coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालमै विद्युतीय भ्यान उत्पादन

काठमाडौं- एक नेपाली कम्पनी र नेपाली इन्जिनियरकै पहलमा नेपालमा पहिलोपटक अटोरिक्सा (विद्युतीय मोटर) उत्पादन भएको छ। धनगढीस्थित एलएलबी इन्टरनेसल प्रालिले उक्त विद्युतीय मोटर उत्पादन सुरु गरेको हो। 

गत चैतमा उत्पादन अनुमति पाएको कम्पनीले शुक्रबारदेखि सडकमा गुडाउन मिल्ने अनुमतिपत्र यातयात व्यवस्था विभागबाट पाइसकेको छ। 'यातयातले शुक्रबारमात्रै अनुमतिपत्र दियो, अब चलाउँछौं,' विभागमा दोस्रो चरणको अनुमति लिन आएका प्रबन्धक ललित बलायरले भने।

यसअघि नेपाली बजारमा भारत र चीनबाट आयात गरिएका विद्युत्तीय टेम्पो भएकोले यो नयाँ स्वरुपको भ्यान नेपालमै पहिलो उत्पादन भएको कम्पनीले दाबी गरेको छ। 'यसअघि बजारमा आएका सबै भ्यान भारत–चीनमै उत्पादन भएका हुन्, हामीले पहिलोपटक बनाएका हौं,' सञ्चालक बलायरले भने। मंसिरदेखि उत्पादन सुरु गरेको कम्पनीले अहिलेसम्म १० वटा निर्माण गरिसकेको छ। प्रतिभ्यान ३ लाख ५० हजार रुपैयाँ बिक्री मूल्य हुने उनले जानकारी दिए। कम्पनीमा ७० लाख लगानी भएको छ।

पहिलोपटक नेपालमै जडान गरिएको यो भ्यान आयातितभन्दा भन्दा फरक रहेको कम्पनीले दाबी गरेको छ। 'भारवहन क्षमता पनि धेरै छ, स्वरुप पनि,' बलायरले भने।

उनका अनुसार भारत र चीन दुवै देशबाट भरपर्दो पार्टपुर्जा आयात गरेर भ्यान निर्माण गरिएको छ। भ्यानमा ११ जनाको सिट, ७ सय केजी भारवहन क्षमता, ब्याट्रीबाट चल्ने जस्ता विशेषता छन्। जुन यसअघि बजारमा रहेका भ्यानमा थिएनन्।

कम्पनीको उत्पादनबाट तराईका बजारका साना व्यवसायी तथा स्कुलले बढी लाभ लिन सक्ने सञ्चालक बलायरले जनाए। 'मुख्य त स्कुले विद्यार्थीलाई लक्षित गरेका थियौं, अहिले साना व्यवसायीको माग बढ्दो छ,' बलायरले भने। यो भ्यान विद्यार्थीको तराईका स्थानीय बजारमा सार्वजनिक यात्रुको लागि समेत प्रयोग गर्न सकिने जनाइएको छ।

कम्पनी सञ्चालक ३२ वर्षीय ललित बलायर र सोही कम्पनीका मेकानिकल इन्जिनियर ३२ वर्षीय मुस्ताफ अन्सारीको संयोजनमा यो उत्पादन सम्भव भएको हो। यसअघि भारतबाट अटोरेक्सा लिएर बिक्री गर्दै आएका बलायरले इन्जिनियर अन्सारीको भेटपछि कम्पनीकै उत्पान प्रक्रिया अघि सारेको हो। 'पहिला भारतबाटै लिएर मोबिल र सेल बिक्री गर्ने डिलर थियो, अन्सारीलाई भेटेपछि मोटर नै बनाउने सोच्यौं,' बलायरले भने।

भारतबाट ल्याइने गाडीमा कर नलाग्ने र तर गाडीको पार्टपुर्जामा कर लाग्ने सरकारको नीतिले निर्माण कम्पनीलाई अप्ठेरो परेको सञ्चालक बलायरले बताए। 'मोटरको कर नलाग्ने पार्टपुर्जामा चर्को लाग्नु भनेको नेपाली कम्पनीलाई घुमाउरो रुपमा प्रतिबन्ध लगाउनु हो,' उनले भने।

वैदेशिक रोजगारीबाट फर्केर आएर धनगढी बसिरहेका इन्जिनियर अन्सारीले आफैं बनाउन सक्ने बताएका थिए। 'उनले जागिर पाएका थिएनन्, उहाँको सिर्जना कम्पनीको लागि उपयोगी लाग्यो,' बलायरले भने।

सानैदेखि मेकानिकल नमूना बनाउँदै आएका इन्जिनियर मुस्ताफले ३२ वर्षे उमेरभित्रै विभिन्न नयाँ–नयाँ वैज्ञानिक सिर्जना गर्दै आएका छन्। उनले चार कक्षामा पढ्दा पहिलोपटक नमूना हेलिकप्टर बनाएका थिए। कक्षा नौमा पढ्दा हवाईजहाज बनाएका थिए भने प्लस टु पढ्दा यान्त्रिक मानव रोबोट बनाएका थिए।

इन्जिनियर अन्सारीको परिवार व्यवसायको शिलशिलामा ३४ वर्षदेखि धनगढीमै साइकल मर्मत व्यवसाय सञ्चालन गरेर बस्दै आएको छ। अन्सारी पनि धनगढीमै हुर्केर त्यतै पढेका हुन्। स्कुले तहमा देखाएको प्रतिभाको कारण काठमाडौंस्थित हिमालय ह्वाइट हाउस कलेजले निःशुल्क छात्रवृत्ति दिएको थियो।

प्लस टुको पढाइ त्यहाँ सके पनि लामो समय जन्डिसको बिरामी परेपछि करिब पाँच वर्ष पढा स्थगित गरे। पछि पुन भारतको लखनउ विश्वविद्यालयमा छात्रावृत्तिमै स्नातक तहको इन्जिनियरिङ अध्ययन पूरा गरेका थिए।

जागिरको शिलशिलामा कतार पुगेका थिए। अब पुनः छात्रवृत्ति पाए स्नातकोत्तर तहको इन्जिनियरिङ अध्ययन गर्ने सोच रहेको बताए। उनको उच्च शिक्षाको उद्देश्य कम्पनीले नै पूरा गरिदिने सोच राखेको सञ्चालक बलयारले बताए।

अब नेपाली बजारमा कम तेल खपत हुने गरी सोलार र पेट्रोलले चल्ने मोटरसाइकल उत्पादन गर्ने तयारीमा रहेको जनाए। यो वातावरण र कम तेल आयात गर्ने, वातावरणमा सहयोग पुग्ने र तेलमा खर्च घटाउने उद्देश्यले उत्पादन गर्न लागेको अन्सारीले बताए। 'यो दुवै इन्धनले चल्ने हाइब्रिड मोटरसाइकल हुनेछ,' उनले भने। यो प्रविधिको मोटरसाइकल नजिकको दूरीमा ब्याट्रीले र टाढा पेट्रोलले चलाउन सकिनेछ। 

सञ्चालक बलायर नेपाल तरुण दलका नेता पनि हुन्। राजनीति मुख्य लक्ष्य भए पनि आम्दानीमूलक गतिविधिमा संलग्न हुनुपर्छ भन्ने मान्यताले यो व्यवसाय रोजेको सञ्चालक बलायरले बताए। अहिलेसम्म नेताहरु उत्पादनमा संलग्न नभएकोले देशमा भ्रष्टचाार बढेको उनले बताए। 'नेता स्वयं उत्पादनमा सहभागी नभएमा भ्रष्टाचार रोकिँदैन,' उनले भने।

 

प्रकाशित: ७ असार २०७३ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App