coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा भारतीय अटोरिक्सा चलाउन दिन माग

सर्लाही – जिल्ला प्रशासन कार्यालयले विना सूचना एक्कासी चलाउन रोकेको भन्दै सदरमुकाम मलंगवास्थित डिजेलबाट चल्ने भारतीय नम्बरका अटोरिक्सा ब्यवसायीहरूले गुनासो गरेका छन्। 

‘७ वर्षदेखि मलंगवाबाट र भारतको सोनवर्षा तथा त्यहाँबाट मलंगवासम्म यात्रु ओसार्दै आएको थिएँ’, मलंगवा नगरपालिका–१० निवासी शिवनाथ झाले भने, ‘बिना सूचना प्रशासनले गत शुक्रबारबाट हामीलाई अटोरिक्सा चलाउन दिएको छैन।’ कम्तिमा दुई तीन महिनाको समय दिएर सूचना निकाले भारतीय नम्बरको अटोरिक्सा बेचेर नेपाली नम्बर प्लेटको किन्न समेत आफूहरू तयार रहेको उनले जनाए। 

‘बिना सूचना एक्कासी अटो रिक्सा चलाउन रोकिएपछि हामीहरूको रोजिरोटी नै खोसिएको छ’, मलंगवा–९ निवासी अर्का अटो रिक्सा व्यवसायी जितेन्द्र यादवले भने, ‘तीन दिनदेखि नेतालाई गुहार्नुका साथै सिडिओ कार्यालय धाईरहेका छौं, कुनै सुनुवाई भएको छैन।’ 

रौतहटको गौरबाट भारतको बर्गीनियामा १६५ वटा भारतीय नम्बर प्लेटका अटोरिक्सा चलिरहेको दाबी गर्दै मलंगवामा भने २३ वटामात्र रहेको झाले जानकारी दिए। ‘रिक्सा वा टाँगाले सय रुपैंयासम्म लिने गरेका छन्’, उनले भने, ‘हामीले त प्रति यात्रु २५ रुपैंयामा बोकिरहेका थियौं।’

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले भने मलंगवा–सोनवर्षा भन्दा पनि मलंगवाबाट नेपाल भित्रैका अन्य रूटमा यात्रु ओसार्ने गरेको अन्य यातायात व्यवसायीबाटै गुनासो आएपछि भारतीय नम्बरका अटो रिक्सा चलाउन रोक लगाईएको जानकारी दिए। ‘न भन्सार काटिएको छ, न त पटके नै छ’, कटवालले भने, ‘जतासुकै यात्रु ओसारेर कुद्ने गरेको गुनासो आएकाले भारतीय नम्बर प्लेटका अटो रिक्सा चलाउन रोक लगाईएको हो।’ नेपाली नम्बर प्लेटका अटो रिक्सा सञ्चालनमा भने रोक नलगाईएको उनले बताए। 

२३ वटा भारतीय अटो रिक्सा व्यवसायीहरु सदरमुकाम मलंगवा निवासी छन् । ‘आधा भन्दा कममा पाईने हुनाले करकुटुम्बको नाममा भारतीय अटो किनेर चलाउन थालेको हुँ’, मलंगवाका स्थानीय मोहन राउतले भने, ‘नेपाली नम्बर प्लेटको किन्दा निकै महंगो पर्छ र सिमा क्षेत्रबाट १३ किलोमिटरसम्म दुई देशकै गाडी विना भन्सार चलाउन पाईन्छ भन्ने सुनेकाले भारतीय अटो किनेको थिएँ।’ विशेष गरी सदरमुकाम मलंगवा सहित आसपासका सिमा क्षेत्रबासीहरू दैनिक उपभोग्य सामग्री किन्नका लागि समेत भारतको सोनवर्षा बजार जाने गर्दछन्। दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने भएकाले अटोरिक्साले सेवा पु-याउँदै आएको छ।

प्रकाशित: २९ माघ २०७४ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App