coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

बारा – संकटा क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई  ०–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेडले सेमीफाइनल सम्मको यात्रा तय गरेको हो।

खेलको १६ औं मिनटमा अमर डंगोलले गरेको एकमात्र गोल वीरगन्जको जितको लागि  निर्णायक बन्यो। विशाल राईको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले सम्हाल्न नसक्दा रिवाउण्ड बललाई डंगोलले गोलमा परिणत गरेका थिए। 

पहिलो हाफमा सम्हालिन नसकेको संकटा खेलको शुरुवातमै १–० ले पछि परेपछि वीरगञ्जले झन आक्रामक खेल खेलेको थियो। झण्डै ७ हजार घरेलु दर्शकको समर्थन पाएको वीरगञ्ज यूनाईटेडले पहिलो हाफमा संकटालाई दवावमा राख्यो। 

दोश्रो हाफमा लयमा फर्किएको संकटाले थुप्रै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा क्वाटरफाईनलमै चित्त बुझाउन बाध्य भएको छ। वीरगञ्ज यूनाईटेडको जितमा निर्णायक गोल गरेका कप्तान अमर डंगोल खेलको २४ औं मिनटमा घाइते हुँदै मैदानबाट बाहिरीएका थिए। डंगोलले सेमिफाईनल समेत गुमाउन सक्ने वीरगञ्ज यूनाईटेडका प्रशिक्षक सुलभ जंग राणाले बताए। उनको खुट्टामा चोट लागेको छ। 

खेलको म्यान अफ दि म्याच वीरगञ्ज यूनाईटेड क्लबका निशान लिम्बु घोषित भए। वीरगञ्ज यूनाईटेडको जीतसंगै सिमरा गोल्डकपको सेमिफाईनल समिकरण पुरा भएको छ। फाईनल प्रवेशका लागि वीरगञ्ज यूनाईटेडले विहिबार त्रिभूवन आर्मी क्लबको सामना गर्नेछ। बुधबार हुने पहिलो सेमिफाइनलमा रुस्लान थ्रिस्टार क्लबले मोरङ फुटबल क्लब विराटनगरसंग प्रतिस्पर्धा गर्नेछ। 

पराजयपछि साविक विजेता संकटाका प्रशिक्षक सल्यान खड्गीले टिम सेट नहुँदै खाएको गोल फर्काउन नसक्नु टिमका लागि दुर्भाग्य भएको बताए। पहिलो हाफमा गोल खाएपनि दोश्रो हाफमा थुप्रै अवसर गुमाएका कारण पराजय भोग्नु परेको बताए। पहिलो हाफमा खेलाडीबीच आपसी तालमेलको अभाव भएपनि दोश्रो हाफको प्रदर्शन सन्तोषजनक रहेको खड्गीले बताए। 

वीरगञ्ज यूनाईटेडका प्रशिक्षक सुलभजंग राणाले संकटा जस्तो शक्तिशाली टिमलाई पराजित गर्न गर्न सक्नु आफूहरुका लागि सुखद अवसर भएको बताए। टिमको जितमा निर्णायक गोल गरेका कप्तान डंगोल घाइते हुँदै मैदान बाहिरिएपछि दोश्रो हाफमा फिनिसिङ कमजोर देखिएको राणाले बताए।

प्रकाशित: १ फाल्गुन २०७४ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App