७ वैशाख २०८१ शुक्रबार
कला

खोटाङमा संगीत सिकाउने साइनो

साइनो कला केन्द्र उदघाटन गर्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई । तस्बिर : दमन राई-नागरिक

खोटाङ–  गीत, संगीत र नृत्यको विकासका लागि खोटाङमा साइनो कला केन्द्रको स्थापना गरिएको छ । गीत, संगीत र नृत्य विद्याको अध्ययन एवं प्रशिक्षणको व्यवस्थाका लागि जिल्लाका पाँच युवाको पहलमा केन्द्र स्थापना गरिएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले मंगलबार कला केन्द्रको उदघाटन गरे । संगीत, नृत्य र अभिनयको अध्ययनका लागि जिल्ला छोडेर बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न कला केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

कला, संगीत, साहित्य र अभिनयलाई समेत एक ठाउँमा सिक्ने थलोको विकासका लागि जिल्लामै पहिलोपल्ट कला केन्द्र सुरु गरिएको हो । हाल संगीत र नृत्य सिकाइने कला केन्द्रमा केही समयपछि अभिनयसम्बन्धी प्रशिक्षणको व्यवस्था मिलाइने श्रेष्ठले बताए । ‘कला र संगीतका प्रतिभावान् व्यक्तिले अध्ययन र प्रशिक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्ने हाम्रो प्रमुख लक्ष्य हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘क्षमता भएका तर आर्थिक कारणले अन्यत्र गएर अध्ययन गर्न नसक्ने प्रतिभालाई हामी समेट्ने छौं ।’

नेपाली गीत-संगीत र साहित्यका क्षेत्रमा धेरै हस्ती जन्माइसकेको खोटाङमा संगीत, नृत्य, अभिनय सिकाउने संस्थाको अभाव रहेको अवस्थालाई चीर्दै साइनो कला केन्द्रले प्रभावकारी काम गर्ने जनाइएको छ । केन्द्र श्रेष्ठ, शुभचन्द्र राई, कुसुम आचार्य, युनिक साम्पाङ र भक्त विकको पहलमा स्थापना भएको हो । कार्यक्रममा गजलकार एवं गायिका संगीता थापाको एकल गीत र गजल वाचन कार्यक्रम राखिएको थियो ।

 

प्रकाशित: २ फाल्गुन २०७४ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App