coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गीतमा हराउँदैछ संवेदना र भावना


काठमाडौं
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो

वि.सं. २००३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘यात्री’ कवितालाई श्रोताले रुचाए । मानवीय संसारलाई भौतिवादका आँखाले हेर्ने राजनीतिज्ञ मोहनविक्रम सिंहले ‘यात्री’का बारेमा साहित्य संग्रहालयको एक आलेखमा लेखे, ‘यात्री कविताले मन्दिरमा गएर इश्वर खोज्ने धार्मिक सोचाइको विरोध गरेर मानिसको सेवामा जोड दिन्छ । देवकोटामा शरीरलाई नै विश्वको केन्द्रमा मान्ने जुन सोचाइ देखाप¥यो त्यो भौतिक जगतसितको प्रत्यक्ष सम्बन्धको परिणाम थियो ।’

अचेल यस्ता कवितामात्र हैन, संगीतमा बग्ने शब्दका गीतहरु पनि बन्न छाडेका छन् ।
कहीँ आफ्नै भँुमरीमा आफैं पर्यौ कि
कहीँ आफ्नै आँखाबाट आफैं झर्यौ कि
कालीप्रसाद रिजालको शब्द रहेको यो गीत जब अम्बर गुरुङले गाए । त्यो गीत फिल्म ‘जीवनरेखा’को लागि मात्र चर्चाको विषय रहेन । मानवीय भावना पोख्ने भएकाले आधुनिक धारमै पनि रुचाइए । तर अचेल त्यस्ता गम्भीर भावना बोल्ने गीत नबिक्ने बनेकामा रिजाल दुःखी छन् । ‘कोही कोही मात्र त्यस्ता गीत माग्न आउँछन्,’ उनले एक कार्यक्रममै गुनासो गरे, ‘नत्र माग्न आउनेले बजारमा चल्ने खालको थाहा छ नि तपार्इंलाई भन्छन् ।’ आधुनिक धारका गीत माग्न आउने पुराना गायकमा नारायण गोपालको गीत रोजाइदेखि रिजाल आजित छन् ।

जब नारायण गोपाल गीत माग्न पुग्थे, उनी मनमनै डराउँथे । मन नपरेर च्यातिदिने पो हुन् कि केही भन्ने उनलाई तनाव हुन्थ्यो । कुनैबेला मन परेर दुइवटै गीत खल्तीमा हालेर जाने गरेको उनलाई सम्झना छ । नारायण गोपाल जस्तो गायक जसले छेउ मिलेका गितलाई मात्र गीत बनाएनन् । निबन्ध जस्तो गीत पनि हिट गराइदिए । जसको एउटै कारण हुन्थ्यो गीतमा भएको शब्दको मर्म ।

रिजालले अचेल चर्चाका लागि र केही कमाउन लागि लेखिने भएकाले पनि मर्मस्पशी भावका हराउँदै गएको अनुभव गरेका छन् । साधना र आत्मसन्तोष मिल्नेगरी काम गर्ने बेलामा संगीतज्ञको पूर्ति गर्ने खालका नयाँ पुस्ता नभएको आरोप उनको छ । कालीप्रसादकै शब्दमा नारायण गोपालले गाएको ‘केही मिठो बात गर’, ‘आँखा छोपी नरोउ भनी भन्नु पर्या छ’, ‘यस्तैगरि बिताइदिन्छु दुई दिनको जिन्दगी’ लगायतका कालजयी गीत अहिले पनि श्रोताको रुचिकम पर्छन् ।

नातीकाजीको संगीतमा तारादेवीको स्वर रहेको ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा’ बोलको गीतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द पनि मानवीय संवेदना ओतप्रोत छ । त्यस्तै, ‘मधुमासमा यो दिलको बाग, नफुलीकन उजाड भयो’ बोलको रत्नसमशेर थापाको जब नारायण गोपालले आफैले संगितबद्ध गरेर गाए तब यस गीतको ओज नै अलग  बनेको थियो । अम्बर गुरुङले नै गाएका ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला’ गीतको भावले मायाको दर्शनको मर्म बोल्छ । यस्ता गीत अहिले बन्नै छोडेको गीतकार चेतन कार्की बताउँछन् ।पछिल्लो पुस्ताका दीप श्रेष्ठको संगीत र स्वरमा र विप्लव प्रतीकको शब्द रहेको ‘हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि’ गीतले मानवीय जीवनकै झल्को दिन्छ । नेपाली समाजको जीवन सो गीतमा भेटिने श्रेष्ठ उल्लेख गर्छन् ।

राजेन्द्र थापाको गीतलाई संगीबद्ध गरेर अम्बर गुरुङले अरुणा लामालाई ‘पोहोर साल खुसी फाट्दा, जतन गरी मनले टाँले, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टाँले, यसपाली त मनै फाट्यो केले सिउने के ले टाल्ने हो’ गाउन दिए । अरुणा लामाको मसिनो स्वर सो गीतलाई सुहाउँदैन भनेर कतिले आलोचना पनि गरेका थिए । तर त्यस गीतले गुरुङलाई मात्र हैन गायिका लामालाई पनि उचाइमै पुर्यायो ।
गीतकार यादव खरेल पहिले र अहिलेको आधुनिक गीतको धार नै फरक भएको बताउँछन् । गीतको भावको मौलिक हुन पर्ने खरेलको धारणा छ । अहिलेका युवा वर्गको सोचले गीतलाई मार्गदर्शन गरेकाले पनि गीत सतही हुन थालेकोमा उनले चिन्ता जनाए ।

नारायण गोपालजस्तै गीतमा शब्द संगीतको संयोजन गराउन माहिर थिए गोपाल योन्जन । उनी गीत लिँदा वा लेख्दा जहिले पनि मानवीय संवेदनालाई खूब विचार गर्थे अनि मात्र संगीत भर्थे । उनको संगीत रहेको गीत उनले आफ्नो मित नारायण गोपाल र ज्ञानु राणालाई गाउन दिए । ‘मेरो जोवन लैजाउ’ बोलको युगल गीत । मानवीय जीवन दर्शनले ओतप्रोत यो गीत साह्रै रुचाइयो । यस्तै भावको ‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो’, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ’, ‘ए मलाइ माया गर्छु भन्नेह’ लगायतका गीतमा मानवीय जीवनदर्शन ओतप्रोत छन् ।

‘त्यो बेला गायक संगतकार र गीतकारबीच संयोजन हुन्थ्यो,’ सञ्चारकर्मी प्रकाश सायमी मर्मस्पर्शी गित नबन्नुको कारण खुट्याउँछन्, ‘अचेल गीत कतै सुनिन्छ अनि गाइन्छ अनि त्यसमा फेरि संगितकारबाट काटिन्छन् कसरी बन्छ सुन्दर गित ?’ यस्तोमा उनी बढी दोष संगितकार रहेको उनको भनाइ छ ।

‘इश्वर वल्लभको ‘हजार सपनाहरूको माया लागेर आउँछ’ भन्ने गीतलाई भक्तराज आचार्यले गाए तर यो गीत संगित भरियोस भनेर लेखिएको थिएन । तर त्यसको मर्म बुझेर संगित भरिँदा कालजयी बन्यो,’ सायमी भन्छन्, ‘अचेल गीतको हुक लाइन गीतकारलाई लेख्न लाउँछन् । बाँकी आफंैले पुच्छर भर्छन् अनि गीतकार र गीत दुवैको मर्म मर्छ ।’ सायमीका अनुसार छोटो र चल्ने खालको संगीत बनाउन खोज्दा लामा गीतमा संगीत भरिन छाडेको छ ।
 

प्रकाशित: २ फाल्गुन २०७४ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App