८ वैशाख २०८१ शनिबार
राजनीति

सीमामा छैनन् राज्यका सुविधा

उराठलाग्दो सीमावर्ती ठाढी बजार । तस्बिरः मिथिलेश

ठाढी – सीमा क्षेत्रमा ठूलो जनसंख्या बसोबास गरे पनि राज्यका तर्फबाट भने न्यूनतम सेवासुविधा प्रदान गरिएको छैन । प्रायः नाका क्षेत्रमा प्राथमिक तहभन्दा माथिका विद्यालय तथा भरपर्दो उपचार सेवा पाउने स्वास्थ्य संस्था छैनन् । 
भगवानपुर गाउँपालिकाको सीमावर्ती ठाढीका स्थानीय विद्युत महसुल बुझाउन लहान धाउनुपर्छ । ठाढीबाट १८ किलोमिटर टाढा लहान आउन महसुल रकमभन्दा बढी रकम बस भाडामै खर्च हुने स्थानीयको गुनासो छ । बस भाडा, रिक्सा भाडा गरी २ सय रुपैयाँ खर्च हुन्छ स्थानीय शिवशंकर साहले भने । ८० रुपैयाँ महसुल बुझाउन २ सय रुपैयाँ अतिरिक्त खर्च बेहोर्न बाध्य छौं, उनले भने । महसुल बुझ्ने काउण्टर राखिदिन पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनले भने।

यस क्षेत्रमा राम्रा स्वास्थ्य चौकी पनि नभएको स्थानीय बताउँछन् । ‘समान्य रुघाखोकीको उपचारका लागि पनि यहाँका स्थानीयलाई पारिकै भर पर्नुपर्छ । यहाँबाट ५ किलोमिटर उत्तर भगवानपुरमा प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, उपचारका लागि चाहिने दक्ष जनशक्ति र औषधि उपलब्ध नहुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य सेवा पाउन हैरानी खप्नुपर्ने बाध्यता सुनाउँछन् । यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य उपचारका लागि दुई विकल्प छ –कि पारि जाने कि लहान।

बैंक नहुँदा सास्ती 
भारतीय सीमासँग जोडिएको व्यापारिक नाका हो ठाढी । यो नाका भएर व्यापार फस्टाउँदो छ । तर, यहाँको बजार सुनसान छ । यसको एउटा कारण हो  बैंकिङ सुविधा नहुनु । यहाँ बैंक नहुँदा व्यापारी र स्थानीयवासीलाई सास्ती छ ।
सशस्त्र द्वन्द्वका बेला (१७ वर्षअगाडि) सीमावर्ती बजार ठाडीमा भएका नेपाल बैंकका शाखा हटाइयो । त्योबेला हटाइएको बैंक अझै पुनस्र्थापना भएको छैन । बैंक पुर्नस्थापना नहुँदा यस भेगका स्थानीय भारत र २० किलोमिटर टाढाका नेपाली बजारका बैंकमा कारोबार गर्न बाध्य छन् ।

द्वन्द्वका बेला असुरक्षाका कारण ग्रामीण क्षेत्रबाट प्रहरी चौकी विस्थापित हुन थालेपछि २०५८ सालताका ठाडी नेपाल बैंकको शाखा कार्यालय प्रहरी चौकी र भन्सार कार्यालय बिस्थापित गरिएको स्थानीय बताउँछन् । प्रहरी चौकी र छोटी भन्सार कार्यालय पुर्नस्थापना भए पनि बैंक स्थापना भएको  छैन।

ठाडीस्थित भन्सार कार्यालयका प्रमुख हिमालय दाहालका अनुसार, बैंक नहुँदा संकलन भएका राजस्व जम्मा गर्न हुलाकी मार्ग हुँदै १५ किलोमिटर टाढा मूल भन्सार कार्यालय माडर पुग्नुपर्छ । सुरक्षाकर्मी लिएर मूल भन्सार कार्यालयमा रकम जम्मा गर्दै आएको उनले बताए । बैंक स्थापना भइदिएको भए सहज हुन्थ्यो । भन्सारले मूल भन्सार कार्यालयमा सुरक्षा पहराम रकम जम्मा गर्दै आए पनि सर्वसाधारण सीमावर्ती भारतीय बैंकमा वित्तीय कारोबार गर्न बाध्य छन् ।
यो सास्ती सीमावर्ती ठाढीवासीको मात्र नभई माडरवासीको पनि हो । यहाँपनि द्वन्द्वका बेला विस्थापित भएको बैंक पुर्नस्थापना हुन सकेको छैन । 
ठाढीका व्यपारी दिलीप गुप्ता भन्छन्, ‘बैंक नहुँदा व्यपारमा लगानी थप्न सकिएको छैन ।’ लहानका बैंकले यहाँको व्यपारमा लगानी गर्न हचकिन्छ । ‘यहीं बैंक भइदिए व्यपारमा लगानी बढ्थ्यो । व्यपार फस्टाउँथ्यो । मानिसले रोजगार पाउँथे । यही नाकाबाट व्यपार गरेर बाहिरका बजार गुल्जार भए । तर, यो सहर लगानी अभावले उराठलाग्दो बन्दै छ,’ उनले भने ।
छैन गुणस्तरीय शिक्षा
आधारभूत विद्यालय ठाढी, विश्वासपट्टीमा प्रायः ताला झुन्डिएको हुन्छ । शिक्षक निर्धक्क भन्छन्, ‘यहाँ विद्यालय भवन छ, विद्यार्थी छैनन् । हाजिरी रजिस्टरमा मात्र विद्यार्थी छन्, कक्षामा उपस्थिति हुँदैन ।’ हाजिरी रजिस्टरमा अभिलेख भएका विद्यार्थी सबै सीमापारि (लौकाहा) को विद्यालयमा पढ्न जाने गरेको र उनीहरूको अभिलेख आफूहरुले राखेको यस विद्यालयका शिक्षकहरु बताउँछन् । विद्यालयको अभिलेखअनुसार विद्यार्थीको संख्या ४ सय विद्यार्थी छन् । तर, दैनिक चारजना पनि उपस्थित हुँदैनन्।

ठाढीका स्थानीय धर्मनाथ गुप्ता भारतीय विद्यालयमा छोराछोरी पढ्न पठाउनु रहर नभई बाध्यता भएको बताउँछन्। ‘गाउँको विद्यालयको पढाइ राम्रो बनाउन हामीले धेरै प्रयास ग¥यौं तर राजनीतिको अगाडि हाम्रो केही चलेन,’ उनले सुनाए। 

जबसम्म नेताहरूले असल मनसायले प्रयास थाल्दैनन् तबसम्म यहाँको शैक्षिक अवस्थामा सुधार हुन मुस्किल हुने उनी बताउँछन् । ‘नियमनकारीदेखि कारबाही गर्ने निकाय सबैले नेताका कुरा सुन्छन्, नेताजति सबै शिक्षकका संरक्षक छन्। हाम्रो गुनासोको वजनभन्दा नेताका कुराको वजन भारी हुँदोरहेछ अनि यो विद्यालयको शैक्षिकस्तर कसरी माथि उठ्छ,’ उनी भन्छन्।

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App