७ वैशाख २०८१ शुक्रबार
राजनीति

सभामुखको निर्वाचन फागुन २ र उपसभामुखको ४ गते

जनकपुरधाम – प्रदेशसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख र उपसभामुख निर्वाचनको मिति तथा मर्यादापालकको पोशाक निर्धारण गरेको छ ।

सोमबार बिहान प्रदेशसभा सचिवालयमा बसेको बैठकले सभामुखको निर्वाचन फागुन २ गते र उपसभामुखको निर्वाचन फागुन ४ गते गर्ने टुंगो लगाएको छ । सोमबारै दिउँसो १ बजे बस्न लागेको प्रदेशसभाको बैठकले समितिको उक्त निर्णयलाई पारित गर्नेछ । 

सभामुखको निर्वाचन फागुन २ गते गर्ने मिति माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकले नै घोषणा गरिसकेको थियो । सोमबार बसेको समिति बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका तय गरेको समिति सदस्य योगेन्द्र राय यादवले जनाए । 

समितिको बैठकले मर्यादापालकको पोशाक र प्रदेश सांसदले प्रयोग गर्ने लोगोबारे पनि निर्णय गरेको छ । प्रदेशसभाको पहिलो बैठकमा मर्यादापालकको पोशाकमा एकरुपता कायम हुन नसक्दा चौतर्फी आलोचना भएको थियो । त्यसैले दोस्रो बैठक बस्नु अघि नै यसबारे टुंगो लगाइएको हो । 

मर्यादापालकले सर्ट, पाइन्ट र कोट तथा महिला मर्यादापालकले साडी र चोलो लगाउनुपर्नेछ । अन्य छ वटै प्रदेशमा भने संघीय संसदमा जस्तै मर्यादापालकले दौरा, सुरुवाल र टोपी लगाउने प्रावधान राखिएको छ । 

प्रदेशसभाका सदस्यहरूले बैठकमा जाँदा जानकी मन्दिरको आकृति र त्यसमुनि हरियो फाँटमा किसान उभिरहेको तस्बिरसहितको लोगो प्रयोग गर्ने समितिले निर्णय गरेको छ । सोमबारै बस्न लागेको प्रदेशसभा बैठकले समितिले गरेका निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ । प्रदेश सांसदको पोसाकबारे स्पष्ट निर्णय हुन सकेको छैन । यसबारे औपचारिक निर्णय नभएसम्म हरेक सांसदले आ–आफ्नो पहिचान अनुसारको पोसाक लगाउन पाउनेछन् ।

प्रकाशित: २९ माघ २०७४ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App