coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राजा बन्न चाहेका युवराजको ८३ वर्षमा निधन

कोपेनहेगन – राजाको उपाधी नदिइएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने डेनमार्ककी महारानी माग्रेथ द्धितीयका श्रीमान् राजकुमार हेनरिकको ८३ वर्षको उमेरमा निधन भएको छ ।

फ्रान्समा जन्मिएका विवादास्पद राजकुमार हेनरिकलाई जीवनका अन्तिम दिनहरू बिताउन अस्पतालबाट कोपेनहेगनस्थित फ्रेडेन्सबर्ग राजदरबारमा सारिएको थियो । फोक्सोमा संक्रमण भएपछि उनलाई गत महिना अस्पताल भर्ना गरिएको थियो । गत वर्ष उनलाई बिर्सने रोग डिमेन्सिया भएको पत्ता लागेको थियो।

हेनरिकको विवाह सन् १९६७ मा डेनमार्ककी राजसिंहासनकी उत्तराधिकारी राजकुमारी माग्रेथ द्धितीयसँग भएको थियो । विवाह भएको पाँच वर्षपछि माग्रेथ सन् १९७२ मा डेनमार्कको महारानी बनिन् । तर हेनरिकलाई महाराज बनाइएन, उनी राजकुमार नै रहिरहे ।  आफूलाई महाराजको साटो राजकुमारको उपाधिमै सीमित राखिएकोमा हेनरिकले आफ्नो असन्तुष्टि लुकाएनन् । उनको यस्तो असन्तुष्टिका कारण कतिपय डेनिस नागरिकले पहिचानको भोको घमण्डी मानिस भन्दै उनलाई मन पराउँदैनथे । डेनमार्कमा श्रीमान्ले सत्तारोहण गर्ने बित्तिकै श्रीमती महारानी हुने परम्परा भए पनि, श्रीमती महारानी हुँदैमा श्रीमान् महाराज बन्ने परम्परा छैन । तर कतिपय युवाहरुले भने राजकुमार हेनरिकको उक्त स्वभाव डेनिस समाजमा रहेको असमानता चिर्नका लागि प्रतिनिधित्व भएको  विश्वास गर्ने गरेका छन् ।

राजदरबारका अधिकारीहरूका अनुसार महारानी बराबरको सम्मान नदिइएको असन्तुष्टिका कारण गत वर्ष राजकुमार हेनरिकले महारानी माग्रेथ सँगै आफ्नो समाधि नगिरियोस् भन्ने चाहना व्यक्त गरेका थिए ।
७७ वर्षीया महारानीले पति हेनरिकको निर्णयलाई स्वीकार गरिसकेको बताइएको छ । महारानीको स्वीकारोक्तिसँगै राज दम्पत्तिलाई सँगै गाड्ने डेनमार्कको चार सय ५९ वर्ष लामो परम्परा तोडिने भएको छ ।
दरबारका एक प्रवक्ताले बताएअनुसार राजकुमार हेनरिकको देहान्त हुने बेलामा उनको छेउमा महारानी र युवराज फ्रेडेरिकसहित उनीहरुका दुवै छोरा उपस्थित थिए । राजकुमार हेनरिक र महारानी मार्गेथका दुई छोरा रहेको छन् । युवराज फ्रेडेरिक र राजकुमार जोआचिम ।

अन्तराष्ट्रिय ओलिम्पिक समितिका सदस्यसमेत रहेका युवराज फ्रेडेरिक बुबा विरामी भएपछि शीतकालीन ओलिम्पिक्समा सहभागी भएर दक्षिण कोरियाको प्युङ्चाङबाट फर्केका थिए ।‘प्रिन्स कन्सोर्ट’ अर्थात् ‘राजकुमार श्रीमान्’को उपाधि त्याग्दै राजकुमार हेनरिकले सन् २०१६ मा औपचारिक दायित्वबाट अवकाश लिएका थिए । अवकाशपछि अधिकांश समय उनी फ्रान्सस्थित निजी अंगुरको बगैंचामा बस्ने गरेका थिए । फ्रान्सेली लवजमा बोल्ने राजकुमार हेनरिकलाई खाना र वाइनप्रति उनको मोह र कविताका लागि चिनिन्थ्यो ।

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App