coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्यो

बुटवल– प्रदेश ५ मा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढेको छ।एमाले र माओवादी केन्द्रले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन बहुमतसहितको दाबीपत्र प्रदेश प्रमुख उमाकान्त झासमक्ष पेस गरेसँगै मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो । आइतबार दिउँसो एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता केसीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाएकाहुन्।

प्रदेश प्रमुखलाई पत्र बुझाउँदा पोखरेल र केसीसहित दुई दलका एक दर्जन नेता सहभागी थिए । निर्वाचन आयोगबाट मतपरिणाम जारी भएको ३० दिनभित्र प्रदेश मुख्यमन्त्री चयन गर्नुपर्ने संविधानमा व्यवस्था छ। 

८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादी केन्द्रका २० गरी ६१ सांसद छन् । यो हिसाबले प्रदेश ५ को संसद्मा दुई दलको स्पष्ट बहुमत  छ। मुख्यमन्त्रीको शपथग्रहण फागुन ३ गते गर्ने तयारी छ। 

सानो आकारको मन्त्रिमण्डल बन्ने 
शपथसँगै पोखरेलले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्। तत्काल काम अघि बढाउन आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेर अघि बढ्ने उनको तयारी छ। अहिलेसम्म नौ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी छ। माओवादी केन्द्रले भने ११ सदस्यीय बनाउनप्रस्ताव गरेको छ। अहिलेलाई सात मन्त्रालयका लागि कार्यालय प्रबन्ध भएको छ। पहिलो चरणको विस्तारमा सात सदस्यीय बनाएर जाने मोटामोटी सहमति भएको बताइएको छ। ‘तत्काललाई सानो आकारको मन्त्रिपरिषद् बन्ने छ, काम गर्दै जाँदा विस्तार गर्ने तयारी छ,’ एमाले सचेतक भूमिश्वर  ढकालले भने।

सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी  भइरहे पनि मन्त्री हुने आकांक्षी धेरै छन् । एमालेबाट कपिलवस्तुका विष्णु पन्थी, रुपन्देहीका लिला गिरी, नवलपरासीका बैजनाथ चौधरी, गुल्मीका कमल श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्यलगायत मन्त्री हुन लबिङमा छन् ।सन्तुलन मिलाएर मन्त्री बनाइने एमाले उपमहासचिव एवं प्रदेश ५ का इन्चार्जसमेत रहेका विष्णु पौडेलले बताए।

माओवादीमा रोल्पाका कुलप्रसाद केसी, रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका सुदर्शन बलाल, प्युठानका कृष्णध्वज खड्कालगायत मन्त्री बन्न लबिङमा छन्। 

प्रकाशित: २९ माघ २०७४ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App