coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

राजमार्गमा लोभलाग्दो केरा व्यापार

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिकास्थित चाम्बासमा बिक्रीका लागि राखिएका केरा। तस्बिर : सरिता/नागरिक

धादिङ – सम्भावना पहिल्याउँदै दृढ इच्छाशक्तिका साथ परिश्रम गर्ने हो भने थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् राजेश र जुना श्रेष्ठ दम्पत्ती । श्रेष्ठ दम्पत्ती विगत नौ वर्षदेखि धादिङको गजुरी गाउँपालिकाको चाम्बासमा केरा व्यापार गर्दै आएका छन्।

उनीहरुले केरा बेचेर मासिक ६० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । अहिले प्रतिदर्जन केराको ६० देखि एक सय २० रुपैयाँका दरले बिक्री गर्ने गरेको राजेशले बताए । रोजगारीका लागि धेरै युवा गाउँबाट सहर र सहरबाट विदेशतिर पलायन भइरहेका बेला श्रेष्ठ दम्पत्ती उदाहरण बनेका छन्।

परम्परागत रुपमा लगाइने अन्नबालीमा भन्दा केरा खेतीमा निकै फाइदा हुने भएकाले किसानको आकर्षण बढ्दो

‘आफ्नै जन्मथलोमा श्रीमती र छोराछोरीसँगै बसी काम गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो खुसी ठान्छु,’ राजेशले भने, ‘पौरख गर्ने हो भने देशमै सबैथोक छ, किन जानु विदेश ?’ केरा व्यापारबाट भएको आम्दानीले दुई सन्तानसहित परिवारको दैनिकी राम्रैसँग चलिरहेको उनी बताउँछन्।

राजमार्ग छेवैमा बेच्न राखिएको पहेला र हरिया केराले जो कोहीको मन लोभ्याउने गरेको छ । पृथ्वी राजमार्ग हुंँदै नेपालका ६८ जिल्लाका मानिस दैनिक ओहोरदोहोर गर्ने गर्छन् । अधिकांश गाडी चाम्बासमा केरा किन्नका लागि रोकिन्छन् । ‘स्वदेशी उत्पादनलाई बजार प्रवद्र्धन गर्न अझै कठिन छ,’ राजेशले भने, ‘भारतीय केराले किसानलाई निराश पार्ने काम भएको छ, कडाइ गर्नुपर्छ।’

केरा खेतीबाट मनग्य आम्दानी हुने भएपछि गजुरी गाउँपालिकाका बस्ती यतिबेला केरा खेतीले भरिएका छन् । गाउँपालिकाको रातमाटे, कटुवाखोला, भूमेडाँडा, डाँडागाउँलगायतका दुई सय किसान परिवार केरा खेतीमै आश्रित छन् । एकजनाले एकदेखि ३५ रोपनी जग्गामा केरा खेती गरेको किसान बताउँछन्।

गजुरीकै डाँडागाउँ, भुमेडाँडा, अमृतटार लगायत गाउँबाट काँचो केरा किनेर ल्याउने गरेका छन् । एक घरी काँचो केरा चार सयदेखि पाँच सय रुपैयाँका दरले पाइन्छ । यसरी किन्दा दर्जनको २० देखि ३० रुपैयाँ पर्न जान्छ,’ जुनाले भनिन्, ‘श्रीमानले गाउँबाट काँचो केरा किनेर ल्याउँनुहुन्छ । म बसेर बेच्ने गर्छु, दिउँसोको समयमा उहाँले पनि सघाउनु हुन्छ ।’ हाल यस क्षेत्रमा २५ जनाभन्दा बढीले केराको व्यापार गर्छन् । यी सबै व्यापारीले त्यसै क्षेत्र वरपर उत्पादन भएका केरा किसानबाट किनेर बेच्ने गरेका छन् । कतिपय सडक छेउमा केरा व्यापार गर्नेहरूको आफ्नै पनि केरा खेती छन् भने केहीले किनेर ल्याउने गर्छन्।

भिरालो जमिनमा धान, मकै खेती नभएर हैरानी बेहार्नु परेका किसान अहिले व्यावसायिक केरा खेती गरेर आम्दानी लिन थालेका छन् । नगदे बालीमा परम्परागत खेतीबाट भन्दा बढी आम्दानी हुने किसान बताउँछन् । ‘अन्नबालीमा भन्दा केरा खेतीमा निकै फाइदा रहेछ,’ गजुरी चाम्बासका गुणबहादुर कँडेलले भने, केराको व्यवसाय थालेको १५ वर्ष बितेको पत्तै भएन ।’ उनका अनुसार नौ रोपनी जग्गाबाट वर्षमा लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । गजुरी आसपासका क्षेत्रमा लगाइने केराहरु मुख्यतः चिनी चम्फा, लोकल मालबुवा, झप्री, मुंग्रे लगायत छन् । पृथ्वी राजमार्ग हुँदै आउने यात्रुलाई गुणस्तरीय र सस्तो केरा बेचिरहेको व्यपारी बताउँछन्।

गजुरीको चाम्बास, छहरे र चालिसे यतिखेर पाकेको केरा पाउने प्रख्यात ठाउँका रूपमा चिनिन थालेको छ । पाकेका पहेंला घरीले केरामय नै भएको छ यो क्षेत्र । गजुरी क्षेत्रका किसान केराका लागि बजारको कुनै समस्या नरहेको बताउँछन् । केरा खेतीलाई व्यवस्थित बनाउन उनीहरुले चार वर्षअघि चम्बास केरा खेती समूह गठन गरी कृषिमा दर्ता गराएका छन् । समूहका किसानको केरा खेतीप्रतिको लगाव र आकर्षण देखेर कृषिमार्फत निकै सहयोग प्राप्त गरिसकेको केरा खेती किसान गुणबहादुर बताउँछन्।

खेती गरेर घरधन्दा धान्न धौँधौँ बेहार्नु परेकाले उनले व्यवसायीक रुपमा केरा खेती सुरु गरेको बताए । पृथ्वी राजमार्गमा पर्ने चाम्बासमा पाकेका पहेँला घरी हेर्दा नै लोभलाग्दा देखिन्छन् । यी केरा हेर्नका लागि मात्र होइन खानका लागि पनि उत्तिकै स्वादिष्ट छ।

 

 

प्रकाशित: २८ माघ २०७४ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App