coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लगत संकलनमा भूकम्पपीडित नै छुटे

ललितपुर- केन्द्रीय तथ्यांक विभागले गरेको लगत संकलनमा करिब १ हजार ५ सय भूकम्पपीडित समावेश गरिएको छैन। ललितपुर जिल्लामा भूकम्पपीडितको परिचयपत्र पाएका तर राहत नपाएकालाई लगतमा समावेश नगरिएका कारण भूकम्पपीडित छुटाइएका हुन्। ती भूकम्पपीडितले अहिलेसम्म पनि राहतको १५ हजार र १० हजार रुपैयाँ पाएका छैनन्।

तथ्यांक संकलन टोलीले राहत रकम १५ हजार रुपैयाँ पाएको रसिदलाई आधार मानेर तथ्यांक संकलन भइरहेकाले राहत नपाएका भूकम्पपीडित समावेश गरिएको छैन। ललितपुरको लेले, झरुवारासी, ठेचो र चापागाउँका भूकम्पपीडित छन्। तीमध्ये चापागाउँमा २ सय ८८, लेलेमा ६ सय १९, ठेचोमा १ सय ५७ र झरुवारासीमा ३ सय ८७ जना भूकम्पपीडितको लगत संकलन गरिएको छैन।

यसबारे बज्रबाराही नगरपालिका कार्यकारी अधिकृत टेकराज पन्थीले आरोप लगाए, …तथ्यांक विभागले लगत संकलनमा सहकार्य गरेन।' उनले नगरपालिकाले वास्तविक भूकम्पपीडितको तथ्यांक पठाउँदा पनि विभागको सर्वेक्षण टोलीले जथाभावी तथ्यांक संकलन गरेकाले वास्तविक पीडित छुटेको बताए।

अधिकृत पन्थीका अनुसार विभागको टोलीले बज्रबाराही नगरपालिकाका सूचना अधिकारीले दिएको भूकम्पपीडितको सूची विवरण नपुगेको भन्दै फिर्ता पठाएका छन्।

परिचयपत्र पाएर पनि राहत रकम १५ हजार रुपैयाँ नपाएकी ललितपुर ताहाखेलकी कोपिला घिमिरेले तथ्यांक संकलन टोलीले आफ्नो तथ्यांक लिन नमानेको बताइन्। सरकारले वितरण गरेको पहिलो चरणको राहत रकम उनले लिएकी छैनन्। राहत वितरण गर्न आएको जिल्ला दैवी प्रकोप उद्धार समितिले रेडक्रस सोसाइटीलाई पहिलो चरणको राहत वितरण गर्न जिम्मा दिएको थियो। तर  रेडक्रस टोलीले कुनै पूर्वजानकारी बिना राहत वितरण गर्न आएकाले त्यस दिन आफू मेलापातमा गएकाले राहत लिन नपाएको बताइन्। त्यस्तै परिचयपत्र भएर पनि राहत नपाउने चापागाउँका अजय देसारको पनि तथ्यांक लिइएको छैन।

रेडक्रसले राहत वितरण गर्नुअघि कुनै जानकारी नदिएकाले मेलापत गएका, विदेश गएका र घर भत्किएर आफन्तकोमा गएका भूकम्पपीडित राहत लिनबाट छुटेका थिए। पहिलो चरणको राहत पाउन छुटेकाको तथ्यांक संकलन गरेर छिट्टै राहत दिलाउने प्रयास भइरहेको अधिकृत पन्थीले बताए।

भूकम्प गएको १५ महिनापछि ललितपुरमा साउन १० देखि भूकम्पपीडितको लगत लिन सर्भेक्षण सुरु भएको थियो। विभागले ललितपुरका ५ नगरपालिका र १९ गाविसमा भूकम्पपीडितको तथ्यांक संकलन गर्न ४२ दिन समय दिएको थियो।  त्यसै अनुसार भूकम्पप्रभावित आवास पुनर्निर्माण कार्य ललितपुरले नगरभित्र १ सय १ लगत संकलन टोली र १ सय १ जना सामाजिक परिचालिकासहित गाविसमा २ सयभन्दा बढी परिचालिका र टोली पठाएको छ।

अहिले छुटेकाको लगत संकलन फेरि लिइने भूकम्पप्रभावित आवास पुनर्निर्माण कार्य ललितपुरका निर्देशक राजेश धितालले जानकारी दिए। उनले टोलीबाट त्रुटी भएको स्वीकार्दै वास्तविक भूकम्पपीडितको तथ्यांक संकलन गरिने दाबी गरे।

लगत संकलन गर्न ललितपुर उपमहानगरपालिकामा २१ जना, कार्यविनायक नगरपालिकामा १० जना, गोदावरी नगरपालिकामा १५ जना, महालक्ष्मी नगरपालिकामा १९ जना, बज्रबाराही नगरपालिकामा १७ जना र गाविसमा २ सयभन्दा बढी कर्मचारी परिचालन गरिएको छ। अहिलेसम्म ५ हजारभन्दा बढी भूकम्पपीडितको तथ्यांक संकलन भएको छ।

जिल्लाका वास्तविक भूकम्पपीडितको सर्भेक्षण सकी विभागले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रतिवेदन दिएपछि छानबिनपश्चात् अन्तिम नामावली प्रकाशन गरेर पीडितलाई अनुदान वितरण सुरु हुने तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए। उनले लगत संकलनमा छुटेका वास्तविक भूकम्पपीडितको लगत संकलन दोहोर्‍याएर गरिने बताए।

प्रकाशित: ३२ श्रावण २०७३ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App