coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेयर बजार लगातार दोस्रो दिन उँधो

काठमाडौं- आइतबारदेखि ओरालो लागेको सेयर बजार साताको दोस्रो दिन पनि ओर्लिएको छ। बजारलाई माथि पुर्‍याउन सधैं प्रमुख भूमिका खेल्ने बिमा, विकास बैंक र वाणिज्य बैंक समूहको सूचकांक ओरालो लागेपछि बजार झरेको हो।

सोमबार सुरुमा थोरै बढेको बजार दिउँसो १ बजेपछि लगातार ओर्लिएर बजार बन्द हुँदा नेप्से परिसूचक ७.१७ अंकले घटेर १,६१५.१० अंकमा आइपुगेको छ। बजारका ९ समूहमध्ये जलविद्युत र फाइनान्स समूहबाहेक अरु सबैको सूचक घटेपछि बजार ओर्लिएको हो।

कारोबार रकम घटेर सोमबार १ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भयो। पछिल्ला सातामा दैनिक अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ। बजार घटे पनि कारोबार रकममा सोमबार पनि बिमा समूह नै अगाडि छ। यस दिन बिमा समूहको ४९ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भयो।

बिमा समूह अन्तर्गत शिखर इन्स्योरेन्सको मात्रै सात करोड १८ लाख रुपैयाँको सेयर कारोबार भयो। त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको ६ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भयो।

सोमबार बिमा समूहको परिसूचक सबैभन्दा बढी १ सय २८.३४ अंकले ओरालो लागेको छ। उत्पादन समूहको ३६.३२, होटल समूहको १६.८१ र विकास बैंक समूहको ७ अंकले ओरालो लागेको छ। सेयर बजारमा बढी प्रभाव रहेको बैंक समूहको परिसूचक ४ अंकले ओरालो लागेको छ।

बैंकिङ समूहको कारोबार पनि सोमबार उल्लेख्य रह्यो। यो समूहको २२ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भयो भने विकास बैंक समूहको १७ करोड रुपैयाँ र जलविद्युत समूहको १५ करोड रुपैयाँको सेयर किनबेच भयो। जलविद्युत समूहको सूचक भने १७.०७ अंकले बढेको छ। यस्तै, फाइनान्स समूहको सूचक पनि २.९५ अंकले बढेको छ। सोमबार १ सय ३५ कम्पनीका १८ लाख कित्ता सेयर किनबेच भएको थियो।

कमाउने कम्पनी

राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापकले सेयरहोल्डरले प्रतिकित्ता ६५० रुपैयाँ कमाए। यसैले राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमोटर सेयर ७,१५० रुपैयाँमा कारोबार भयो भने नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि १६१ रुपैयाँ कमाए। नेकोको सेयर मूल्य १७७८ रुपैयाँ पुगेको छ। जेबिल्स फाइनान्सका लगानीकर्ताले २२ रुपैयाँ कमाए। यसको सेयर मूल्य २४७ रुपैयाँ पुगेको छ। यस्तै, युनियन फाइनान्सको मूल्य १६१ रुपैयाँ पुग्दा यसका लगानीकर्ताले सोमबार प्रतिसेयर १४ रुपैयाँ कमाए।

सिनर्जी फाइनान्सको सेयर मूल्य १३ रुपैयाँले बढेर १५० रुपैयाँ पुगेको छ भने आइसिएफसी फाइनान्सको मूल्य २१ रुपैयाँले बढेर ३१० रुपैयाँ पुगेको छ। साझा विकास बैंकको सेयर मूल्य पनि २० रुपैयाँले बढेर ३०० रुपैयाँ पुगेको छ। सानिमामाई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिसेयर ६० रुपैयाँ कमाए। यसको सेयर मूल्य बढेर ९३५ रुपैयाँ पुग्यो।

गुमाउने कम्पनी

सिन्धु विकास बैंकका लगानीकर्ताले प्रतिसेयर ४१ रुपैयाँ गुमाएका छन्। सिन्धुको सेयर मूल्य ४९९ रुपैयाँमा झरेको छ। यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८५ रुपैयाँ गुमाए। सूर्याको सेयर मूल्य १,१३५ रुपैयाँमा झरेको छ। एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि १२० रुपैयाँ गुमाउँदा सेयरको मूल्य घटेर १,९८० रुपैयाँ कायम भएको छ।

 

प्रकाशित: ७ असार २०७३ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App