८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि विकास बैंकको २०% बोनस सेयर

काठमाडौं – कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो।

सभाले पारित गरेबमोजिम बैंकले आव ०७३–७४ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने भएको छ । त्यस्तै नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिए बमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ।

जसअन्तर्गत बैंकले ०७४ असार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँलाई वार्षिक ६ प्रतिशतले हुने रकम ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश दिने भएको छ।

हाल बैंकको साधारण सेयर चुक्ता पुँजी सात अर्ब आठ करोड रुपैयाँ रहेको छ । जसमा २० प्रतिशत बोनस सेयरवापत एक अर्ब ४१ करोड र कर प्रयोजनका लागि १.०५३ प्रतिशतले हुने सात करोड ४६ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको हो।

हाल बैंकको नेपाल सरकारको अविमोच्य अग्राधिकार सेयर पुँजी पाँच अर्ब ४३ करोड गरी चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ कायम रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड रुपैयाँ पुग्ने छ भने साधारण चुक्ता पुँजी आठ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गत पुस मसान्तसम्ममा बैंकको निक्षेप रकम ९८ अर्ब १७ करोड ३४ लाख र कर्जा ९७ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । सो अवधिसम्ममा बैंकले एक अर्ब दुई करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आव ०७३÷७४ मा कुल कर्जामा निष्कृय कर्जाको अंश ४.६० रहेकामा गत पुस महिनामा कुल कर्जामा निष्कृय कर्जाको अंश ३.९५ प्रतिशत कायम रहेको बैंकले जनाएको छ।

प्रकाशित: १ फाल्गुन २०७४ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App