७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जुमालाई राष्ट्रपतिबाट हटाउने सत्तारुढ दलको निर्णय

जोहान्नेसबर्ग– दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेसले राष्ट्रपति ज्याकोब जुमालाई पदबाट हटाउने निर्णय गरेको छ ।रोयटर्स समाचार एजेन्सीले विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार जुमाको राजनीतिक भविष्यलाई लिएर भइरहेको अनेकौं उपशंकालाई चिर्दै मंगलबार सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी)ले उनलाई राष्ट्रपति पदबाट हटाउने निर्णय गरेको हो ।

बहुपत्नी भएका  जुमा कुनै औपचारिक शिक्षा प्राप्त नगरेका परम्परागतवादी नेता हुन् । १०६ वर्षीय इतिहास बोकेको एएनसी दलको गत डिसेम्बर महिनामा भएको महाधिवशेनबाट कुनै बेला दक्षिण अफ्रिकाका सर्वमान्य नेता नेल्सन मन्डेलाले शासनमा ल्याउन चाहेका युनियन नेता तथा अधिवक्ता सिरिल रामापोसा पार्टी नेता निर्वाचित भएपनि जुमाले राष्ट्रपतिको पद त्याग गरेका छैनन् ।भ्रष्टाचारको अभियोग लागेका जुमाको राजनीतिक भविष्यबारे छलफल गर्न एएनसीका सय भन्दा वरिष्ठ नेताहरुले प्रिटोरियाको एउटा होटलमा १३ घण्टा बैठक गरेका थिए ।

रामापोसाले जुमाको उत्तराधिकारीका रूपमा अघि सारिएकी उनकी पूर्वपत्नी कोसाजाना द्लामिनी–जुमालाई पार्टी नेतृत्वका लागि भएको निर्वाचनमा झिनो मतान्तरले पराजित गरेका थिए । जसका कारण रामापोसालाई एक वर्षपछि हुने निर्वाचनको मुखमा पार्टी फुट जोगाउनका लागि अत्यन्तै अप्ठेरो भइरहेको छ ।

पार्टी बैठकमा व्यापक बहसपछि एएनसीले जुमालाई राष्ट्रपतिबाट फिर्ता बोलाउने निर्णय गरेको भए पनि दक्षिण अफ्रिकी स्थानीय सञ्चारमाध्यमका अनुसार ७५ वर्षीय जुमाले पार्टीको निर्णयविरुद्ध जोरी खोज्न सक्नेछन् । पार्टी निर्णयले संसद्बाट पदमुक्त हुनु पर्ने अवस्था आए जुमाले अपमान महसुस गर्नसक्ने र पार्टी निर्णय नमान्न सक्ने रोयटर्सले जनाएको छ ।

रामापोसाका एक विशेष दूतले जुमालाई राजीनामा दिन उनीसँग ४८ घण्टा रहेको जानकारी मध्यरातमा राज्य सञ्चालित प्रसारण संस्था एसएबिसीमार्फत गराएका थिए । एएनसीको उच्च स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार जुमाले आफू कतै नजाने बताएका छन् ।बैठकको बीचमै एएनसी नेता सिरिल रामापोसा बैठकस्थलबाट नजिकै रहेको जुमाको निवासमा गएको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

रामापोसा र जुमाबीचको छलफलमा तनाव र असहजता उत्पन्न भएपछि रामापोसा पेरोटोरिया नजिकैको बैठकस्थल फिर्ता भएका थिए ।‘जुमालाई फिर्ता बोलाउने बारे हामीले निर्णय ग¥यौं,’ स्रोतले बताएको थियो । पार्टीको अर्को स्रोतका अनुसार एएनसीका महासचिव एवं जुमाप्रति वफादार एस मागासुल, पार्टीको निर्णयबारे जानकारी गराउन मंगलबार बिहानै जुमालाई भेट्न गएका थिए ।

एक स्थानीय सञ्चारमाध्यमका अनुसार जुमाले राजीनामा दिन सहमति जनाए पनि त्यसका लागि तीन महिना आफूलाई पदमा बहाल राख्नुपर्ने शर्त राखेका थिए । रामापोसाले भने उनको उक्त आग्रहलाई अस्वीकार गरेका थिए । अर्को एक रिपोर्ट अनुसार जुमाले रामापोसालाई ‘जे मन लाग्छ गरे हुन्छ’ भनेका थिए ।

यस विषयमा जुमाको आधिकारिक भनाइ भने सार्वजनिक भएको छैन । उनका छोरा एडवार्डले भने एएनसीले औपचारिक घोषणा नगरेसम्म केही प्रतिक्रिया नजनाउने बताएको रोयटर्सले जनाएको छ । शुक्रबार जुमाकी एक पत्नी, तोबेका मादिबा–जुमाले, इन्स्टाग्राममा प्रतिक्रिया जनाउँदै जुमालाई एएनसीको निर्णयविरुद्ध नजान आग्रह गरेकी थिइन् । उनको पोस्टमा जुमाले आफू विदेशी हस्तक्षेपको शिकार भइरहेको मान्ने गरेको पनि लेखिएको छ ।

‘उनले जे सुरु गरेका छन् त्यो समापन गरेरै छोडछन् किनभने एटलान्टिक महासागरभन्दा बाहिरबाट आएको आदेश उनले स्वीकार गर्दैनन्,’ उनले बताएकी थिइन् ।एएनसीले उनलाई पदबाट हटाउन गरेको कैयौं प्रयाससँग जोरी खोज्दै र आफूलाई पदमा बहाली गरिरहनुपर्ने माग गर्दै जुमा पटकपटक अदालत गएका छन् र यसपालि पनि उनले एएनसीको निर्णय मान्नेमा आशंका व्यक्त गरिएको छ ।

सैद्धान्तिक रूपमा जुमाले राजीनामा दिने माग अस्वीकार गर्न सक्छन् । तर त्यसो गर्दा उनले यसै महिनाको अन्त्यमा दक्षिण अफ्रिकी संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा झनै विवाद र विभाजन बढ्ने कतिपयले टिप्पणी गरेका छन् । अफ्रिकी महादेशको आर्थिक सुविधासम्पन्न राष्ट्र दक्षिण अफ्रिकाको अर्थतन्त्र नौ वर्षीय जुमा कार्यकालमा धरासायी भएको छ । अनियन्त्रित भ्रष्टाचार र नीतिगत अनिश्चितताका कारण कैयौं बैंक तथा खानी कम्पनीहरु जुमाको कार्यकालमा लगानी गर्न अनिच्छुक रहँदै आएका छन् । तर गत वर्षको मध्य नोभेम्बर महिनादेखि जब रामापोसा एएनसीको मुख्य नेताका रूपमा उदाय, दक्षिण अफ्रिकाको अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको छ ।

जुमाले तत्काल पद छोड्नुपर्छ
दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेसले औपचारिक रूपमै राष्ट्रपति ज्याकोब जुमालाई देशका निमित्त  राजीनामा दिनु आग्रह गरेको छ ।पार्टी बैठकबारे मंगलबार गरिएको पत्रकार सम्मेलनका क्रममा अफ्रिकी नेसनल कंग्रेसका महासचिव एस मागासुलले पार्टीका अधिकाशं शीर्ष नेताले जुमालाई हटाएर पार्टीका नेता रामापोसालाई राष्ट्रपति बनाउनु पर्नेमा जोड दिएका छन् ।राजीनामाका बारेमा जुमाले केही नबोले पनि महासचिव एस मागासुलले बुधबारसम्ममा उनले प्रतिक्रिया जनाउने प्रतिबद्धता गरेको बताएका छन् ।

 

प्रकाशित: २ फाल्गुन २०७४ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App