयाँ लगानी थपेर उपकरण जडान गरिएको छ ।

मस्तिष्कको समस्याका लागि न्युरो स्विट, नसा तथा मेरुदण्डको लागि स्पाइन स्विट र टाउको तथा ढाडको प्वाल पारेर गरिने शल्यक्रियाका लागि मिनिमल इन्भेजिभ स्विटको व्यवस्था गरिएको शर्माले बताए । ‘उपचारमा अत्याधुनिक उपकरण प्रयोगमा ल्याएका छौं,’ शर्माले भने, ‘बिरामीलाई सहजताको लागि स्वदेशी र विदेशी चिकित्सकको संयुक्त टिमबाट उपचारको व्यवस्था मिलाउछौं ।’

नोबेलले अप्रेसन गर्दा प्रयोग हुने माइक्रोसिस्टम, पेन्टेरो नाइन हन्ड्रेड थ्रिडी एचडी माइक्रोस्कोप, सिमेन्स थ्री टेस्ला इन्ट्राअपरेटिभ ४८ च्यानल फंसनल एमआरआई, थर्मल इमेजिङ सिस्टम भएको अत्याधुनिक एमआरआई, सिमेन्स १२८ स्लाइस सिटी स्क्यान, मेट्रोनिक्स न्युरो नेभिगेसन गाइडेड सर्जरी, ओआर्म लगायत उच्च प्रविधिका उपकरण जडान गरेको छ ।

ती उपकरणले रोगको पहिचान र शल्यक्रिया गर्न निकै सजिलो हुने डा. प्रकाश काफ्लेले बताए । ‘अहिलेसम्म यहाँका अस्पतालमा उच्चस्तरीय प्रविधि नभएकाले बिरामी बाहिर गइरहेका थिए,’ काफ्लेले भने, ‘अब स्वदेशमै गम्भीर प्रकृतिको न्युरोसम्बन्धी उपचार गर्न सजिलो हुन्छ ।’

सर्जरी इन्ट्राअपरेटिभ एमआरआई भारतमा पनि नभएको डा. काफ्लेले दाबी गरे । ‘भारतको एउटा अस्पतालले राख्ने प्रस्ताव गरे पनि अहिलेसम्म राखेको छैन,’ काफ्लेले भने । अस्पतालले रोबोटिक आर्म पनि प्रयोगमा ल्याएको छ । जापानमा बनेको मिटाका आर्मले अपरेसन गर्दा बहुप्रयोगमा ल्याउन सकिन्छ । ‘हातले गर्ने सबै काम गर्छ,’ काफ्लेले भने, ‘हातले गर्दा अस्थिर हुन सक्छ । यो सर्जिकल रोबोटिक आर्म भएकाले शल्यक्रियामा सजिलो हुन्छ ।’ यसले सुरक्षित शल्यक्रिया सजिलो हुन्छ ।

पेन्टेरो नाइन हन्ड्रेड थ्रिडी एचडी माइक्रोस्कोपिकले शल्यक्रियामा सहज हुने उनले बताए । मेट्रोनिक्स न्युरो नेभिगेसन गाइडेडले दिमागको भित्री भागको बायोप्सी, सर्जरी गर्दा सजिलो हुने उनले बताए ।स्पाइन स्विटमा मेरुदण्डसम्बन्धी रोगको अत्याधुनिक उपचार गर्ने अस्पतालले जनाएको छ । त्यसका लागि अत्याधुनिक ‘ओ आर्म’ मेसिन जडान गरिएको छ ।

न्युरो स्विट शल्यकक्षमा इन्डोस्कोपिक र माइक्रोस्कोपिक विधिबाट एकैपटक शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाएको छ । माइस्क्रोस्कोपिकबाट मस्तिष्कको भित्री भाग र इन्डोस्कोपिकबाट मस्तिष्कको बाहिरी भागमा रहेको समस्याको शल्यक्रिया गरिन्छ ।

न्युरो स्विटमा रहेको आई ७ नेभिगेसनले एमआरआई र सिटीको चित्रलाई एकत्रित गरी एउटै छवि बनाउने डा. आइप चेरियनले बताए । चेरियनले शल्यकक्षलाई कम्युटर र उपकरणको सहायताले योजना बनाएर कमान्ड गर्ने बताए । ‘शल्य कक्षलाई कम्प्युटर र उपकरणको सहायताले कमान्ड गर्छौं,’ चेरियनले भने, ‘अब म्यानुअलबाट शल्यक्रिया गर्दा जस्तो असफल हुने सम्भावना हुँदैन ।’ शल्यक्रिया गर्दा उपकरण कुन ठाउँमा पठाउने, गलत बाटोमा गए, नगएको समेत कम्युरटबाटै अनुगमन हुने उनले बताए । ‘चिकित्सक गलत बाटोमा गए पनि मनिटरिङ रुमबाटै सच्याउन निर्देशन दिन्छौं,’ उनले भने, ‘यसले शल्यक्रियामा त्रुटि हुने सम्भावना निकै न्यून हुन्छ ।’इन्डोस्कोपिकमा नाकको प्वालबाट उपकरण छिराएर सफल शल्यक्रिया समेत गरिने अस्पतालले जनाएको छ ।

एमआर थर्मल इमेजिङबाट मस्तिष्क र ट्युमरको तापक्रम पत्ता लगाउन सकिने र अपरेसन गर्दा ट्युमर छुटे, नछुटेको पत्ता लगाउन मिल्ने भएकाले उपचारमा सहजता ल्याउँछ । अस्पतालमा शल्यक्रिया गरिरहेकै अवस्थामा एमआरआई गर्न पोर्टेबल एमआरआई मेसिन पनि जडान गरिएको अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए । ‘विगतमा शल्यक्रिया गरिसकेपछि एमआरआई कक्षमा लगेर बिरामीको भित्री अवस्था हेरिन्थ्यो,’ राईले भने, ‘अहिले शल्यक्रिया गरिरहेकै बेला एमआरआई मेसिनले हेरेर मात्र चिरफार गरेको ठाउँमा टाँका लगाइन्छ ।’ यो प्रविधिका कारण अब शल्यक्रिया गरेपछि भित्रै ट्युमर छुट्ने सम्भावना हुँदैन ।

बिरामीहरु उपचारको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको डा. प्रमोद चौधरीले बताए । ‘न्युरोमा उपचार गर्न भारतबाट पनि बिरामी आउने गरेका छन्,’ चौधरीले भने, ‘अब नेपालीहरु उपचारको लागि विदेश जानु नपर्ने गरी व्यवस्था मिलाएका छौं ।’ पूर्वी क्षेत्रमात्र नभएर पोखरा लगायत मुलुकका विभिन्न सहरका बिरामी विराटनगर आउने गरेका छन् । अस्पतातको न्युरो टिममा नेपालसहित भारत, रसिया, फिनल्यान्डका चिकित्सको समूह छ ।

 

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App