coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुरुङ मुख्यमन्त्री पक्का

पोखरा – एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेशसभा (प्रदेश नम्बर ४)  संसदीय दलको नेतामा निर्विरोध भएका छन् । एमाले प्रदेशसभा संसदीय दलको आइतबारको बैठकले गुरुङलाई निर्विरोध दलको नेतामा चुनेको हो । संसदीय दलको नेता चुनिएसँगै गुरुङ प्रदेश–४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । सरकार गठनका लागि यो प्रदेशमा एमाले–माओवादी गठबन्धनको बहुमत छ । यो प्रदेशको मुख्यमन्त्री एमाले भागमा परेको छ। 

गठबन्धनबीच भएको सहमति अनुसार यो प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको छ । माओवादी केन्द्रले नेत्रनाथ अधिकारीलाई सभामुखमा प्रस्ताव गरेको छ । माओवादी केन्द्र संसदीय दलको बैठकले उनलाई सभामुख बनाउन प्रस्ताव गरेको हो।  

एमाले संसदीय दलको नेतामा आकांक्षी किरण गुरुङले उम्मेदवारी नदिएपछि सहमतिमै पृथ्वीसुब्बा गुरुङ निर्विरोध दलको नेता भएका हुन्।

संसदीय दलको नेता बनेका पृथ्वी एमाले केन्द्रीय सचिव पनि हुन् । संसदीय दलको नेता बन्ने दौडमा रहेका प्रदेशसभाका अर्का सदस्य एवं एमाले प्रदेश–४ का संयोजक किरण गुरुङले उम्मेदवारी नदिएपछि पृथ्वीको नाममा सहमति जुटेको हो । गुरुङद्वयले प्रदेश निर्वाचन सकिएलगत्तै मुख्यमन्त्री बन्ने उद्देश्यसहित संसदीय दलको नेता बन्न लबिङ गरिरहेका थिए। दलको नेता चुनिएका पृथ्वी लम्जुङ (ख) बाट निर्वाचित सदस्य हुन्।

संसदीय दलको नेता सर्वसम्मत हुन नसके आइतबार नै निर्वाचनको तयारी गरिएको थियो । तर, एमाले अध्यक्ष केपी ओलीले प्रदेश–४ का संयोजक किरणलाई सर्वसम्मत गर्न दबाब दिएपछि पृथ्वीका लागि सहमति जुटेको स्रोतको भनाइ छ । ‘अध्यक्ष ओलीले फोन गरेर सर्वसम्मत गर्न निर्देशन दिनुभयो । त्यसपछि, किरणजी ब्याक हुनुभएको हो,’ स्रोतले भन्यो, ‘सायद अध्यक्ष ओलीले किरणजी लाई कतै व्यवस्थापन गर्ने आश्वासन दिएको हुनुपर्छ।’

६० सदस्यीय यो प्रदेशसभामा एमालेका २७  सदस्य छन् । त्यस्तै कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँशक्तिका २ र स्वतन्त्र १ सदस्य छन् ।  यीमध्ये ३६ प्रत्यक्ष निर्वाचित र २४ समानुपातिक सदस्य हुन्। माओवादी केन्द्रको समर्थनमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति दुई दलबीच भइसकेको छ। 

पृथ्वीले सहमतिमा आफू संसदीय दलको नेता चुनिएको बताए । ‘प्रदेश संयोजकको रुपमा किरणजी रहनुहुन्छ। यसमा अरु कुनै खालको सहमति भएको छैन,’ उनले भने, ‘लेनदेन वा अन्य सहमति केही भएको छैन। परिस्थितिलाई परिपक्व बनायौ । अनि सुन्दर निर्णय गर्न सक्यौं ।’

सो पदका आकांक्षी किरणले पनि वाम एकतालाई ध्यान दिएर सहमति गरेको बताए । ‘प्रदेश संयोजक भएकाले म अभिभावक पनि हुँ । म नै दलको नेता हुन्छुभन्दा सहमति नहुने देखें,’ उनले भने, ‘त्यसैले सहमतिमा गएका हौं।’  
एमालेको संसदीय दलको नेता चुनिएका पृथ्वी लमजुङ  क्व्होंलासोथर गाउँपालिका–९, गिलुङ टक्सारगाउँका बासिन्दा हुन् । २०१४ फागुन २ गते जन्मिएका उनको बाल्यकाल गाउँमै बितेको हो। २०२७ सालमा ईशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियुको तर्फबाट स्ववियु सचिव निवार्चित भएसँगै उनी औपचारिक राजनीतिमा प्रवेश गरेका हुन् । पार्टीमा विभिन्न पद सम्हाल्दै आएका उनी २०५४ माघमा नेपालगञ्जमा सम्पन्न छैठौं महाधिवेशनबाट  केन्द्रीय कमिटी वैकल्पिक सदस्यमा निवार्चित भएका थिए। ०५४ देखि ०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनी ०६० मा एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका थिए । ०६१ देखि ०७० सम्म केन्द्रीय जातिय मामिला विभाग प्रमुखको जिम्मेवारी समालेका उनले सोही अवधिमा आदिवासी–जनजाति फा“ट इञ्चार्जको भूमिका पनि निर्वाह गरे । २०७१ मा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिवमा निवार्चित भएका उनी केन्द्रीय संगठन विभाग प्रमुखसमेत हुन्।

माओवादी केन्द्रले सभामुखमा प्रस्ताव गरेका अधिकारी पर्वत ‘क’ बाट प्रदेशससभा सदस्यमा निर्वाचित भएका हुन्। यो प्रदेशमा फागुन ३ गते सभामुखको निर्वाचन गर्ने कार्यक्रम छ। सभामुखमा माओवादीका अधिकारी, हरिबहादुर चुमान, आशा खनाल, गायत्री गुरुङलगायतको दाबी थियो । ‘स्वाभाविक रुपमा नै आकांक्षी धेरै हुनुहुन्थ्यो,’ अधिकारीले भने, ‘सबैलाई मिलाएर सहमतिका साथ अगाडि बढेका हौं।’ 

प्रकाशित: २९ माघ २०७४ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App