८ वैशाख २०८१ शनिबार
अर्थ

किसानलाई उखुको ४० करोड तिर्न बाँकी

रौतहट – रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानलाई चार आर्थिक वर्षदेखिको करिब ४० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । उद्योगले किसानबाट किनेको उखुको मूल्य समयमा नतिर्दा उद्योगमाथि आर्थिक दायित्व बढ्दै गएको हो ।

उद्योगले किसानलाई गत तीन आवको करिब १८ करोड तिर्न बाँकी रहेकामा चालू आवको करिब २२ करोड रुपैयाँ थपिएपछि ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको हो । यसअघि गत मंसिरमा उद्योगले किसानलाई सात दिनभित्र उखुको भुक्तानी दिने वाचा गरेको थियो ।वाचाअनुसार केही रकम दिएपनि उद्योगले भुक्तानी दिने विश्वास बढेको थियो । उद्योग सञ्चालनमा आएपछि किसानले उखु दिएका थिए तर भुक्तानीमा ढिलाइ गर्दै उद्योगले किसानको उखु किन्दै जाँदा उद्योगमाथि दायित्व बढेको हो ।

उद्योग सञ्चालनमा आएपछि किसान संघको आन्दोलन र दबाबका कारण केही रकम भुक्तानी दिँदै आएपनि उद्योगले समयमा भुक्तानी नदिँदा किसानले पनि त्यत्ति उखु दिन नमानेको देखिएको छ । उद्योग सञ्चालनमा रहे पनि बारम्बार उखुको अभावमा बन्द हुँदै आएको छ । गत एक महिनादेखि उद्योगले किसानको भुक्तानी रोकेर राख्दा चालू आवमै उद्योगले किनेको उखुमध्ये २२ करोड रुपैयाँ तिर्न बाँकी देखिएको छ ।

चालू आवमा करिब साढे ६ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । करिब ३० करोड मूल्यको उखु किनेको उद्योगले आठ करोड तिरेको छ भने २२ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । विगत तीन वर्षको पनि उद्योगसँग १८ करोड बाँकी रहेकाले उद्योगले किसानलाई तिर्नुपर्ने रकम ४० करोड रुपैयाँ नाघेको देखिएको छ।

रौतहट उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले उद्योगले सात दिनको वाचा गरेर उखुको मूल्य तिर्ने वाचा गरेर केही हप्ता राम्रोसँग भुक्तानी दिएका थिए तर पछि भुक्तानी समयमा नदिँदा किसान मारमा परेको बताउँछन् । एक महिनादेखि उखुको भुक्तानी नदिँदा किसानले उद्योगबाट लिनुपर्ने भुक्तानी बढ्दै गएको बताउँदै अध्यक्ष यादवले किसानको रकम भुक्तानीका लागि दबाब र पहल दुवै गर्ने बताए ।

उद्योगका प्रमुख व्यवस्थापक हनुमानप्रसाद पाण्डेले चिनीको मूल्य सबैतिर घटेको र उखुको मूल्य बढेका कारण उद्योगलाई ठूलो मार परेको उल्लेख गर्दै किसानको भुक्तानी रोकिएकामा रकम आउनासाथ भुक्तानीको पहल गर्ने बताए । किसान संघले उद्योगबाट चिनीको भुक्तानी रोकेकाले रकम आउन नसक्दा भुक्तानीमा ढिलाइ भएको व्यवस्थापक पाण्डेले बताए ।किसानको उखुको मूल्यको भुक्तानी उद्योगले समयमा नगर्दा उद्योगले गरेको चिनी उत्पादनलाई गोदाममै रोकेको संघका अध्यक्ष यादवको भनाइ छ ।
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App