८ वैशाख २०८१ शनिबार
समाज

शौचालयबिहीन खानेपानी कार्यालयलाई सुविधासम्पन्न भवन

सोमबारदेखि सञ्चालनमा आएको शौचालयसहितको खानेपानी समितिको कार्यालय भवन । तस्विरः महेश्वर


उदयपुर – उदयपुर सदरमुकामस्थित ‘त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)’ ले सुविधासम्पन्न भवन पाएको छ । ०५३ सालदेखि शौचालयवबिहीन र भूकम्पले भत्केको धराप घर भाडामा लिएर बस्दै आएको समितिले स्थापनाको २० वर्षपछि सुविधासम्पन्न पक्की भवन पाएको हो।

शौचालय नहुँदा विहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म घुँईचोका साथ आवतजावत हुने सार्वजनिक सरोकारको कार्यालय आउनेहरु शौचालयका लागि झाडी चाहार्न बाध्य थिए । नागरिकमा ‘खानेपानी तथा सरसफाई कार्यालय नै शौचालयबिहीन’ शीर्षकमा  दुईसाताअघि समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएलगत्तै डिभिजन खानेपानी तथा सरसफाई कार्यालय उदयपुरले समितिलाई भवन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

डिभिजनका प्रमुख इन्जिनियर (डिई) रामकुमार श्रेष्ठले डिभिजनकै निम्ति निर्मित भवन समितिलाई उपभोग गर्न दिने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता अनुसार त्रियुगा नरपालिका १० बोक्से रमाईलोडाँडामा निर्मित २ तले पक्की भवन समितिलाई उपलब्ध गराइएको हो । सोमबारदेखि समितिको कार्यालय सो भवनमा सारिएको समितिका कार्यबाहक अध्यक्ष ओमबहादुर खड्काले बताए । उनका अनुसार डिभिजन खानेपानीको स्वामित्वको सो भवनको भुई तला समितिलाई प्रयोग गर्न दिइएको छ ।

उदयपुरलाई ‘खुल्ला दिसामुक्त जिल्ला’ घोषणा गरेको माघ १३ गते २ वर्ष बितेर अहिले जिल्लामा ‘पूर्ण सरसफाई अभियान’ चलिरहेका बेला सदरमुकामकै खानेपानी कार्यालय शौचालयविहीन हुनुले डिभिजन खानेपानी कार्यालयको ध्यान तानेको श्रेष्ठको भनाई छ ।

३० जना बैठक बस्न मिल्ने सभाकक्षसहित भुँईतलाका ७ वटा कोठा समितिले पाएको समितिका सचिव सन्तोष खड्काले बताए । खड्काका अनुसार भवनभित्र २ वटा शौचालय र स्नानकक्ष तथा भवनबाहिर महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय भएकाले अव सेवाग्राही र कर्मचारीलाई सहज भएको छ । चौकीदार भवन, मोटर ग्यारेज र पार्किङ सुविधासमेत रहेको कम्पाउण्डवालसहितको २ कठ्ठा क्षेत्रफलमा निर्मित भवन भविष्यमा समितिकै स्वामित्वमा आउने गरी प्रक्रिया अघि बढाइएको छ । भवनको माथिल्लो तला भने हाललाई डिभिजन कार्यालयले आवासको रुपमा प्रयोग गर्ने जनाएको छ ।

डिभिजन सहरी विकास कार्यालयले ४ वर्षअघि निर्माण सुरु गरेको उक्त भवन निर्माण सकिएलगत्तै समितिलाई उपपलब्ध गराइएको डिई श्रेष्ठले बताए । १ करोड २३ लाख लागतमूल्यको उक्त भवन १ करोड रुपैंयामा शिवाजी कन्स्ट्रक्सनले निर्माण गरिदिएको सहरी डिभिजनका इन्जिनियर ब्रम्हदेव चौधरीले बताए । भवन निर्माणस्थलसम्म बाटो नभएका कारण निर्माण सामग्री ल्याउन असहज भएर २ वर्षमा सक्नुपर्ने भवन ४ वर्ष लागेको इन्जिनियर चौधरीले बताए ।

आउँदो चैतसम्ममा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता भए पनि सरसफाईसँग सम्बन्धित खानेपानी समिति नै शौचालयविहीन भएको समाचारले  गम्भीर ध्यान तानेकाले भवन चाँडो सकेर प्रयोग गर्न दिएको डिई श्रेष्ठले बताए । डिभिजन कार्यालयले अर्को विकल्प नभएसम्म एकतला आवास प्रयोग गर्ने र पछि सिंगो भवन समितिकै स्वामित्वमा दिने श्रेष्ठले बताए ।

त्रियुगा नगरपालिकाका ९, १०, ११ र १२ नम्बर वडाबासीका लागि सञ्चालित खानेपानी योजनाको जिम्मा पाएको समितिमा साधारण उपभोक्ता १ हजार ९ सय ३८ र संघसंस्था (सरकारी कार्यालयसमेत) २२ गरी १ हजार ९ सय ६० घरधुरीलाई धारा जडान गरिसकेकोछ । समितिका कोषाध्यक्ष किरण पाण्डेले भवन पाएपछि समितिलाई कामकाज गर्न, उपभोक्ताले महसुल बुझाउन र बैठक बस्न धेरै सहज भएको बताए ।
   

प्रकाशित: १ फाल्गुन २०७४ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App