१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिट चोर्न नपाएपछि १० लाख विद्यार्थीले परीक्षा दिएनन्

नयाँ दिल्ली – भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् ।

परीक्षादेखि विद्यार्थी नडराउन् भनेर योगीले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका हुन् । परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा भएको कटौतीको कारण परीक्षादेखि विद्यार्थीको डर र सरकारले चिट चोर्ने प्रणालीलाई अन्त्य गर्ने उद्देश्यसहित ल्याएको कडा सुपरिवेक्षण प्रणाली रहेको उनले बताए ।

उत्तर प्रदेश सरकारले यस वर्ष चिट रहित परीक्षा सञ्चालन गर्ने उद्देश्यसहित कडा कदम चालेपछि परीक्षामा विद्यार्थीको सहभागिता सुरुको दिनदेखि नै घट्दै गएको छ । योगी आदित्यनाथको नेतृत्वमा रहेको सरकारले परीक्षालाई मर्यादित बनाउने उद्देश्यसहित परीक्षा केन्द्रमा सिसिटिभी क्यामेरा राख्नेसहित विभिन्न कदम चालेपछि परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा पछिल्ला चार दिनदेखि व्यापाक मात्रामा कटौती भएको छ । उत्तर प्रदेशमा गत मंगलबारबाट कक्षा १० र कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको थियो ।

‘चिट रहित परीक्षा सञ्चालन गरौं भनेर हामीले जब भन्यौं १० लाख विद्यार्थीले परीक्षा दिएनन् । यो हालसम्मको अवस्था हो । भविष्यमा के हुन्छ मलाई थाहा छैन,’ मुख्यमन्त्री आदित्यनाथले बताए ।४५ वर्षे मुख्यमन्त्री आदित्यनाथले भारतका प्रधानमन्त्री नरेन्द्र मोेदीले विद्यालय जाने विद्यार्थीलक्षित गरेर परीक्षालाई लिएर हुने तनावलाई कम गर्न लेखेको विशेष पुस्तक ‘एक्जाम वारियर्स’को हिन्दी संस्करण लागू गर्न खोज्दै छन् ।

‘विद्यार्थीका माझ परीक्षाको त्रास उत्पन्न गराइएको छ,’ आदित्यनाथले बताए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको पुस्तकले विद्यार्थीलाई परीक्षा दिन दिमागमा साहस भर्ने छ,’ उनले बताए ।‘परीक्षालाई थप सरलीकृत कसरी गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ,’ गत मार्चमा भारतीय जनता पार्टीले उत्तर प्रदेशको राज्य सभाको निर्वाचनमा बहुमतसहित जित हासिल गरेपछि मुख्यमन्त्री बनेका आदित्यनाथले बताए ।

उत्तर प्रदेशस्थित गोरखनाथ मन्दिरका प्रमुख पुजारीसमेत रहेका मुख्यमन्त्री आदित्यनाथले वार्षिक तीर्थ यात्रा ‘कनवार यात्रा’ कसरी आनन्दले सञ्चालन हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै भने त्यहाँ कार्यक्रमलाई बाधा पुग्ने खालको कुनै निर्देशन हुँदैन वा मानिसलाई असुविधा हुँदैन । ‘कनवार यात्रालाई उदाहरणका रूपमा लिँदै अभिभावक र शिक्षकले पनि विद्यार्थीमाथि कुनै प्रकारको सीमा लाद्न हुँदैन र उनीहरुलाई परीक्षाको सामना गर्न राम्रो वातावरण उपलब्ध गराइनुपर्छ,’ उनले बताए ।

यस वर्ष उत्तर प्रदेशको बोर्ड परीक्षामा सामेल हुनका लागि ६६ लाख ३७ हजार १८ विद्यार्थी नाम दर्ता गराएका छन् । जसमा ३६ लाख ५५ हजार ६ सय ९१ विद्यार्थीले कक्षा १० र २९ लाख ८१ हजार तीन सय २७ विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेका छन् ।सरकारले यस वर्षदेखि बोर्ड परीक्षामा हुने दुराचारलाई निस्तेज पार्न थप व्यवस्था लागू गरेपछि परीक्षा दिने विद्यार्थीको संख्यामा कमी आएको हो । सुरुका दिनदेखि आइतबार चौथौं दिनको परीक्षासम्म आइपुग्दा १० लाख विद्यार्थीले परीक्षा दिएका छैनन् ।

यस वर्षको बोर्ड परीक्षामा राज्य सरकारले परीक्षा हलमा सिसिटिभी क्यामेरा राखेको छ र विशेष टास्क फोर्सको प्रयोग गरेको छ । त्यसैगरी शैक्षिक माफियाका गतिविधि निरीक्षण गर्न स्थानीय अनुसन्धान ब्युरोका कर्मचारी पनि प्रयोग गरेको छ भने परीक्षा केन्द्रको सय मिटर वरपर निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित: २९ माघ २०७४ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App