coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन हजार लगानीले ६० लाख पुर्यायो

जय हारतीमाँ च्याउ उद्योगमा कृष्णदास उलक । तस्बिर : नागरिक

बनेपा  – २०४६ सालको कुरा हो । पनौती–१०, खोपासीका कृष्णदास उलकले तीन हजार रुपैयाँको लगानीमा एक सयवटा बल (कन्ये जातको च्याउ खेती गरिने परालको पोका) मा च्याउ खेती गरे । त्यसबाट ३० हजार रुपैयाँ आम्दानी लिन उनी सफल भए ।

नसोचेको आम्दानीबाट हौसिएका उनले सोही वर्ष खेतीलाई विस्तार गर्दै एक हजारवटा बलमा पुर्याए । च्याउ उत्पादन पनि मज्जाले भयो । तर, काठमाडौं धाउँदासमेत उत्पादित सबै च्याउ बेच्न सकेनन् ।
‘खिचापोखरीमा कागती बेच्ने मधेसी व्यापारीले च्याउ किनिदिन्थ्यो । उसले दिनमा जम्माजम्मी १० किलो बेच्ने भएकाले केही मसँग र केही बलम्बुका किसानसँग लिन्थ्यो ।

उसले लिन नमानेको च्याउ फिर्ता ल्याएर धेरैपटक बनेपाको पुण्यमाता खोलामा फालेर घर फर्कन्थें,’ उलकले विगत स्मरण गरे ।हुनपनि आजभन्दा २८ वर्ष अघि च्याउ सेवनबाट मानव पोषणलाई पुग्ने फाइदाबारे पर्याप्त ज्ञान नपैmलिएको अवस्था थियो । साथै उपत्यकाका रैथाने नेवारबाहेक काँठमा च्याउ खाने समुदाय ज्यादै कम भएको अवस्थामा च्याउ खेतीमा हामफाल्नु दुस्साहस भएको उलक स्वीकार्छन् ।

‘च्याउखेती विज्ञ केशरीलक्ष्मी मानन्धरले बजारको अवस्था नबुझी एक हजार बलमा एकैपटक खेती नगर भन्नु भएको थियो । तर, सधैं भरि खेती किसानीमा नयाँ केही गर्ने हुटहुटी चल्थ्यो । उहाँको अर्तीलाई के वास्ता गर्थें र ?,’ उनले थपे, ‘त्यतिखेर एक किलो च्याउलाई एक सय २० रुपैयाँमा बेच्न सकिन्थ्यो । तर, दुर्भाग्य भनौं या के भनौं, एकै वर्षमा मेरो च्याउ खेतीको यात्रा नै टुंगियो,’ उलकले भने ।

पुख्र्यौली पेसा कपडा व्यापार भए पनि परिवारका जेठो छोरा उनी व्यापारभन्दा पनि खेती किसानीमै रमाउँथे । च्याउ खेतीले दिएको पीडालाई भुल्न उलकले ट्याक्टर हुँदै बस सेवा सञ्चालनलाई रोजे । तर, त्यस व्यवसायले १४ वर्षसम्ममा सोचेजति प्रगति हुन नसकेपछि खेती किसानीमै फर्कने निधो गरेको बताए ।

‘आगोले पोलेको घाउ, आगोमै सेकाएर निको पार्नुपर्छ’ भन्ने लाग्यो । ०६० मा फेरि च्याउखेतीमै फर्कने निर्णय गरेँ,’ उलकले भने, ‘गाउँकै एक सहकारीबाट ५० हजार ऋण लिएँ । खोपासी सहकारी संस्थाको जग्गा चार वर्षलाई भाडामा लिएर च्याउखेती र धानखेती गर्न थालें । त्यसपछि मलाई कहिल्यै पछाडि फर्कनु परेन,’ उलकले थपे ।

अघिल्लो पटक एक हजार बल राख्दा क्षति बेहोरेको हुँदा आठ सय बलमा खेती गर्न थालेका उनले पछिल्लो पटक बजार खोज्न काठमाडौं पुग्नै परेन । ‘च्याउ खानुपर्छ भन्ने चेतना बढेर होला, दिनको ५० किलोसम्म बनेपामै बिक्न थाल्यो । काठमाडौं जाने आवश्यकता नै भएन,’ उनले भने ।सहकारीको करार सकिएपछि आफ्नै र भाइहरुको जग्गामा केही वर्ष खेती गरेका उलक यतिखेर खोपासी बजार आसपासमै २२ रोपनी जग्गा भाडामा लिएर च्याउ खेती गरिरहेका छन् । यीनै जग्गामा साना–ठूला गरी ३० वटा प्लास्टिक हाउस बनाएका छन् ।

‘सबै हाउसमा गरी १७ हजार बल राख्न सक्ने क्षमता रहेको छ । बीउ राम्रो परेको खण्डमा तीन किलोसम्म एउटा बलबाट च्याउ टिप्न सकिएको छ । खोपासी फार्ममा टिपिएको च्याउ बनेपाको बजारमा बिहान पाँच बजेसम्ममा पुर्याउँदै आएको छु,’ उलकले भने ।

धेरै सचेत भएर खेती गरिराख्ने क्रममा एकपटक दुई हजार बलमा च्याउ नफल्दा नोक्सानीमा गएका उनले यतिखेर च्याउ खेतीको बल र प्लास्टिक हाउसको बिमा गराउन थालेका छन् । ‘अब हावाहुरीले प्लास्टिक हाउस उडाएको अवस्थामा या केही गरी च्याउ फलेन या रोगले सखाप पा¥यो भनेपनि बिमा भएकाले ढुक्क भएको छु,’ उनले भने ।

च्याउ खेतीमा केही समस्या आइहालेमा उलकले बाली संरक्षण अधिकृत देवराज अधिकारी र कृषि प्रसार अधिकृत कृष्ण धिताललाई सीधा सम्पर्क गर्दै आएका छन् । दुवै अधिकृतले हौस्याएको हुँदा जय हारतीमाँ च्याउ उद्योग कम्पनी दर्ता गरेर व्यावसायिक किसानको सूचीमा उभ्याएका छन् भने खेतीमा सफलता र आम्दानीमा क्रमशः वृद्धि हुँदै गएको उनको भनाइ छ ।‘कृषिबाट युवा लक्षित अनुदान ४० हजार रुपैयाँ र एउटा बल बनाउने मेसिन (बलर) पाएको थिएँ । तर, त्यो मेशिनमा पनि जनशक्ति लाग्ने भएकाले खासै फाइदा लिन सकेको छैन । बिमाको प्रिमियममा सरकारी १५ प्रतिशत अनुदानबाहेक अन्य सरकारी सहयोग पाएको छैन,’ उलकले भने ।

सुरुमा आफूमात्रै संलग्न रहेका उलकले पत्नी, एक्ली छोरी र ज्वाइँलाई पनि यही खेतीमा आवद्ध गराएका छन् । १५ जना महिलालाई रोजगारी दिएका छन् । बल बनाउन आवश्यक परालको भूसा सर्लाहीबाट झिकाउने गरेका छन् । च्याउको बीउ ठिमीबाट ल्याउने गरेका छन् । विगतमा केही समय खुमलटार नार्कबाट बीउ ल्याएपनि थोरैमात्र पाइने हुँदा निजी व्यवसायीसँग भर परेको उनी बताउँछन् ।

प्लास्टिक हाउस र अन्य सामग्रीका लागि सहुलियत दरको कृषि ऋणका लागि उलकले धेरै बैंक चाहारेका छन् । कृषकका लागि खोलिएको कृषि विकास बैंकले समेत पक्की घर र राम्रो जग्गा धितो भएमा ऋण दिन सकिने तर २५ लाख रुपैयाँभन्दा घटी हुन्न भन्ने सर्त तेस्र्याएपछि बैंकको ढोका चाहार्न छाडेर अन्ततः सहकारीबाटै २० लाख रुपैयाँ ऋण लिएको उनले बताए ।

‘एउटा किसानको सम्पत्ति भनेकै निर्वाहका लागि घर र केही खेतीयोग्य जमीन हो । तर, मसँग सफल च्याउ खेती परियोजना हुँदाहुँदै पनि बैंकले मागेजस्तो धितो नहुँदा बाध्य भएर धेरै ब्याजमा ऋण काढेको छु । कृषिको सहुलियत ऋण वास्तविक किसानभन्दा पनि नेताका आसेपासे र धेरै ठूला कृषि उद्योगलाई मात्रै हो भन्ने लाग्न थाल्यो,’ बैंकहरुको रबैयाप्रति गुनासो गर्दै उलकले भने ।

च्याउबाट कमाई भएको आम्दानीलाई यसैमा थप्दै खेती विस्तार गर्दै रहेका उलक भविष्यमा नेट हाउसमा मौसमी र बेमौसमी तरकारी फलाउने योजना बुन्दै रहेका छन् । योजनाको पहिलो चरणमा च्याउखेती रहेको फार्म नजिकै यस सिजनमा २५ सय बोट भक्तपुरे लोकल काँक्रो खेतीका लागि जग्गा भाडामा लिइसकेका छन् ।

‘हालसम्म ६० लाख रुपैयाँजति च्याउ खेतीमा लगानी भइसक्यो । अबको आम्दानीले काभ्रे र ललितपुरको सीमानामा दुई वर्षभित्रमा नयाँ तरिकाले तरकारी लगायत खाद्यान्नको खेती गर्ने अभियानमा छु । त्यस ठाउँमा नेट हाउसमा सकेसम्म अर्गानिक, सकिएन भने सुरक्षित खाद्य (सेफ फुड) उत्पादन गर्ने मेरो ठूलो इच्छा छ,’ उलकले थपे ।


 

प्रकाशित: ३ फाल्गुन २०७४ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App