coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'समृद्ध प्रदेश बनाउँछु'

मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयमा । तस्बिर : सुरेश

जनकपुरधाम – संघीय समाजवादी फोरम नेपाल, प्रदेशसभा संसदीय दलका नेता मोहम्मद लालबाबु राउत गद्दी प्रदेश नम्बर २ को मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ उपधारा (२) बमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राउतले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

प्रदेशसभाको ठूलो दल संघीय फोरमका राउतलाई मुख्यमन्त्री बनाउन दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) ले साथ दिएको छ । यो प्रदेशमा सरकार गठनका लागि कुनै एक दलको बहुमत छैन । राजपाले राउतलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि दुई दल मिलेर प्रदेशसभा सरकार गठनका लागि बहुमत पुगेको छ। 

मुख्यमन्त्रीमा नियुक्त भएबित्तिकै राउतलाई एउटा गाडी र सुरक्षाकर्मी उपलब्ध गराइएको छ । बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि उनलाई झण्डावाल गाडी र संघीय सरकारको मन्त्रीसरह सुविधा प्रदान गरिने आन्तरिक मामिला तथा कानुन सचिव देवीराम भण्डारीले बताए । राउतलाई बिहीबार दिउँसो साढे १२ बजे प्रदेश प्रमुख कायस्थले सपथ ग्रहण गराउने कार्यक्रम छ । 

राउत प्रदेशसभा सदस्यमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन्। फोरम केन्द्रीय उपाध्यक्षसमेत रहेका उनले मुख्यमन्त्रीकै चाहना राखेर प्रदेशसभामा चुनाव लड्ने निर्णय गरेका थिए। 

५१ वर्षीय राउत पूर्णकालीन राजनीतिमा लाग्नुअघि प्राध्यापक र ‘हाकिमसाप’ भनेर चिनिन्थे । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा झन्डै २० वर्षसम्म प्राध्यापन गरेका उनी केही वर्ष तत्कालीन वीरगन्ज नगरपालिकाको अधिकृत  पनि भएका थिए ।   राउत २०५८ सालमा सरकारी जागिर त्यागेर सक्रिय राजनीतिक यात्रामा लागेका हुन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट राजनीतिक यात्रा सुरु गरेका उनी दोस्रो जनआन्दोलन र मधेस आन्दोलनबाट परिपक्व भएको  सहयात्री विजय यादव बताउँछन् । राउत सिंहदरबारको अधिकार गाउँमा ल्याउन आफू राजनीतिमा लागेको बताउँछन्। 

राउतले अंगेजी विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुन् । समान्य परिवारमा जन्मे–हुर्केका उनी बाल्यावस्थादेखि नै प्रगतिशील स्वभावका थिए । पर्सा जगरनाथपुरका स्थायी बासिन्दा राउत हाल वीरगन्ज–१३ मा बस्दै आएका छन् । मुस्लिम समुदायका भए पनि राउतको घरमा हिन्दु धर्मका देवीदेवताको पूजाआजा हुने गरेको छ । राउतले बुधबार मुख्यमन्त्रीको नियुक्ति लिनुअघि साइत हेरेर समय मिलाएको र बिहीबार शपथका लागि पनि साइत मिलाइएको समकक्षी एवं प्रदेशसभा सदस्य रामआशीष यादवले बताए । ‘उहाँ (राउत) आफैं हिन्दु धर्मप्रति पनि सद्भाव राख्नुहुन्छ’, यादवले भने। 

करिब दश बिघा जमिनका मालिक राउतका बाबु दशरथ र भाइ रामबाबु पूर्ण किसान हुन् । राउतका हजुरबुवा खलिफा थिए । मधेशमा खलिफा भनेको नामी पहलमान बुझिन्छ । तराईका यादव समुदायमा दुई पुस्ता अघिसम्म सबैजसो गाउँमा पहलमान हुन्थे । अहिले पनि तराई मधेसका कतिपय गाउँमा दीपावली र दसैं मेलामा पहलमानी (कुस्ती) प्रतियोगिताको चलन कायमै छ । ‘मेरो बुवा पनि खलिफा भनेर चिनिनुहुन्थ्यो । बाल्यावस्थामा हल्काफुल्का कुस्ती आफूले खेले पनि शिक्षातर्फको आकर्षणले आज मुख्यमन्त्रीसम्म भइयो’, उनले भने। 

‘समृद्ध प्रदेश बनाउँछु’
मुख्यमन्त्री नियुक्त भएपछि राउतले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहयोग लिएर अघि बढ्ने बताएका छन् । ‘विपन्न प्रदेशको उपमा पाएको प्रदेशलाई समृद्ध बनाउन मेरो प्राथमिकता रहनेछ’, उनले सञ्चारकर्मीसँग भने, ‘यसका लागि सबैको सहयोग आवश्यक छ ।’ उनले आफूले गल्ती गरे खबरदारी गर्न र राम्रो गरे प्रोत्साहित गर्न सञ्चारकर्मीलाई आग्रह गरे । उनले राजपाको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताए । प्रदेशसभामा ठूलो दलको हैसियतले फोरम नेतृत्वमा सरकार बन्न लागेको हो ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App