४ वैशाख २०८१ मंगलबार
खेल

कप्तानको खुट्टा भाँचिँदा थ्री स्टारको उपाधि खल्लो

घाइते विक्रम लामा । तस्बिर : रोहित राई

धरान – राष्ट्रिय मिडफिल्डर एवं टिमका कप्तान विक्रम लामाको खुट्टा भाँचिएपछि थ्री स्टारको रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि खल्लो बनेको छ । २७औं मिनेटमा विक्रमको खुट्टा भाँचिएको विस्मादपूर्ण खेलमा थ्री स्टारले साबिक विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै २०औं संस्करणको उपाधि जितेको हो।

धरान–१६ स्थित प्रादेशिक रंगशालामा शनिबार सम्पन्न फाइनलमा पहिलो हाफको इन्जुरी समयमा अजय मार्टिनले गरेको गोल नै थ्री स्टारको जितमा निर्णायक बनेको थियो । करिब २५ यार्डबाट रञ्जित धिमालको फ्रिकिक प्रहारलाई डी बक्समा रहेका मार्टिनले टच गर्दै जाली चुमाएका थिए।

त्यसअघि २७ औं मिनेटमा पुलिसका तेज तामाङसँग जुध्दा विक्रमको खुट्टा भाँचिएको थियो । उनलाई तत्काल एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । अस्पतालमा प्राथमिक उपचारपश्चात् विक्रमलाई प्लेनमा काठमाडौं लगिएको थियो । उनको अहिले टोखास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रशिक्षक मेघराज केसीले बताए।

नलीखुट्टा भाँचिएका विक्रमको ग्रान्डी अस्पतालमा शनिबार राति नै शल्यक्रिया गरी स्टिल राखिनेछ । विक्रमको डाक्टर चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गर्नेछ।

‘जित्दा खुसी लाग्नु स्वाभाविक हो । तर टोलीका कप्तान एवं महत्वपूर्ण खेलाडी विक्रमको चोटले दुखी बनाएको छ,’ विक्रमको उपचारबारे थ्री स्टारका प्रशिक्षक मेघराज केसीले थपे, ‘घुँडा र कुर्कुच्चाबीचको स्टेट बोन भाँचिएको हो । कम्तीमा तीन महिना उनी फुटबलबाट पूरै टाढा हुनेछन् । त्यसपछि बिस्तारै फुटबलमा फर्कनेछन् । आशा गरौं उनी चाँडौ ठीक हुनेछन्।’

नलीखुट्टा भाँचिएका विक्रमको ग्रान्डी अस्पतालमा शनिबार राति नै शल्यक्रिया गरी स्टिल राखिने क्लबका महासचिव सञ्जीव सिल्पकारले जानकारी दिए । विक्रमको डाक्टर चत्रराज पाण्डेको टोलीले शल्यक्रिया गर्नेछ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको मिहिनेतले पोखरामा हारको बदला लिन सकेको बताए । ‘खेलाडीहरूले धेरै मेहनत गरेर जित दिलाए । तर, महत्वपूर्ण खेलाडीको खुट्टा भाँचिदा दुःख लागेको छ,’ मेघराज केसीले भने।  

विक्रमको चोटकै क्रममा विवाद चर्कंदा दुई टोलीका खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि खेल केहीबेर अवरुद्ध बनेको थियो । अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री कविन व्यञ्जनकारले पुलिस क्लबका हेम तामाङ र थ्री स्टारका पिटर सेगुनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

उपाधिविजेता थ्री स्टार टोली च्याम्पियन ट्रफीका साथ।
जितसँगै थ्री स्टारले गत साता पोखरामा सम्पन्न १६औं आरा–रारा गोल्डकपको फाइनलमा पुलिससँगको हारको बदला लिन सफल भएको छ । त्यसका साथै थ्री स्टार पुलिससँगै सर्वाधिक ५ पटक उपाधि जित्ने टोली बनेको छ । थ्री स्टारले यसअघि बुढासुब्बामा सातौं, नवौं, ११औं र १४औं संस्करणको उपाधि जितेको थियो । उपविजेता पुलिस क्लबले दोस्रो, चौथो, पाँचौं, दशौं र १९औं संस्करणमा उपाधि जितेको थियो । थ्री स्टारले जारी सिजनमा दोस्रो उपाधि उचालेको हो । यसअघि माघ पहिलो साता इटहरीमा सर्वाधिक पुरस्कार राशि १२ लाखको मदन भण्डारी गोल्डकपको उपाधि जितेको थियो । बुढासुब्बामा च्याम्पियन थ्री स्टारले ६ लाख रुपैयाँ नगद पुरस्कार जित्यो भने उपविजेता पुलिसले ३ लाखमा चित्त बुझायो।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिलो हाफमा रफ खेल भएको र राष्ट्रिय खेलाडीको खुट्टा भाँचिएको दुःखद घटनाले खेलाडीहरू अपसेट हुन पुगेको बताए । ‘त्यो घटनाले धेरै अपसेट बनायो, राष्ट्रिय खेलाडीको खुट्टा भाँचियो, ज्यादै नराम्रो भयो,’उनले भने, ‘खेलाडीले रेडकार्ड पाएर १० जना भएपछि खेल बिग्रियो, तर दोस्रो हाफमा राम्रो खेलेर प्रयास गर्दा पनि स्कोर भएन।’

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै थ्री स्टारका नीराजन खड्काले यामाहा मोटरसाइकल पाए भने ३ गोल गरेका उनले हाइस्कोररको पुरस्कार नगद २५ हजार पनि थापे । पुुरस्कार थाप्न जाँदा उनले घाइते सहकर्मी विक्रम लामाको जर्सी नं १२ लगाएर गएका थिए । ‘मेरो साथीको खुट्टा भाँचियो, उसैमा समर्पित यो पुरस्कार लिँदै छु,’ विक्रमको जर्सी नम्बर देखाउँदै उनले भने।

फाइनलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता थ्री स्टारका अजय मार्टिन घोषित हुँदै नगद १० हजार थापे । उत्कृष्ट गोलकिपर थ्री स्टारका एलेन न्यौपाने, उत्कृष्ट डिफेन्स थ्री स्टाकार लावल ओलेकान, उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसी, उत्कृष्ट मिडफिल्ड पुलिसका सुमन लामा, उत्कृष्ट स्ट्राइकर पुलिसका रेजिन सुब्बा र उदीयमान खेलाडी धरान फुटबल क्लबका रोमन लिम्बुले जनही नगद २५ हजार थापे।

 

 

प्रकाशित: २८ माघ २०७४ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App