coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

'उकालोमा इन्जिन बन्द भयो'

काठमाडौं- उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका घाइतेले उकालोमा एक्कासि बसको इन्जिन बन्द हुँदा दुर्घटना भएको बताएका छन्। उनीहरुका अनुसार खहरेखोलाको उकालोमा सुरुमा गुडिरहेको बसको इन्जिन बन्द भयो। पछाडि सर्दै अनियन्त्रित भएर भिरबाट खस्यो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार क्रममा रहेकी काभ्रेकी सुनिता चौलागार्इंले बसको इन्जिन अचानक बन्द भएपछि बस पछाडि सर्न थालेको र ब्रेकसमेत नलागेको बताइन्। स्थानीय एक गैरसरकारी संस्थामा कार्यरत चौलागाईं बस चढेको पाँच मिनेटमा दुर्घटनामा परेकी थिइन्। उनले यात्रुले केही थाहा पाउनुअगावै बसको पछाडिको पांग्राले सडक छाडिसकेको थियो।

'स्टार्ट बन्द भयो, फेरि स्टार्ट भए पनि गाडी पछाडि सर्दै गयो, हेर्दाहेर्दै बस खहरे खोलामा बल्ट्याङ खाँदै खस्यौं,' चौलागाईंले नागरिकसँग भनिन्। उनको टाउकोमा चोट लागेको छ।

अर्का घाइते बुद्ध लामा भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराउने राहतको कागजी प्रक्रियाका लागि काठमाडौंबाट मादनकुँडारी जाँदै थिए। बसमा मान्छे भरिभराउ भए पनि उनलाई सोमबार गन्तव्य पुग्नैपर्ने थियो। तर विडम्बना भूकम्पमा राहत पाउने आसमा घर छाडेका लामा अहिले शिक्षण अस्पतालमा उपचार गराउँदै छन्। लामाको टाउको, खुट्टा र ढाडमा समेत चोट छ।

काठमाडौं, कपनमा फर्निचर पसल चलाउँदै आएका तीन सन्तानका बाबु लामा दुर्घटनाका कारण कोसीपारि चल्ने यातायातको लापरबाही मुख्य रहेको बताउँछन्। 'मान्छे खचाखच थिए, उकालोमा ब्रेक नै लागेन, गाडी खोलामा खस्यो, हामी राहतकै लागि हिँडेका थुप्रै थियौं,' लामाले शिक्षण अस्पतालमा नागरिकसँग भने।

दाजुको उपचारका लागि सँगै रहेकी निमा लामाका अनुसार काभ्रेको कोसीपारि चल्ने कोसीपारि यातायातका साना सवारीसाधनले क्षमताभन्दा दोब्बर यात्रु बोक्दा दुर्घटना हुने गरेका छन्। यस्तै, सवारीसाधनको नियमित जाँचपडताल र मर्मतसम्भार नहुने लामाले बताइन्। प्रहरीको मात्र अति न्यून उपस्थिति र यातायात व्यवसायीको एकलौटीका कारण यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता उक्त क्षेत्रमा छ।

'प्रहरी भनेको दोलालघाटमा हो, सधैँ यति नै मान्छे बोक्ने हो, घर जान पनि डर लागी–लागी हिँड्नुपर्छ,' निमाले भनिन्।

बाटैमा एकको मृत्यु

शिक्षण अस्पतालमा ल्याउँदै गरेका नौामध्ये एक घाइतेको बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ। काभ्रेमा बस दुर्घटनामा परेका मध्ये आठ जनाको अवस्था सुधारोन्मुख रहेको शिक्षण अस्पतालका चिकित्सकको भनाइ छ।

अस्पतालमा उपचारका लागि ल्याइएका रमेश गौतमको बाटोमा मृत्यु भएको हो। उपचारमा संलग्न चिकित्सक राम न्यौपानेका अनुसार अन्य आठमध्ये चार जनाको अवस्था गम्भीर छ। घाइतेमध्ये ट्रमा सेन्टरमा उपचार भइरहेका १३ मध्ये दुईको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ।

गृहमन्त्री र सुरक्षा प्रमुख अस्पतालमा

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सहितको टोली काभ्रे दुर्घटनाका घाइतेको अवस्था बुझ्न शिक्षण अस्पताल तथा ट्रमा सेन्टर पुगेका थिए। 

मन्त्री निधिले घाइतेको उपचारमा कुनै कमी नहुने, उपचार खर्च सरकारले बेहोर्ने बताए ।

प्रकाशित: ३२ श्रावण २०७३ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App