७ वैशाख २०८१ शुक्रबार
कला

नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुनमा

काठमाडौं –  एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन आगामी फागुनको तेस्रो सातादेखि नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ।

लामो समयदेखि नेपाली लोक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै आएको समूहले विश्वका १० मुलुकका कलाकारलाई नेपालमा बोलाएर फागुन १७ देखि २६ गतेसम्म मेला आयोजना गर्न लागेको आइतबार (आज) आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष रामचन्द्र कोइरालाले जानकारी दिए।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ काठमाडौँ, ललितपुर, नवलपरासी र कास्कीमा मेला आयोजना गरिने छ।

नेपाली युवा पाश्चात्य संस्कृतिमा रमाउन थालेको वर्तमान अवस्थामा नेपाली संस्कृतिको प्रवद्र्धनका लागि उक्त मेला गर्न लागिएको बताउँदै कोइरालाले भने, “मेलाभर विभिन्न देशका कलाकारले आआफ्नो संस्कृति झल्कने वेशभूषा लगाई सांस्कृतिक झाँकी गर्ने, आफ्नो लोकगीत, संगीत र लोक नृत्यलगायतका प्रस्तुति दिनेछन्।”

मेलामा नेपाल, बंगलादेश, भारत, मलेसिया, इन्डोनेसिया, कोस्टारिका, इस्टोनिया, ग्रीस, टर्की, इटाली र इजरायलका ३०० भन्दा बढी कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ । विसं २०५९ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको मेलामा हालसम्म ६५ देशका तीन हजार ५०० भन्दा बढी कलाकारले आआफ्नो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन्।  (रासस)

प्रकाशित: २८ माघ २०७४ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App