७ वैशाख २०८१ शुक्रबार
समाज

हातहतियारसहित मुक्तान दम्पती पक्राउ

मकवानपुर– मकवानपुर प्रहरीले हातहतियार तथा विस्फोटक पदार्थ राखेको आरोपमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका– ५, डिल्लीपुरका ३२ वर्षीय रामबहादुर मुक्तान  र उनकी श्रीमती ३० वर्षीया दिलमायालाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रामबहादुरमाथि गोली प्रहार गरी एकजनालाई घाइते बनाएको समेत आरोप छ।

रिमोटसहित प्रेसर कुकर बम १ थान, सुतली बम २ थान, कटुवा पेस्तोल १ थान, गोली ४ थान, बारुद आधा किलो, डिटोनेटर ६ थान, नेपाली सेनाको कम्ब्याक्ट १ सेट लगायत सामग्रीसहित उनीहरूलाई सार्वजनिक गरिएको छ।

बुधबार मनहरी गाउँपालिका–९ स्थित सानोभावर जंगलमा एक व्यक्तिलाई गोली प्रहार गरी घाइते बनाएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा हातहतियार र विस्फोटक पदार्थसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। 

घटनास्थल नजिकै ना ४० प ६२१५ नम्बरको मोटरसाइकल जलेको अवस्थामा भेटिएको र मोटरसाइकल मुक्तान दम्पतीले प्रयोग गरेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई शुक्रबारै पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
शुक्रबार मनहरी–९ स्थित खराङ्गचोकनजिक बाटोमा बालुवाभित्र लुकाई राखेको राइफलका गोली तथा मनहरी–५ डिल्लीपुरस्थित रामबहादुरको ससुराली घरमा लुकाई राखेको नलकटुवा पेस्तोल, विस्फोटक पदार्थलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनहरी गाउँपालिका–९ स्थित सानोभावर जंगलमा मोटरसाइकल रोकी बसेको अवस्थामा शरण र राजु भन्ने राजकुमार तामाङ्गले अपशब्द प्रयोग गर्दै थप्पड हानेपछि विवाद हुँदा गोली प्रहार गरेको स्वीकारेका छन्।

रामबहादुरले हेटौंडा–१९ का बस्तीपुरका ३७ वर्षीय शरण गोलेमाथि गोली प्रहार गरेको र राक्सीराङ गाउँपालिका–१ का राजकुमार मोक्तानको टाउकोमा ढुङ्गा प्रहार गरेको प्रहरीको भनाइ छ । छातीमा गोली लागी घाइते भएका शरणको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने राजकुमार सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । माघ २४ गते राति पौने आठ बजे भएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ माघ २०७४ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App