७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनसेलको नयाँ लोगो

काठमाडौं- एनसेलले नयाँ ब्रान्डको लोगो सार्वजानिक गरेको छ। एनसेल प्रालि र आजियाटा ग्रुप बर्हादबीच रिब्रान्डिङ घोषणा गर्दै एनसेल आजियाटा आवद्ध नयाँ लोगो सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

एनसेलको ८० प्रतिशत विदेशी कम्पनी रेन्होल्ड्स होल्डिङ्समा आजियाटाको एकल लगानी रहेको कम्पनीलेे अन्तर्राष्ट्रिय दक्षता तथा गुणस्तरीय सेवा दिँदै आएको बताएको छ। आधुनिक प्रविधि, नविनता र डिजिटलाइजेसनलाई आत्मसाथ गर्दै नेटवर्क विस्तार गर्ने र आफ्ना ग्राहकका लागि सञ्चार सुविधा अझै सुदृढ गर्न थप काम गर्दै आएको कम्पनीले दाबी गरेको  छ। त्यस्तै नयाँ प्रतिभाको विकास तथा दूरसञ्चार क्षेत्रमा नेपाली नेतृत्वको विकास गर्ने कार्यलाई गतिशील बनाएको बताएको छ।

रिब्रान्डिङसँगै देशका अति बिकट क्षेत्रमा सेवा विस्तार गर्दै लगिने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ। सो अवसरमा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले एनसेल एक मोबाइल नेटवर्क प्रदायकमा मात्र सीमित नभई नेपालकै व्यावसायिक नागरिक समेत भएको बताए। उनले भने, 'हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छौं।'

एनसेलले नेपाली उपभोक्तालाई जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी/थि्रजी जिएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरेको बताएको छ। त्यस्तै फोरजी/एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफ्नो मोबाइल सेटमै भिडियो स्ट्रिमिङ, संगीत, गेम तथा कारोबार गर्ने जस्ता फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव भएको जनाएको छ।

सन् २०१६ का लागि एनसेलले घोषणा गरेको १२ अर्बको पुँजीगत लगानीबाहेक एनसेलले उत्कृष्ट सेवा सञ्चालन सुनिश्चित गर्दै आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुँजीगत तथा सञ्चालन लगानी गर्ने घोषणा पनि गरेको छ।

एसियाको प्रमुख दूरसञ्चार समूहका रुपमा रहेको आजियाटाले दक्षिण एसियामा दीर्घकालदेखि सेवा प्रदान गर्दै आएको छ। आजियाटा श्रीलंका र बंगलादेशमा २० वर्ष पुरानो कम्पनी बनेको छ भने पाकिस्तान र भारतमा पनि लगानी रहेको कम्पनीले जनाएको छ। व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध रहेको भन्दै कम्पनी देशको ठूलो करदाताका रुपमा रहेको बताएको छ।

'दक्षिण एसियामा रहेको उपस्थितिले गर्दा आजियाटा एनसेललाई नविन डिजिटल तथा मोबाइल सेवामार्फत अवसरको लाभसँगै प्रगतिको पथमा लैजान प्रभावकारी अवस्थामा रहेको छ,' साइमन पर्किन्सले भने, 'आजियाटाको एसियालाई अगाडि बढाउने भिजनले उत्कृृष्ट कनेक्टिभिटी र प्रविधि समेटेको छ, यो सम्बन्धले नेपाली समुदाय तथा कर्मचारीको प्रगतिमा थप योगदान पुर्‍याउनेमा म विश्वस्त छु।'

एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ। गत चैत २९ देखि एनसेल आजियाटा ग्रुप बर्हादसँग आबद्ध भएको हो। एनसेललेे उच्चस्तरीय सेवाको सञ्जाल फैलाउँदै र अति विकट ठाउँका जनतालाई समेत सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै, देशको आर्थिक र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै आएको बताएको छ।

हाल कम्पनीले करिब १ करोड ४० लाख ग्राहकलाई सेवा दिएको र ४० हजार नेपालीलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिएको बताएको छ। एसियाको अग्रणी दूरसञ्चार समूहको रुपमा रहेको आजियाटा हाल १० वटा देशमा रहेको र ती देशका २९ करोड ग्राहकलाई सेवा प्रदान गरिरहेको कम्पनीले बताएको छ।

प्रकाशित: ३२ श्रावण २०७३ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App