८ वैशाख २०८१ शनिबार
अर्थ

३६ बिन्दुले बढ्यो सेयर परिसूचक

काठमाडौं – बामपन्थीको सरकार बन्दा प्रायजसो घट्ने गरेको सेयर बजार यसपाली भने बढ्न पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएकै दिन बिहीबार बजार ३६.०१ ले बढेर नेप्से परिसुचक १४२४.९५ विन्दुमा पुगेको छ ।

नेप्सेले नयाँ सरकारलाई ग्रिन सिग्नल दिएको हो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि निरन्तर ओरालो गरेको सेयर बजार नयाँ सरकारको निर्माणसँगै उकालो लागेको हो ।ओली पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री बन्दा नेप्से परिसूचक १८ अंकले घटेको थियो । उक्त दिन नेप्से १८.१८ अंकले घटेर ११४३.४३ अंकमा आएको थियो ।

त्यसबेला बामपन्थी नेतृत्वको सरकार बनेको र भारतले नाकाबन्दी अझै कडा बनाउने मनोविज्ञान लगानीकर्तामा हाबी भएपछि नेप्से घटन पुगेको  एक बिश्लेषकको भनाइ छ  । ‘नेप्सेले कम्युनिस्ट नेतृत्वको सरकारलाई पत्याउँदैन थियो,’ उनले भने, ‘यसपालि भने ठिक उल्टो भएको छ, नेप्से बढेको छ।’
    
पहिलादेखि नै लोकतान्त्रिक सरकारको पालामा भन्दा बामपन्थी नेतृत्वको सरकारमा सेयर बजार घटेको इतिहास छ । २०६५ भदौ २ गते तत्कालीन नेकपा माओवादीको तर्फबाट पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार गठन हुने निश्चित भएपछि १०८४.७६ अंकमा रहेको नेप्से घटेर १०७५ अंकमा आएको थियो ।

दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका बाबुराम भट्टराईले सेयरबजारलाई जुवाघरको संज्ञा दिएका थिए । त्यो अभिव्यक्तिले बजारमा नकारात्मक असर पारेको थियो । त्यसको असर ५ वर्षसम्म परेको थियो । तर, अहिले भने उकालो लाग्ने संकेत देखिएको छ ।नयाँ सरकारले सेयर बजारमैत्री नीति ल्याउने मूल्यांकन लगानीकर्ताले गरेका कारण सेयर किन्न थालेको विश्लेषक बताउँछन् ।

यसअघि नै  ओलीले सेयर बजार तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका कारणले बिहीबारको बजार उकालो लाग्न पुगेको लगानीकर्ताहरु बताउँछन् । नेप्से सँगै कारोबार रकममा पनि सुधार आएको छ ।बिहीबार ६६ करोड ३९ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा दोब्वर भन्दा बढी हो ।

बिहीबार कारोबार भएका सबै समूहका सूचक हरिया भएका छन् । सबैभन्दा बढी बिमा समूह २१९ अंकले उकालो लागेको छ । सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । कुमारीको ३ करोड ५६ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।दोस्राेमा नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार भएको छ । इन्भेष्टमेन्टको ३ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता २२ रुपैयाँ कमाएका छन् ।

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App