coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालय पठाउन ‘बैकल्पिक कक्षा’

बैकल्पिक कक्षा पढ्दै बिद्यालय छोडेका विद्यार्थीहरु ।

रोल्पा – त्रिबेणी २ नुवागाउँ बेरमखोलाका १३ बर्षीय बर्तमान विकले बिद्यालय छोडेको २ बर्ष भयो। ४ कक्षा पढेर स्कुल जान छोडेका उनीसंग बिद्यालय छोड्नुको कारण छैन्। घर परिवारको शैक्षिक माहोलका कारण उनले बिद्यालय छोडे। सोही गाउँका १२ बर्षीय भुपेन्द्र बिकले पनि बिद्यालय छोडेको धेरै भयो। लहलहैमा पैसा कमाउने शोखले दाङको एक होटलमा भाडा माझे। परिवारले खोज्दै जाँदा भेटाएर ल्याए पनि उनी स्कुल गएनन्। बेरमखोलाकै १३ बर्षीय देशकुमार बांठाले पनि ५ कक्षामा पढ्दा पढ्दै स्कुल छोडे। यिनीसंग पनि बिद्यालय नजानुको कुनै कारण छैन्। 

रोल्पामा अहिले पनि ठूलो संख्यामा बालबालिकाहरु बिद्यालय बाहिर छन्। गरिबीका कारण आमा बाबुसंग कामको खोजीमा उपत्यकातिरका इँटाभट्टा जानेदेखि बिभिन्न असहजताका कारण बिद्यालय जान छोड्नेहरु प्रशस्तै भेटिन्छन्। बैशाखमा भर्ना हुँदा स्कुलभरी हुने बिद्यार्थीहरु दशैंतिहार पछि बिस्तारै घट्दै जान्छन्। बार्षिक परीक्षाको समयमा त झनै बिद्यार्थीको खडेरी पर्छ। विद्यालय र परिवारले केटाकेटी स्कुल आउनु नआउनुमा चासो दिन छोडेपछि समस्या झनै बढेको हो।
‘कति त परिवारसंग इँटाभट्टा जान्छन भने कतिले पढ्ने चासो नै दिँदैनन्। केटाकेटी पनि त्यस्तै हामी पनि त्यस्तै, पढाईको महत्व नबुझेका छौं। पुस माघतिर त धेरै बच्चाहरु आमा बुवा संगसंगै काठमाडौंका इँटाभट्टा पुग्छन,’ त्रिबेणी २ नुवागाउँका वर्डा अध्यक्ष कबिराज बुढा भन्छन्, ‘हाम्रो गाउँपालिकामा अहिले १४ देखि १८ बर्ष सम्मका ७० जना जति स्कुल बाहिर रहेका भेटिएका छन भने ७ देखि १३ बर्ष सम्मका ६५ जना जति बाहिर छन। सबैलाई बिद्यालय पठाउने त हो तर समस्या छ।’ 

सरकारी निकाय र स्थानीय तहको समन्वयमा एक अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले गरेको सर्बेक्षणमा त्रिबेणी गाउँपालिकामा मात्रै करिब १ सय ४० बिद्यार्थी बिद्यालय बाहिर छन्। पछिल्लो समय उनिहरुलाई खोजेर सय दिनको बैकल्पिक कक्षा संचालन गरिएको छ। ‘सय दिनको कक्षा सुरु गरेका छौं। दैनिक ३ घण्टा पढाउछौं। आउँदो शैक्षिक सत्रबाट यिनीहरु स्तर अनुसारको कक्षामा भर्ना हुनेछन।’ सेभ द चिल्ड्रेनका ईन्द्र बडुवालले बताए। सय दिन बैकल्पिक कक्षा पढाएर उनीहरुलाई बिद्यालय पठाईने छ। बडुवालका अनुसार यहाँका ३६ बिद्यार्थीलाई अहिले ७ ठाउँमा कक्षा संचालन गरेर पढाइँदै छ। दुर्गम पहाडी भुभागका कारण कतिपय बालबालिकालाई भने समेट्न सकिएको छैन।’

१५ बर्षको जेठो छोरो भागेर पैसा कमाउन इँटाभट्टा गएपछि चिन्तामा रहेका स्थानीय शिबराज बिक आफू भने भारतमा मजदुरी गर्ने गरेको बताउँछन्। ‘हाम्रोतिर पढ्नुपर्छ भन्ने माहोल नै छैन। वरपरका सबै पैसा कमाउन गएको देख्छन अनि स्कुल छोडेर उतै लाग्छन। सबै उस्तै भएपछि केहि नलाग्दो रैछ,’ अर्को छोरो बैकल्पिक कक्षामा राखेका बिकले भने। ‘हाम्ले पनि सधै स्कुल पठाउन सक्दैनौं। घरको कामले कहिले कसो उनिहरुलाई स्कुल जान रोक्छौं।’

आर्थिक समस्याका कारण आमा बुवासंग बिद्यार्थीहरु इँटाभट्टा जान थालेपछि अभिभाबक लक्षित आय आर्जनको उपायमा सहजिकरण गर्ने सेभ द चिल्डे«नले बताएको छ। ‘स्थानीय तहसंगको समन्वयमा आय आर्जनका लागि अबिभाबकलाई आय आर्जन गर्ने काममा पनि सर्पोट गर्ने छौं,’ बडुवालले भने। त्रिबेणी गाउँपालिकामा जस्तै रोल्पाका धेरै ठाउँका बच्चाहरु इँटाभट्टा जाने वा अन्य कुनै कारणले बिद्यालय बाहिर छन्। बिगत लामो समय देखिएको यो समस्याका बारेमा सबै सरोकारवालाले समयमै ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित: ३ फाल्गुन २०७४ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App