coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेपत्ता नातिनी खोज्दै गिरी

बेपत्ता भएकी १४ वर्षीया नातिनी काजलकाे तस्बिर देखाउँदै गिरी दम्पती । तस्बिर :नागरिक

वीरगन्ज – द्वन्द्वकालमा दुईमध्ये जेठो छोरो गुमाएका पर्साको सखुवा पर्सौनी गाउँपालिका महुवनका शारदा गिरी तिनै छोराको चिनो रहेकी एकमात्र नातिनी अहिले बेपत्ता भएपछि बेचैन भएका छन् । वीरगन्जमा पत्रकार सम्मेलन गिरी र उनकी श्रीमती पार्वती १४ वर्षीया नातिनी काजलको अत्तोपत्तो नभएको घटना सुनाइरहँदा भक्कानिए । उनीहरूले नातिनी गायब भएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक नलिएकाले उनको खोजतलासमा कठिनाइ भइरहेको आरोप लगाए ।     

शारदाको छोरा जयरामलाई द्वन्द्वकालमा तत्कालीन माओवादी विद्रोहीले प्रहरीको सुराकी भएको आरोपमा गोली हानी मारेको थियो । त्यतिबेला काजल ७ महिनाकी थिइन् । घटनाको वर्ष दिन नबित्दै काजलकी आमा पनि घर छाडेर हिँडिन् । लोकलाजले गर्दा शारदा र पार्वतीले बुहारी पनि मरेको बताउने गरेका छन् । जेठो छोराको एकमात्र निशानीका रूपमा रहेकी नातिनी काजललाई गिरी दम्पतीले पालनपोषण गर्दै आएका थिए । काजल गत असोज २९ गते राति घरबाट बेपत्ता भइन् । नेपाल प्रहरीमा ‘पिपा’ पदमा कार्यरत गाउँकै प्रेम बैठा धोबीले प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिई काजललाई फकाएर लगेको गिरी दम्पतीको आरोप छ । घटनाबारे प्रहरीमा लिखित जाहेरी दिए पनि नातिनीको खोजीमा प्रहरीले ढिलाइ गरेको उनीहरूको बुझाइ छ। 

बेपत्ता किशोरीका आफन्तले सिन्धुलीको दुधौलीमा रहेको नेपाल प्रहरीको तालिम केन्द्रमा पुगी उनको खोजतलास गरेका थिए । आरोपी बैठाले काजललाई दुधौलीमा ३ दिनसम्म राखेको तथ्य फेला परेपछि त्यहाँका प्रहरी अधिकारीलाई यसको जानकारी गराउँदा उनीहरूले समेत चासो नलिएको गिरीले बताए। 

पर्सा प्रहरीले भने काजलको खोजतलास भइरहेको जनाएको छ । यसक्रममा बेपत्ता किशोरीको परिवारका सदस्य र छिमेकका तीनजनालाई बोलाएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका नायब प्रहरी उपरीक्षक राजन लिम्बुले बताए ।  

किशोरीका आफन्तका अनुसार बैठाले मोबाइलमा कुराकानी गरेको तथ्यलाई अनुसन्धानका क्रममा बेवास्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रले बैठालाई पत्र लेखी बोलाएको कार्यालयले जनाएको छ । उनी आएपछि थप कुरा खुल्ने लिम्बुले बताए । आफूहरु बालबालिका र महिलाको मुद्दामा निकै संवेदनशील भएर काम गरेको उनले दाबी गरे । अनावश्यक रूपमा मुद्दामा मानिसलाई फसाउने चलन रहेकाले त्यसप्रति सचेत रहँदै वास्तविक दोषीलाई कुनै पनि हालतमा नछाड्ने उनले दाबी गरे । काजलकी हजुरआमा पार्वतीले आठजनालाई प्रतिवादी बनाई जाहेरी दिएकी हुन् । 

प्रकाशित: २८ माघ २०७४ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App