७ वैशाख २०८१ शुक्रबार
विचार

महिला मुक्तिका चुनौती

दुनियाँमा जति ज्ञान, विज्ञान र प्रविधिको विकास भएको छ त्यसमा करिब नब्बे प्रतिशत योगदान पुरुषको छ किनकि महिलालाई पनि स्वतन्त्रता र शिक्षा दिइनुपर्छ भन्ने मान्यताको विकास भर्खर–भर्खरमात्र सुरु भएको छ। बल्ल अहिले आएर महिला पनि मेडम क्युरी जस्तो आविष्कारक, तसलिमा जस्तो विद्रोही, क्यामेला जस्तो साहसी र पारिजात जस्तो प्रगतिशील हुन सक्छन् भन्ने कुरा स्वीकार गर्न थालिएको छ।

इतिहासमा महिलामा विद्यमान अद्भूत क्षमता घरको पर्खाल नाघेर बाहिर निस्कन पाएन। महिला वर्ग दुनियाँ पढ्ने र बुझ्ने अवसरबाट वञ्चित पारिए। हाम्रो आधुनिक समयमा बल्ल महिला आंशिकरूपमा स्वतन्त्र भएका छन्। कानुन महिलाको पक्षमा छ। शिक्षा, स्वास्थ्य र सुरक्षाको पहुँच महिलासम्म पनि पुगेको छ। सचेत पुरुष पूर्णरूपमा महिला मुक्तिको पक्षमा वकालत गर्दैछन्। यस कारण अब नारीका लागि पनि परीक्षणको समय आएको छ। आफ्नो मौलिक क्षमताको विकास गर्दै सभ्य र सुसंस्कृत समाजको विकासमा योगदान दिने। महिला पुरुष जस्तो बन्ने होइन। महिला महिलाकै रूपमा उठ्न सक्नुपर्छ। आधुनिक महिलाको लवाइ, खुवाइदेखि भाषा र व्यवहारसम्ममा पुरुषपनाले कब्जा जमाउन खोज्दैछ। यो दुःखद् पक्ष हो।

स्त्रीका लागि ठूलो जिम्मेवारी छ। प्रेम, अहिंसा, सिर्जना, धैर्य आदि महिलाका प्राकृतिक गुण हुन्। आफ्नो गुणको विस्तारद्वारा उनले पूरा समाजलाई प्रेममय बनाउन सक्छिन्। हिंसा र अपराधको उन्मादमा रहेको समाजलाई अहिंसा र सभ्यताको बाटोमा डोर्‍याउन सक्छिन्। बच्चा जन्माउने र हुर्काउने गहन जिम्मेवारी महिलाले पाएका छन्। मनोवैज्ञानिकहरू भन्छन्– 'दश वर्षको उमेरमा बच्चाले जे सिक्छ त्यो ज्ञानले उसको सिंगो जीवनलाई प्रभावित पार्छ।' एउटी आमाले बच्चाको त्यो बालमनोविज्ञानमा प्रेम, अहिंसा, सद्भाव र सिर्जनाको छाप बसालिदिन सक्छिन्।

हिजोसम्म पुरुषले महिलालाई केवल मनोरञ्जनको साधनका रूपमा हेरे। बच्चा जन्माइदिने मेसिनका रूपमा प्रयोग गरे। तर आज बिस्तारै महिलाप्रतिको दृष्टिकोण फेरिएको छ। यस घडीमा महिलाले अब आफ्नो प्राकृतिक क्षमता, सिप र सिर्जनाको तीव्र विकास गर्नुपर्नेछ। तर लक्षण त्यस्तो देखिँदै छैन। महिला पुँजीवादी समाजको शिकार भएका छन्। स्त्रीलाई 'शारीरिक सौन्दर्य' मा सीमित राख्ने अनेकौं आधुनिक जालझेल र षड्यन्त्रलाई स्त्रीले ज्ञात वा अज्ञानताबस सहयोग गरिरहेका छन्। हिजो महिला जबर्जस्ती पुरुषको मनोरञ्जनको साधन बन्न बाध्य पारिएका थिए भने आज आफैं त्यस दिशामा उन्मुख छन्। यो महिला मुक्तिको सबैभन्दा ठूलो चुनौती बन्न सक्छ। यसबारे केही चर्चा गरौं।

महिलाको दैनिक घण्टौं समय 'मेक अप' को नाममा खर्च  भइरहेको छ। महिलाको समयलाई मूल्यहीन काममा पे्ररित गर्न सयौंखालका सौन्दर्य सामग्री बजारले उत्पादन गरेको छ। महिलालाई सो–पिसका रूपमा सजाउन विविध तरिका अपनाइएको छ। कारको सो–रुममा छिर्दा देखिन्छ, छोटो स्कर्ट लगाएकी चम्किलो शरीरमा सुसज्जित अर्धनग्न युवतीलाई कारको दुई 'साइड' मा उभ्याइएको हुन्छ। ठूला–ठूला रेस्टुरेन्ट र सपिङ मलहरूमा पुरुषको ध्यान खिच्न युवतीलाई यसरी नै प्रयोग गरिएको भेटिन्छ। डान्स बारमा छोटो वस्त्रमा खुलेकी युवतीलाई मदिरा मा लट्ठ पुरुषहरूको अगाडि नाच्न लगाइएको हुन्छ। महिलालाई शरीर र मनोरञ्जनको साधनका रूपमा सीमित राख्ने आधुनिक उपायस्वरूप यस्ता हर्कत अपनाइएको हो। महिलावादी आन्दोलनले यस्ता विषयको भण्डाफोर गर्ने कि नगर्ने?

विभिन्न नाममा हुने सुन्दरी प्रतियोगिताले स्त्रीको बौद्धिक विकासलाई होइन, स्त्री–स्त्रीबीचको शारीरिक सौन्दर्यको लडाइँलाई केन्द्रमा राखेको छ। सुन्दरी प्रतियोगिताको बिस्तार भएर आज जातिको सुन्दरी, धर्मको सुन्दरी, जिल्ला र क्षेत्रको सुन्दरी, तह र कलेजको सुन्दरी छान्ने चरणसम्म पुगेको छ। कथित सुन्दरी प्रतियोगिता, सुन्दरताको नाममा पुरस्कार र चर्चाको लोभ देखाउँदै स्त्री–स्त्रीबीच भिडाएर स्त्रीलाई साँघुरो सोचमा डुबाइराख्ने र उनको मनोविज्ञानलाई कमजोर बनाइराख्ने आधुनिक तरिका हो। महिलाले यो रहस्य बुझ्नुपर्छ।

आज कथित मोडल र अभिनेत्रीहरू नाङ्गा तस्बिर खिचाउन तछाडमछाड गरिरहेका छन्। यस्ता तस्बिरको गतिलोसँग प्रचार गरिएको हुन्छ। यही पाठ समाजका अरु महिलाले पनि सिक्छन्। यस्ता उत्तेजित क्रियाकलापले स्त्रीको स्त्रीत्व, गरिमा र विशिष्टतामाथि आँच पुर्‍याएको छ। पुरुषले यस्तै पत्रिका बढी हेर्छन् र स्त्रीलाई केवल शरीरका रूपमा बुझ्छन्।

खासमा पुरुषभन्दा महिला प्राकृतिकरूपमै सुन्दर हुन्छन्। त्यसैले थप सुन्दर बन्न पुरुषले मेहनत गर्नुपर्थ्यो महिलाले होइन। तर यहाँ उल्टो भइरहेको छ। महिलाको कमजोर मनोविज्ञानका कारण महिलाको दिनको घण्टौं समय सिँगार पटारका काममा खर्च भइरहेको छ। अरु घण्टौं समय घरायसी कामले लिएको छ। यस्ता अनुत्पादक काममा कतै महिलाको बाध्यता त कतै आफ्नै रुचिले राजनीतिक, साहित्यिक, वैज्ञानिक, आर्थिक, सामाजिक तथा दार्शनिक क्षेत्रमा महिला धेरै पछि परेका छन्। यसमाथि सकारात्मक विद्रोह गर्ने आँट महिलाले नगर्ने हो भने अवस्था यस्तै रहिरहन सक्छ।

प्रकाशित: ३२ श्रावण २०७३ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App