coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एउटै पाइलटले राजीनामा दिँदा...

काठमाडौं- चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल वायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ।

निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एक मात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले 'थाल खाउँ न भात खाउँ' को अवस्थामा पुगेको छ।

झन्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको 'वाई१२–ई' सिरिजको उक्त जहाजलाई लामो प्रयासपछि मर्मत गरी उड्न तयार बनाइएको थियो। त्यसपछि नियमित उडान तालिका सार्वजनिक गरेको निगम व्यवस्थापनका अधिकारीहरू अहिले त्यो जहाजका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले राजीनामा दिएपछि रनभूल्लमा छन्।

नहुन् पनि किन? निगमले अमेरिका पठाएर दुई महिना तालिम दिलाएपछि शेर्पा वाई१२–ईका प्रशिक्षक पाइलटका रूपमा उडान गर्न योग्य भएका थिए। तर, शेर्पाले नियमित उडान गर्नुअघि नै राजीनामा दिए। अब निगम व्यवस्थापनका लागि अब उक्त जहाज कसरी उडाउने भन्ने चिन्ताले घर गरेको छ।

'वाई१२–ई जहाजका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाको राजीनामा प्राप्त भएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'उनको राजीनामा स्वीकृत हुने प्रक्रियामा छ। राजीनामा दिएपछि जहाज उडाउँदिनँ भन्न त पाइयो तर संस्थालाई अप्ठेरो भयो।'

शेर्पाले बुझाएको राजीनामा पत्रमा 'अमेरिकाको ग्रिनकार्ड (स्थायी बसोबास अनुमति) पाएकाले निगममा सेवा गर्न असमर्थ रहेको' उल्लेख गरिएको निगमले जनाएको छ।

निगमको नियमअनुसार पाइलटलाई विदेशमा तालिम दिलाएर ल्याएपछि ती पाइलटले न्यूनतम पाँच वर्षसम्म निगमकै जहाज उडाउनुपर्छ। बीचैमा छाडेर गए तालिमबरारको रकम जरिवानास्वरूप बुझाउनुपर्छ।

'हालै अमेरिकाबाट वाई१२–ई जहाजको को–पाइलट तालिम सकेर आएका १० जनालाई अब कसरी क्याप्टेनमा स्तरोन्नति गर्ने भन्ने अर्को गम्भीर समस्या हामीमाथि आइपरेको छ,' सम्बद्ध एक अधिकारीले भने, 'प्रशिक्षक पाइलट शेर्पा भएको भए उनले ती को–पाइलटलाई सँगै उडाएर क्याप्टेनमा स्तरोन्नति गर्ने थिए।' प्रशिक्षक पाइलटसँग निश्चित घन्टा उडान गरेपछि को–पाइलटको स्तरोन्नति भई क्याप्टेन हुने गर्छन्। त्यसपछि क्याप्टेनले जहाज कमान्ड गर्न पाउँछन्। 

शेर्पाको राजीनामापछि वाई१२–ई उडाउन चीनबाटै प्रशिक्षक पाइलट मगाउने तयारी अगाडि बढेको शर्माले जानकारी दिए। यस्तो जहाज कमान्ड गर्न नेपाली पाइलट उपलब्ध हुन कठिन भएका कारण चिनियाँ जहाज निर्माता कम्पनीलाई प्रशिक्षक पाइलट व्यवस्थाका लागि आग्रह गरिने उनले बताए।

२०७२ कात्तिकमा थन्किनुअघिसम्म वाई१२–ई जहाजले नियमित उडान गरिरहेको थियो। त्यसबेला चिनियाँ जहाज निर्माता कम्पनीले उपलब्ध गराइदिएको प्रशिक्षक पाइलट फिर्ता जानु र निगमसँग आफ्नै प्रशिक्षक पाइलट नभएपछि 'ग्राउन्डेड' भएको थियो। चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री गु्रप कम्पनी लिमिटेडबाट आएका लाओसका प्रशिक्षक पाइलटको कार्यअवधि म्याद सकिएपछि जहाज ग्राउन्डेड भएको थियो।

लामो समय ग्राउन्डेड भएपछि निगमले आफैं प्रशिक्षक पाइलटमा शेर्पालाई तयार गरेको थियो। त्यसपछि गत वैशाखमा यो जहाजको परीक्षण उडान गरिएको थियो। उडान सकेर अवतरण गरेपछि जहाजको एउटा इन्जिनमा समस्या उत्पन्न भएका कारण पुनः ग्राउन्डेड भएको थियो।

यो जहाजमा अमेरिकी इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीमा उत्पादित इन्जिन जडान गरिएको छ। जहाज निर्माताले १८ सिटयुक्त भने पनि यसमा १७ यात्रुमात्र अट्छन्।

निगमले गत वैशाखमा वाई१२–ईको परीक्षण उडान हुनुअघि नै वैशाख २८ देखि काठमाडौंबाट भैरहवा, सिमरा र पोखराका लागि दैनिक एक–एक उडान गर्ने गरी नियमित तालिका सार्वजनिक गरेको थियो। तर, जहाज ग्राउन्डेड भएपछि थप तीन महिना उड्न सकेन। त्यसपछि साउन पहिलो साता मर्मत सफल भएपछि साउन १७ बाट नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको थियो।

'तर, उडान तालिकाअनुसार जहाज उड्नुअघि नै प्रशिक्षक पाइलट शेर्पाले राजीनामा दिएपछि जहाजको विचल्ली भयो,' ती अधिकारीले भने, 'अब विदेशी प्रशिक्षक पाइलट कहिले आएर कहिलेदेखि उडान गर्ने हो ठेगान छैन।'

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट '९एन–एकेएस' कलसाइन पाएको यो जहाजलाई निगमले 'कोइली' चराको नाम दिएको छ। निगमका अनुसार २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा वाई१२–ईले १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो तर यसलाई उडाउन भने ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो। त्यति अवधिमा इन्धनका लागि १ करोड ४९ लाख खर्च भएको थियो।

यसको बिमावापत ४ करोड १९ लाख ७९ हजार ९ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार ७ सय ७५ र चालकदलको खाना/खाजा खर्च ९५ लाख ९२ हजार २ सय ७० रुपैयाँ खर्च भएको थियो। यो जहाज नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ। यो भनेको दैनिक नोक्सानी २० लाख ४ हजार ७ सय २५ रुपैयाँबराबर हो।

अझै तीनथान वाई१२–ई जहाज चीनबाट ल्याउन बाँकी छ। सबै जहाज सहुलियत ऋणमा ल्याउन चीनसँग सम्झौता भइसकेको छ। नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ। ल्याउन बाँकी चार जहाजको कुल रकमको ८० प्रतिशत अर्थात् २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ चुक्ता भइसकेको छ।

चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध भएको हो। यी जहाज अर्थ मन्त्रालयले करिब दुई प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ।

प्रकाशित: ३२ श्रावण २०७३ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App