८ वैशाख २०८१ शनिबार
अर्थ

स्याउ बगैंचामा किराको प्रकोप

जुम्ला – स्याउ बगैंचामा किराको प्रकोप बढेपछि जिल्लाका अधिकांश किसान चिन्तित बनेका छन् । बगैंचा व्यवस्थापन र स्याउ काँटछाँट गर्ने कार्यमा लागेका किसान स्याउमा किरा लागेको देखेपछि निरास बनेका हुन्। किरा प्रकोपका कारण अर्को वर्ष जिल्लामा स्याउ उत्पादन घट्ने आशंका गरिएको छ । समयमै किरा नियन्त्रण गर्न नसके जुम्लालाई ‘स्याउ सुपर जोन’ बनाउन कठिन हुने जानकार बताउँछन्।

लाही नामको किराले बिरुवा खान थालेपछि स्याउका बिरुवा सुक्दै गएका छन् भने यो प्रकोपले बर्सेनि उत्पादन घट्दै गएकोमा किसान चिन्तित

‘लाही नामको किराले बिरुवा खान थालेपछि स्याउका बिरुवा सुक्दै गएका छन्,’ किसान कालीबहादुर थापाले भने, ‘यो प्रकोपले बर्सेनि उत्पादन घट्दै गएको छ ।’ किराको संक्रमण बढेपछि स्याउ बगैंचा नै सुक्न  थालेको चन्दननाथ नगरपालिका–२ का अर्का किसान कृष्णभक्त आचार्यले बताए । ‘बिरुवाको टुप्पोबाट भित्री भागसम्म पुगेर नष्ट गरेको भेटिएको छ । किराले गर्दा उत्पादन दिने बिरुवा सुक्दै गएका छन्,’ उनले भने । आफ्नो बगैंचामा रहेका करिब ५० बोटमध्ये ३० भन्दा बढी लाही किराले खाइसकेको आचार्यले बताए । ‘एउटै बिरुवामा एक सयदेखि ६ सयसम्म किरा भेटिन्छन्,’ उनले भने।

यो रोग लागेपछि बिरुवाको फल पनि सानो लाग्ने, छिटो कुहिने, बिरुवाले फल नदिने र बिरुवा सुक्दै जाने गरेको किसान आचार्यले बताए । ‘घरायसी समस्या टर्ला भनेर स्याउ खेती अंगालियो । तर, रोग किराले सपना पूरा नहुने भयो,’ उनले भने।

स्याउ खेतीमा किरा लागेको तीन वर्ष बितिसक्दा पनि किराको रोकथाम गर्न कुनै निकायले चासो देखाएका छैनन् । रोगको निदानबारे हालसम्म कुनै जानकारी पाउन नसकेकोमा किसानको गुनासो छ । कृषि प्राविधिकले बगैंचामा पुगेर हेर्न नमानेको र प्राविधिकको सल्लाह बमोजिम उपचार विधि अपनाउँदा रोग किरा निवारण हुन नसकेको किसानहरु बताउँछन्।

‘किसानलाई जे गरेपनि मारैमार मात्र छ,’ किसान आचार्यले भने, ‘कहिले ढुसी किराले सताउँछ, कहिले लाही किराले ।’ ढुसी किरा नियन्त्रण गर्न सजिलो भएपनि लाही किरा नियन्त्रण गर्न कठिन रहेको उनले बताए । यसले बिरुवाको जरादेखि टुप्पोसम्म नै असर गर्ने उनको भनाइ छ।

चन्दननाथ नगरपालिका–५ का अधिकांश स्याउ बगैंचामा पनि लाही किराको प्रकोप देखिएको छ । यहाँका किसानले रोग किराको प्रकोप न्यूनीकरण गर्न प्रयास गरे पनि सफल हुन सकेका छैनन्।

बगैंचा व्यवस्थापनमा ध्यान नदिँदा लाही किराले बिरुवामा संक्रमण गरेको कृषि प्राविधिक अनुप उप्रेतीले बताए । ‘बिरुवामा रोग तथा किरा देखा परेपछि एक सिजनमा तीन पटकसम्म १० देखि १५ एमएल तेल  एक लिटर पानीमा मिसाएर बिरुवामा छर्नुपर्छ,’ उनले भने, ‘बिरुवा काँटछाँटपछि अनिवार्य रुपमा बोर्डाे मिक्चर प्रयोग गरे किराबाट बिरुवालाई बचाउन सकिन्छ ।’ किसानले भने जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपर जोनले रोग किरा नियन्त्रणमा  असहयोग गरेको बताएका छन्।

जिल्लामा तीन हजार चार सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा स्याउ खेती गरिँदै आएको छ । सबै स्थानीय तहका वडामा फल्ने स्याउ यहाँका किसानको प्रमुख आम्दानीको स्रोत मानिन्छ।

 

प्रकाशित: २८ माघ २०७४ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App