८ वैशाख २०८१ शनिबार
राजनीति

नेविसंघ निर्वाचन बुधबार

काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने भएको छ। साता लामो प्रयासपछि सार्वजनिक प्रतिनिधिको सूचीप्रति पार्टी नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएपछि माग सम्बोधन गर्न मंगलबारका लागि तोकिएको निर्वाचन एक दिन पछि सारिएको हो।

सभापति शेरबहादुर देउवा र नेता पौडेलबीच सोमबार भएको सहमतिअनुसार संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिने समय मंगलबार बिहान ११ बजेसम्मका लागि बढाइएको छ। मंगलबार हुने भनिएको निर्वाचन बुधबारका लागि सार्दै कोही प्रतिनिधि छुटेका भए उनीहरूलाई पनि समेटेर निर्वाचन गराउने सहमति छ।

'अनशनरत पक्षले पाएको भाग प्रत्येक जिल्लाबाट १० जना नबढ्ने गरी समावेश गर्ने दुई नेताबीच समझदारी भएको छ,' नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, 'नेतृत्व चयन प्रक्रिया एक दिन पर सर्ने छ।'

दुई नेताबीच भएको टेलिफोन संवादमा शनिबार सार्वजनिक ३ हजार ७ सय ६० प्रतिनिधिलाई कायमै राख्दै ३० जना महाधिवेशन प्रतिनिधिको सूची थप गर्ने सहमति छ। थपिएका प्रतिनिधिको सूचीसहित निर्वाचन समितिले मंगलबार बिहानसम्ममा अन्तिम नामावली प्रकाशित गर्ने छ।

'जेनुन साथीहरू छुटेका छन् भने समावेस गरेर जानेछौं,' पार्टी निर्देशक समिति संयोजक एवं केन्द्रीय सदस्य प्रकाशशरण महतले भने, 'अब डिटेलमा सूची करेक्सन सम्भव छैन।' असन्तुष्ट पक्षलाई प्रतिनिधि भागबन्डा गरेर सहमति गरेको पनि उनले सुनाए।

विधि र प्रक्रिया पूरा नभएकै कारण सबै पक्षलाई समेटेर निर्वाचनमार्फत नयाँ नेतृत्व चयनका लागि सहमतिमा प्रतिनिधि थप गरिएको जनाउँदै महतले नेविसंघमा आफ्नो पकड रहन्छ कि रहँदैन भन्ने चासोले विवाद लम्बिँदै गएको आरोप लगाए। 'पार्टी नेताको बढी चासो र चिन्ताले विवाद भएको हो,' उनले थपे, 'सभापतिजी जसरी भए पनि सहमतिमै चुनाव गराउने पक्षमा देखिनुभएकाले सबैलाई समेटेर अघि बढ्न एक दिन निर्वाचन सारिएको छ।'

शनिबार राति निर्देशक समितिले ३ हजार ७ सय ६० जनाको नाम सार्वजनिक गरेपछि पौडेल पक्षले त्यसप्रति असन्तुष्टि जनाउँदै नेतृत्व चयन प्रक्रियामा सहभागी नहुने जनाउँदै आएको थियो। निर्वाचन प्रक्रिया अघि बढ्न नदिन आइतबार पार्टी कार्यालय पुगेका पौडेलनिकट विद्यार्थीलाई प्रहरीले हस्तक्षप गर्दा ४३ जना घाइते भएको उनीहरूको दाबी छ।

अध्यक्षमा पाँचको उम्मेदवारी

नेविसंघ महाधिवेशन उद्घाटन भएको नौ दिनपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। बन्दसत्रबिनै निर्वाचन प्रक्रिया थालेसँगै नयाँ नेतृत्वका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार बिहान ११ बजेसम्म समय बाँकी रहे पनि संघको अध्यक्षका लागि सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला निकटको संयुक्त प्यानल बनेको छ। त्यसको नेतृत्व गर्दै नैनसिंह महरले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। उनको प्यानलबाट कुन्दनराज काफ्ले र सरोज थापाले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। यसअघि काफ्लेले सिटौला प्यानलबाट अध्यक्ष दाबी गर्दै आएका थिए।

पदाधिकारीसहित अन्य पदको टुंगो लाग्न बाँकी रहेकाले मंगलबार मात्र संयुक्त प्यानलको सूची तय हुनेछ। देउवा पक्षबाट संघको नेतृत्व दाबी गर्दै आएका जितजङ बस्नेतलाई पार्टी केन्द्रीय सदस्य मनोनयन गर्ने आश्वासन दिइएको स्रोतको दाबी छ।

अध्यक्षमा पार्टी नेता खुमबहादुर खड्कानिकट शुभराम बस्नेतका साथै लक्ष्मण आचार्य, नवीनसिंह ठकुरी र बेचन कार्कीको पनि उम्मेदवारी परेको छ। महामन्त्रीमा तीन, कोषाध्यक्षमा पाँचसहित सोमबार साँझसम्म १ सय ५ जनाले पदाधिकारीमा उम्मेदवारी दिएका छन्। अध्यक्षसहित १ सय २९ जनाका लागि हुने निर्वाचनमा साँझसम्म ४ सय ४३ को उम्मेदवारी परिसकेको छ।

पौडेल पक्षले भने मंगलबार बिहान ९ बजे उम्मेदवारी दिने तयारी गरेको छ। अध्यक्षमा मनोजमणि आचार्य र महामन्त्रीमा दीपक भट्टराईले उम्मेदवारी दिने निश्चितप्रायः भए पनि अन्य पदको टुंगो नलागेको पौडेल पक्षीय विद्यार्थीले बताएका छन्।

विद्युतीय मतदानको तयारी गरेको निर्वाचन समितिले मंगलबार पनि महाधिवेशन प्रतिनिधि परिचयपत्र वितरण गर्ने जनाएको छ। आइतबार झन्डै १ हजार ६ सय जनाले प्रतिनिधि परिचयपत्र बुझिसकेका थिए।

प्रकाशित: ३२ श्रावण २०७३ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App