coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाल्पामा हावाबाट बिजुली उत्पादन

पाल्पा – पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको केन्द्रमा हावाबाट एक हजार दुई सय वाटको विद्युत निकालिएको छ। पीडा नेपालको प्राविधिक र जर्मनीको विसिन्सको आर्थिक सहयोगमा कापेक संस्थाले आठ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत निकालेका हो। 

१.२ किलोवाट क्षमतामा निकालिएको विद्युतका लागि ६ सय वाट हावाबाटै र बाँकी ६ सय वाटका लागि सोलार प्यानल जडान गरिएको छ। यो विद्युत कम्तिमा पनि पाँच वर्षसम्म सञ्चालन हुनेछ।  निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा यो विद्युत प्रयोग हुँदै आएको हेरालु बलिराम सुनारीले बताए। 

हावा र सौर्य शक्तिको प्रयोगबाट बिजुली निकालिएसँगै वडाका कामकाजमा सजिलो भएको वडाध्यक्ष नेउबहादुर सुनारीले बताए। उनी भन्छन्, ‘कम्प्युटर तथा फोटोकपि चलाउन तथा बत्ती बाल्न पाएपछि कार्यालयको कामसमेत सहज भएको छ । वडामा जतिबेला पनि विद्युत आपूर्ती भैरहेको छ।’ गाउँपालिकाका स्वास्थ्य संयोजक मिनबहादुर रानाले स्वास्थ्य चौकीमा अत्यावश्यक पर्ने औषधीहरुलाई फ्रिजिङ्ग गर्न सहज भएको छ। ‘फ्रिजमा नराखी नहुने औषधीहरु पहिले रामपुरबाट आपूर्ती गर्नुपर्ने निकै समस्या थियो। वायुउर्जाले स्वास्थ्य कार्यक्रमलाई समेत प्रभावकारी बनाएको छ,’–रानाले भने। 

मगर समुदायको बस्ती रहेको रुक्सेभञ्याङ्गडाँडामा चलेको हावाबाट पंखा घुमाईएको छ। जहाँबाट उत्पादित विद्युत समेत यहिँ प्रयोग गरिएको छ। यसबाट यहाँका स्थानीयबासी समेत दङ्ग छन्। हावाबाट बिजुली निस्कने कुरा विश्वास नगरेका यहाँका स्थानीयवासी अहिले भने थप सम्भावना अध्ययन गर्नुपर्ने माग गरिरहेको धनबहादुर ठाडाले बताए।

पीडा नेपालका परियोजना अधिकृत तपेन्द्र चन्दले मित्यालका अन्य स्थानबाट पनि विद्युत निकाल्न सकिने सम्भावना रहेको बताए। उनी भन्छन्, ‘वैकल्पिक ऊर्जा प्रवद्धर््न केन्द्रले २५ किलोवाट क्षमतामा विद्युत निकाल्न सकिन्छ भन्ने अध्ययन गरिसकेको छ। सरकारले सहयोग गरेमा हामी प्राविधिक सहयोग गर्न तयार छौ।’ हावाबाट थप बिजुली निकालेपछि निस्दी गाउँपालिकाका झ्याल्टुक, मौलाथर, घुम्सीवर र मित्याल बजार रुक्सेभन्ज्याङ्ग लगायतका सबै क्षेत्रमा पु¥याउने लक्ष्य रहेको केन्द्रले जनाएको छ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर एक वर्षमा लोडसेडिङको अन्त्य बताउँने कुरा देशभर चर्चाको विषय बन्यो। हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने धेरैलाई हावादारी गफ नै लाग्छ। तर एक वर्ष भित्र लोडसेडिङ्ग अन्त्य भएपनि नभएपनि हावाबाट विजुली निकाल्न भने सकिँदो रहेछ भन्ने उदाहरण पाल्पाको निस्दी गाउँपालिकाले दिएको छ। 

बिहान बेलुकीको समय अत्याधिक विद्युत खपत हुने गर्दछ। जसले गर्दा विद्युत पुगेको शहरमा  अत्यधिक लोडसेडिङ्ग हुँदै आएको छ। जलविद्युतबाट बिजुली निकाल्न लागत र समय बढि नै लाग्छ। त्यसैले जलविद्युतबाट तत्कालै लोडसेडिङ घटाउन सम्भव पनि छैन। यस्तो बेला हावाबाट विद्युत निकालेर प्रयोग गर्न सकिन्छ। निस्दीको यहि क्षेत्रमा सौर्य र वायु उर्जाको अन्य सम्भावना पनि देखिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ। यस गाउँपालिकाको अधिकांश स्थानमा विद्युत नपुगेकोले स्थानीय सौर्य उर्जालाई प्रयोग गर्दै आएका छन्। 

कसरी निस्कन्छ हावाबाट बिजुली ?

तिब्र गतिमा चल्ने हावाबाट धेरै विद्युत निकाल्न सकिन्छ। वैकल्पिक उर्जाको रुपमा रहेको वायु उर्जालाई हावा वहने गाउँ गाउँमा जडान गर्न सकिन्छ। सात वर्षअघि भएको एक अध्ययन अनुसार देशमा ३ हजार मेगावाट वायु उर्जा निकाल्न सकिने संभावना छ। पहाडका अग्ला डाँडा र नदीका खोंचमा निरन्तर हावा चलिरहने गर्दछ। जुन वायु उर्जा कहिल्यै पनि सकिँदैन। हावाको गति अनुसार नै विद्युत उत्पादन हुन्छ। यसका लागि वायुपंखा, कन्ट्रोलर र ब्याट्री आवश्यक पर्छ। वायु उर्जाले न्यूनतम शक्तिका बल्व बाल्न, टिभि हेर्न र मोवाइल चार्ज गर्न मिल्छ। अग्लो डाँडामा वायुपंखा फिटिङ्ग गर्ने जसबाट कन्ट्रोलर हुँदै व्याट्रीसम्म तार लैजान सकिन्छ। उक्त व्याट्रिबाट आवश्यकता अनुसार विद्युत प्रयोग गर्ने स्थानमा लैजान मिल्छ। 

प्रकाशित: २८ माघ २०७४ १६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App