६ वैशाख २०८१ बिहीबार
समाज

हुलाकी सडकले फेरिँदैछ देहात

वीरगन्ज – विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि साकार हुन लागेको छ ‘हुलाकी सडकको सपना’। माटो भरेर सम्याउदै हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, साबिकका खाँटी देहात (अबिकसित ग्रामिण क्षेत्र) बदलाव हुन थालेको छ। 

तराईका जिल्लाहरुको मुहार फेर्ने योजनाको रुपमा बिगत २ दशकदेखि अथ्र्याइदै आएको हुलाकीसंग जोडिएका परिकल्पनाहरु अब सार्थक हुने भएका छन्। ‘८० हजार रुपैया कट्टामा ग्राहक नभेंटिने मेरो गाउँको जग्गा अब ५ लाख रुपैया कट्टामा किन्ने ग्राहकहरुको भरमार छ,’ पर्साको सदरमुकाम वीरगन्जबाट करिब २५ किलोमिटर टाढाँ रहेको जितपुरका बासिन्दा रहेका जिल्लाका पुराना नेता मोहनलाल चौधरीले भने, ‘सडकको रुपरेखा मात्र बनेको छ, उपक्षित रहेका विकास नपुगेका गाउँहरुको अझ कालोपत्रे भएपछि साच्चिकै यस सडकले गर्दा भाग्य फेरिन लागेको छ।’ 

अग्रज पुस्ता उनी आफ्नै जीवनमा यो आमुल परिवर्तन हेर्ने पक्का भएको भनी दंग छन्। भारतीय सहयोगमा भारतीय निर्माण कम्पनी हैदरावादको भिसवा कन्सट्रक्सनले २०६८ मा बारा र पर्सामा हुलाकी सडक बनाउन लाग्दा सफल हुन सकेन। उक्त निर्माण कम्पनीले २ जिल्लामा १ सय १९ किलो मिटर सडक निर्माणको ठेक्का लिएको थियो। २०७१ मा भारतीय निर्माण कम्पनीहरु ठेक्का छोडेर भागेपछि अलपत्र परेको हुलाकी सडक योजनाको काम भारत सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले नै बनाउने सहमति भएर यतिखेर निर्माण कार्य थालिएको हो। 

सडक विभागले निर्माण गर्न लागेको वीरगन्ज–ठोरी सडकखण्ड अन्तर्गत वीरगन्जको प्रतिमा चोकदेखी सेढवासम्मको ३० किलोमीटर सडक कालोपत्रे गर्न ठेक्का पप्पु कन्स्ट्रक्सन प्रा.लि.र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्तले सम्झौता गरी काम थालेका छन्। सेढवादेखी ठोरीसम्म कालिका र बानिया कन्स्ट्रक्सन संयुक्तले सम्झौता गरेर काम थालेका छन्। 

अहिले ट्रेक खोल्ने काम सकिएर सडकको आधार निर्माण काम तिब्र पारिएको छ। खुलाईएको सडकमा यातायातका साधनहरु गुड्न सुरु भएका छन्। यसरी सडक निर्माणको काम अघि बढ्दै गर्दा हुलाकी सडकसंग जोडिएका गाउँहरुमा खुसियालीको नयाँ संचार पनि भएको छ। ‘मानिसहरुको जीवनस्तर यस सडकले गर्दा माथी उठ्ने छ, आवागम सहज भएपछि यातायातका साधन गुड्न थालेपछि आपसे आप ठाउँको विकास हुँदोरहेछ,’ सेढवाका शिक्षक ओमप्रकाश चौधरीले भने, ‘सडक तयार होस गाउँको तर तरकारी, दुध, माछा बजार लैजान सहज हुनेछ, ग्रामिण अर्थतन्त्र उठ्ने छ, अन्कन्टार ठानेर गाउँबाट पलायन भएकाहरु फर्किन आशा पनि पलाएको छ। र, अहिले निर्माण काम अघि बढीरह्दा यसको छाँटकाँट मज्जाले देखिएको छ।’ 

पृष्ठभुमी

हुलाकी राजमार्ग अन्तरगतको १ हजार ४ सय ४० किलोमिटर सडक भारतले बनाई दिन १० बर्ष अगाडी ४ जुन २००६ मा भारत सरकार र नेपाल सरकारबिच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारी अनुसार भारत सरकारले नेपाल सरकारबाट छनोट भएका १४४० किमी सडकहरुको डिजाइन, सुपरिबेक्षण र निर्माण तीन चरणमा सम्पन्न गर्ने र सो बापत लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने तय थियो। जस अनुसार बिभिन्न प्रक्रियापछि भारत सरकारकै सुपरिवेक्षणमा पहिलो चरणमा ६०७ किलोमीटर सडक निर्माण थालिएको थियो। 

सडक बिभागको अभिलेख अनुसार जग्गा प्राप्तिमा समस्या, स्थानीय अवरोध र ठेकेदारका लापरवाही लगायत कारणले ८९ किलोमिटर मात्र पहिलो चरणमा बन्न सक्यो। पहिलो चरण अन्तरगत बाँकी रहेको ५ सय १८ किलोमिटर सडकको पुरानो ठेक्का रद्द भएपछि भारतले नेपाललाई नै योजना कार्यन्यवन गर्ने गरी पाँच अर्ब भारतीय मुद्रा (नेपाली रुपैया ८ अर्ब) दिने २० फ्रेब्रुअरी २०१६ मा नयाँ समझदारी भएको थियो। सोही अनुसार अहिले नयाँ ठेक्का पट्टा भएर यतिखेर काम अघि बढ्दै छ। दोश्रो चरण अन्तर्गत ११५२.५ किलोमिटर सडकको बिस्तृत योजना खाका (डिपिआर) बनाउनेसम्म मात्र पुगेको छ। 

अहिले पर्सा, बारा र रौतहट जिल्लमा हुलाकी निर्माण कार्यन्यवन गराउने जिम्मा हुलाकी सडक योजनाको वीरगन्जस्थित कार्यालयले पाएको छ। ‘पर्सामा हुलाकी सडक योजन अन्तरगत प्रतिमा चोकदेखी ठोरीसम्म ६० किलोमिटर सडक २ प्याकेजमा बन्न लागेको छ। बारामा भने प्रतिमा चोकदेखी अडुवा खोलासम्म ३६ किलोमिटरको दुईटा प्याकेज छ। प्रतिमा चोकदेखी बरियारपुरसम्म २० किलोमिटरको एउटा र बरियारपुरदेखी अडुवासम्म १६ किलोमिटरको अर्को, त्यसतै रौतहटमा अडुवादेखी बागमतिसम्म १८.११ किलोमिटर,’ योजनाका प्रमुख रहेका डिभिजनल इन्जिनियर अनुठालाल पटेलले भने, ‘हुलाकी सडकमा चौतर्फी बराबर नभए पनि प्याकेज अनुसार फरक फरक भौतिक प्रगति छ, पर्सामा भने प्रतिमा चोकदेखी सेढवासम्मको प्याकेजमा राम्रो प्रगति देखिएको छ।’ 

बहुअर्वा चोक नजिक ५ सय मिटर सडकमा स्थानीयले मोअब्जा बढाउन माग गर्दै अवरोध गरेपछि काम हुन नसकेको उनले बताए। १५–१५ मिटर चौडाई भएको दुई लेन कालोपत्रे सडक बनाउने काम ३० महीनाभित्र पूरा गर्ने विभाग र ठेकेदार कम्पनीबीच सम्झौता छ। सबभन्दा जटिल मानिएको प्रतिमा चोकदेखि सेढवासम्मको खण्डमा काम थालेको निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका कार्यकारी निर्देशक सुमित रौनियारले आफूहरुले बेलैमान काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए। 

ग्रामिण भेगको विकासका लागि निकै महत्वपुर्ण मानिएको यो सडकबाट पर्साका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। संगसंगै यसले रौतहटदेखि चितवनसम्मलाई बैकल्पिक मार्गको रुपमा जोड्ने छ। बारा र रौतहटका सडक खण्डहरुको निर्माण पनि हुलाकी राजमार्ग योजनाभित्र छ। परियोजनाको प्राविधिक कन्सल्ट्याण्ट भारतीय कम्पनी नेशनल हाइवेज एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेडले सुपरीवेक्षण गरी रहेको छ। यसैबीच सोमबार नेपाल र भारतका सरोकारवालाको एउटा संयुक्त टोलीले योजनाकोनिर्माण कार्यको प्रगति बारे स्थलगत अनुगमन गरेको छ। 

साँसद हरिनारायण रौनियार, पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंह, भारतीय महावाणिज्यदुत बिसि प्रधान, हुलाकी योजना कार्यालय वीरगन्जका प्रमुख पटेल, प्रहरी उपरीक्षक गणेश रेग्मी, सशस्त्र प्रहरी बल सिमासुरक्षा कार्यालय पर्साका उपरीक्षक शान्तिकुमार कार्की र योजना सुपरिवेक्षण गरिरहेका प्राविधिक कन्सल्टेन्टहरु, पप्पु कन्सट्रक्सनका प्रमुख योजना इन्जिनियर इब्राहम जोसवा सहितको टोलीले योजना अनुगमन गरेको हो। 

प्रकाशित: २ फाल्गुन २०७४ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App