१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली र प्रचण्डबीच नेतृत्व आलोपालो गर्ने सहमति

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। दुई अध्यक्षबीच सोमबार भएको वार्तामा एमाले–माओवादी एकतापछिको एकीकृत पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको एमाले उपाध्यक्ष भीम रावलले सञ्चारकर्मीलाई जानकारी गराए। 

रावलले सोमबार आयोजित रिपोर्टर्स क्लबको साक्षात्कारमा अब बन्ने सरकारको नेतृत्व ओली र प्रचण्डले आलोपालो गर्नेगरी सहमति भएको बताए। ओली र प्रचण्डबीचको वान–टु–वान वार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको उनको भनाई छ।

‘असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भैसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ,’ उनले भने।

संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे भेटवार्तामा छलफल भएको उनले विश्वास दिलाए । उनले अबको एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने पनि स्पष्ट पारे।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउ भएकोले उसले गरेका कतिपय निर्णयहरु आफूहरुले पूनरावलोकन गर्ने उनले बताए। प्रदेश सभाका प्रमुखबारे पनि त्यसको औचित्यका आधारमा पूनरावलोकन गरिने उनको भनाई छ।

प्रकाशित: २९ माघ २०७४ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App